राइड सेयरिङको स्वरोजगार योजना, राइडरलाई फ्री अफरसहित इलेक्ट्रिक स्कुटर वितरण  

बिजमाण्डू
२०८२ असार २१ गते १४:१५ | Jul 5, 2025
राइड सेयरिङको स्वरोजगार योजना, राइडरलाई फ्री अफरसहित इलेक्ट्रिक स्कुटर वितरण  

काठमाडौं। राइड सेयरिङका लागि सुरु स्वरोजगार योजनाअन्तर्गत शनिबार ललितपुरको भैंसेपाटीमा आयोजित कार्यक्रममा राइडरहरूले इलेक्ट्रिक स्कुटर पाएका छन्। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा स्कुटर दिइएको हो।

Tata
GBIME

कार्यक्रमको शुभारम्भ पूर्व मेजर जनरल सुरेशकुमार कार्की, अवकाश प्राप्त एआइजी जनक भट्टराई, इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेले रिबन काटेर गरे। कार्यक्रममा सहभागी राइडरहरूलाई एक दिनको भाडा नलाग्ने फ्री अफर पनि दिइएको जानकारी गराइयो।

उनीहरूले इलेक्ट्रिक स्कुटर प्राप्त गर्दै सुरुवातमै खर्च बिना काम गर्ने अवसर पाएका छन्, जसले उनीहरूमा हौसला थपेको देखिएको छ। इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने, ‘आज हामीले पहिलो चरणमा इच्छुक र योग्य राइडरहरूलाई इलेक्ट्रिक स्कुटर वितरण गरिसकेका छौं। उनीहरूलाई सुरुवातको लागि फ्री अफर प्रदान गरिएको छ, जसले उनीहरूलाई रोजगारी सुरु गर्न सहज बनाउनेछ।’

ई-ड्राइभ नेपालका मुख्य कार्यकारी अधिकृत सबिन भट्टराईले भने, ‘राइडरले आजबाटै स्कुटर चलाएर आम्दानी सुरु गर्न सक्छन्। फ्री अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गरेको छ।’

‘तपाईको बजार’ का संचालक सुशील संग्रौलाले इभी वितरणको क्षण गौरवको भएको बताए। ‘यो केवल साधनको वितरण होइन, यो नेपाली युवाको भविष्यमा गरिएको लगानी हो,’ उनले भने।

कार्यक्रममा सहभागी राइडर दीपक थापाले पहिले सेकेन्डहेन्ड स्कुटर चलाउँदा मर्मतमा धेरै खर्च हुने गरेको सुनाए। ‘यो योजनामार्फत नयाँ इलेक्ट्रिक स्कुटर पाएँ। आम्दानी बढेको छ, आत्मविश्वास पनि,’ उनले भने। योजनाले इन्धनको खर्च घटाउने, नेपालमै उत्पादित विद्युतको उपयोग बढाउने, र स्वदेशी प्रविधिको प्रवर्धनमार्फत हरित यातायात प्रणालीको विकासतर्फ एक महत्त्वपूर्ण पाइला चालेको आयोजक संस्थाहरूको विश्वास छ।