
काठमाडौं । पछिल्लो समय बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा सामान ढुवानीमा समस्या हुन थालेको छ। त्यसमाथि लामो समयदेखि सडक निर्माणकार्यले सवारी संचालन हुन नसक्दा त्यसको प्रत्यक्ष असर ढुवानीमा परेको हो। दाउन्ने लगायत अन्य राजमार्गका सडकखण्ड अस्तव्यस्त हुँदा पश्चिमि नाकाबाट आयात भएका र स्वदेशी उत्पादन खाद्यान्न तथा अन्य वस्तुहरु उपत्यका भित्राउन पनि ग्राहो भएको छ।
उपत्यकाबाट बाहिरका जिल्लामा सामान पठाउन लामो समय लाग्दा ढुवानी भाडा महंगो हुन थालेको व्यवसायी बताउँछन्। यतिबेला कतिपय व्यवसायीले उपत्यका भित्रिने र बाहिरिने वैकल्पिक मार्ग हुँदै सामान ढुवानी गर्न थालेका छन्।
गर्मीयाममा धुलो उडेपनि दाउन्नेको सडक प्रयोग गरिरहेका सवारी साधनले वर्षायाम सुरु भएपछि बाटो ‘डाइभर्ट’ गर्न थालेको व्यवसायीले बताउँछन्। बुटवल, भैरहवा,कपिलवस्तु, बाँके, बर्दियादेखि नेपालगंजको यात्रासम्म नै मालसामान ढुवानी गर्दा समस्या छ।
व्यवसायीका अनुसार यतिबेला दाउन्ने सडकखण्ड वर्षातका कारण संचालन हुन थप गाह्रो भएको छ। पानीले गर्दा सडकमा हिलो जमेपछि सवारी साधन लामो समयसम्म जाम पर्ने र चलाउन नसक्ने अवस्थामा रहने बताइएको छ। यसकारण खाद्यान्न , निर्माण सामाग्री, लत्ताकपडा लगायतका वस्तुहरुको ढुवानी गर्न मुस्किल रहेको छ। यसले गर्दा व्यवसायीदेखि उपभोक्तासम्म मारमा परेका छन्। सो रुटबाट आउने गाडीको ट्रिप अनुसार ढुवानी भाडा ४ हजार रुपैयाँदेखि १२ हजारसम्म बढेको छ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुल काजी तुलाधरले राजमार्गका सडक सहज नहुँदा पश्चिमी जिल्लामा उत्पादन भएको खाद्यान्नहरु उपत्यका कम आउने गरेको बताए। आयात भएका खाद्यान्नहरु रक्सौल हुँदै आउने गरेको उनले जानकारी दिए।

‘एक दिन लाग्ने बाटोमा ३ देखि ४ दिन लागेपछि ढुवानी भाडा बढी पर्छ। उपत्यकाबाट बाहिर जान पनि त्यस्तै हालत रहेको छ। पहिले सामानको परिमाणमा अनुसार भाडा लिने गरेकोमा यतिबेला दिनको हिसाबमा लिन्छन्। यसको असर व्यवासायीलाई मात्र होइन उपभोक्तालाई पनि पुगेको छ,’ उनले भने।
आर बी कम्लेक्स व्यवसायी संघका अध्यक्ष पशुराम दाहालले दाउन्ने लगायत अन्य राजमार्गमा सवारी साधन चल्न समस्या हुँदा व्यापार व्यवसायमा असर हुन थालेको बताउँछन्।
‘जाम पर्ने र समयमा सामान नपुग्ने कारणले गर्दा व्यापार कम हुँदै गएको छ।उपत्यकाबाहिरबाट अर्डर गरेको सामान पठाउन ३ दिन भन्दा बढी समय लाग्छ। उताबाट ग्राहक आउन पनि त्यस्तै गाह्रो भएपछि आउन छाडेका छन्। ढुवानी पनि पहिला भन्दा कम छ,’ उनले भने।
ढुवानीमा बढी समय लाग्दा भाडासमेत महंगो हुने गरेको अध्यक्ष दाहालको पनि अनुभव छ। ‘वैकल्पिक सडकबाट ल्याउँदा पनि बढी खर्च लाग्छ, नगर्दा पनि लाग्छ। बैंकको ब्याज तिर्दै लगानी गर्नेहरुलाई लागत बढी पर्न थालेको छ,’ कारोबार डामाडोल हुँदा व्यवसाय गर्न मन घट्दै गएको दु:खेसो पोख्दै उनले सुनाए।
दाउन्ने सडकबाट सवारी संचालन हुन नसक्दा बुटवल हुँदै पोखराबाट फलफूल ढुवानी गरिरहेको कुलेश्वर फलफूल बजारका व्यवसायी रुद्र बहादुर पाठककले बताए।

‘सामान हेरेर ढुवानी भाडा फरक पर्छ। कहिले ट्रिपमा ४ हजार भन्दा बढी पर्छ। धेरै दिन लागेपछि भैरहवा हुँदै काठमाडौं आउने गाडीको ढुवानी भाडा १२ हजार भन्दा बढी पनि परेको छ,’ उनले ढुवानीमा परेको सकसबारे भने, ’पहिले २३ हजार ढुवानी खर्च लाग्ने गरेको थियो। अहिले बाटो जाम ,धेरै दिन लाग्ने र ड्राइभर्ट गर्दा ढुवानी खर्च ३७ हजार भन्दा बढी भएको छ’ उनले भने।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह पनि राजमार्गहरु अवरुद्ध हुदाँ ढुवानीको समस्या भएको बताउँछन्।
‘अहिले सप्लाई चेन अस्तव्यस्त रहेको छ। अति जरुरी रहेको सामान सामान ढुवानी भइरहेको छ। निर्माण सामाग्रीको सामान सबैभन्दा बढी भैरहवा करिडोर, बुटवल, कपिलवस्तु लगायत पश्चिमबाट आउने गर्छ। तर बाटो अत्याधिक अवरुद्ध हुँदा पहिलाभन्दा ढुवानी गर्न २ देखि ३ गुणा समय लाग्छ। ढुवानी भाडा पनि १५ देखि २० प्रतिशत बढेको छ,’ सिंहले भने।