मध्यरातमा इन्द्रेणी ! पठारका लोभ्याउने दृश्यसहित मानसरोवर यात्राको ट्राभल लग



ऋषिकेश दाहाल
२०८१ भदौ २९ गते ०६:०३ | Sep 14, 2024
मध्यरातमा इन्द्रेणी ! पठारका लोभ्याउने दृश्यसहित मानसरोवर यात्राको ट्राभल लग

ब्रह्मपुत्रको किनारामा केरुङ हुँदै पुगेका हामीसँग ल्हासा हुँदै आउनेहरु पनि जोडिए। ल्हासाबाट उनीहरु सिगात्सेसम्म रेल र त्यसयता बसमै आइपुगेका थिए। काठमाडौंबाट एकै गन्तव्य लागि फरक फरक बाटोबाट हिँड्नेहरुको मिलनविन्दु रह्यो सागा। तिब्बतको ग्रामीण आर्थिक केन्द्र भए पनि नेपालीहरुका लागि यो ठूलै सहर प्रतीत हुन्थ्यो। यहाँबाट हाम्रो सबैभन्दा लामो यात्रा सुरु भयो।

Tata
GBIME
Zonsen

ब्रेकफास्टसँगै लन्च समेत तयार पारिसकेका थिए हाम्रा सहयोगीले। ४५० किलोमिटरभन्दा लामो दुरीको यात्रा। पठारको यति लामो हाइवेमा बीचमा अलमलिने बजार छैन। न त होटल नै उपलब्ध छन्। त्यसैले दिउँसोका लागि खाना तयार पारेर हट केस भरिभराउ पारिएको थियो।

पठारको यात्रामा दक्षिणतिरको हिमश्रृङ्खला जहिले पनि समानान्तर रुपमा नै अघि बढिरह्यो। नेपाली सीमा हेर्दै प्रयाङ मरुभूमिको यात्रा विशेष रह्यो। अनपेक्षित रुपमा बाटोमा तालहरु भेटिए। सिमसार पनि देखिए। र, धेरैजसो भूगोल चाहिँ बालुवाले भरिएको। हाइवे नजिक बालुवा नउडोस् भनेर ससाना ढुंगाहरु भूइँभरि छापिएको देखियो। बालुवामै सासना बिरुवा हुर्काउने प्रयास पनि भएको रहेछ। त्यतिमात्र होइन, मरुभूमिमै पार्क पनि बनेको देखियो। मरुभूमिका पोखरी र माछासहितको पार्क आफैंमा अपत्यारिलो प्रयास। तिब्बतका देहातमा चीनले कसरी पर्यटन विस्तार गर्दैछ भन्ने यसले संकेत गरिरहेको थियो।

बथानका बथान चौरी, भेडा र च्याङ्ग्राले पठारलाई जीवन्त राखिरहेका छन्। नत्र, यो भूगोलमा आँखाले भ्याउन्जेल कतै केही देखिन्न। सागाभन्दा निक्कै तल केरुङ नजिकै जौ र आलुका साना खेत देखिए पनि त्यसमाथि अन्न फल्ने बोट कतै पनि देखिएन। विशाल समथर भूमि निर्जीवमात्रै। हाइवेले चीनको प्रगतिलाई संकेत गरिरह्यो।

विशाल अर्थतन्त्रको बागडोर सम्हालिरहेको मुलुकको यो प्राणहीन भूगोल अलि अपत्यारिलो लाग्ने रहेछ। कल्पिएँ – कुनै दिन चीनले यता ध्यान दियो भने कायापल्ट हुनेछ। मरुभूमि मरुभूमि रहने छैन। यहाँको बालुवाको कण कणलाई पुँजीमा रुपान्तरित गरिदिनेछ चीनले।

प्रयाङ पुग्नुअघि नै हामीले मरुभूमि पार गरेको अनुभूति भयो। भदौ महिना भएकाले घाँसे मैदान हरियो थियो। तर, यहाँ पनि एक फुट उचाइका पोथ्रापोथ्रीसमेत देखिएनन्। एउटा स्वागतद्वारबाट हामी चढेको गाडी त्यही घाँसे मैदानतिर लाग्यो र रोकियो।

‘लन्चको लागि।’

रोकिनुको कारण यही थियो। हामी जहाँ रोकियौं त्यहाँबाट ५० मिटर जति अगाडि दक्षिणतिर अर्को गेट थियो। हाम्रा चिनियाँ गाइड किलाका अनुसार त्यो गेटबाट अगाडि बढ्ने हो भने पुगिन्छ मुस्ताङ। ‘यहाँबाट ४७ किलोमिटरमा कोरोला नाका पुगिन्छ। नाका वर्षमा एकपटक मात्र खुल्छ व्यापारका लागि,’ उनले सुनाए, ‘नेपाल त एकदमै नजिक छ यहाँबाट।’

चिनियाँ गाइड किला

पर्यटकका लागि यो नाका खुलिसकेको छैन। कुनै दिन खुल्यो भने कोरोलाबाट ६/७ घण्टा पनि नलाग्दै मानसरोवर पुग्न सकिने रहेछ। मैले कालीगण्डकी करिडोरको विस्तार सम्झिएँ। ठूलो जनसंख्याको लाइफलाइन राजमार्गको हविगत याद गरेँ। चीनका लागि चुड्कीकै सफलताको विषय नेपालका लागि कल्पनाभन्दा पनि दुर। 

अपर मुस्ताङ र कोरोला नाका नजिकै यात्रा गरिरहेको छु भन्दा पनि फरक अनुभूति हुने रहेछ। नेपाली सीमा छिचोल्ने बाटो पनि सललल बगेको। पठारको समथर भूगोलबाट नेपाल नजिकै हामी फ्राइ राइस र सुप खाइरहेका छौं। तिब्बतको यो निरश भूगोलमा बालुवाका थुप्रोमाथि हरियाली छर्दै पार्क बनिरहेको छ। पानी जमाएर सिमसार विस्तार भइरहेको छ। जमेका पानीमा माछा तैरिरहेका छन्।

माछा छन्। तिब्बतमा माझी छैनन्। हामी खाना खान रोकिएको खुला मैदान नजिक पोखरीभरी ट्राउटजस्तै देखिने माछाहरु आफ्नै धुनमा थिए। थाहा लाग्यो – माछा मारिन्न यहाँ। सागामा एउटा मासु पसल देखिए पनि अरुतिर देखिएन। ग्रसरीहरुमा ‘प्रोसेस्ड मिट’ नभएको होइन तर ती धेरै दुरदेखि उपल्लो भेगतिर ल्याइएको बुझ्न कठिन थिएन। पठारमा जंगली घोडाका बछेराहरु धेरैतिर देखिए। सायद ठिमाहा।

यात्रामा सबै सहज। पुन: सुरक्षा चेकपोस्ट पार गर्न भने दुई घण्टाको प्रतीक्षा। तिब्बत यात्राको सबैभन्दा निरश पक्ष यही रह्यो। हामी पठारको मध्य भागबाट लगातार पश्चिमतिर हानिइरह्यौं। मुस्ताङपछि प्रयाङ पार गर्दा हामी डोल्पाको नजिकै थियौं, मानसरोवर सन्मुख पुग्दा हुम्ला। हिल्साबाट ३० किलोमिटर दुरीमै रहेछ मानसरोवर। वरिपरि नेपालका हिमालले घेरिएकाले होला यात्रा फरक देशमा भइरहेको छ भन्ने बिर्सिँदो रहेछ।

बलियो देशको दुर्गम भूगोलमा जताततै सोलर प्यानलमात्र होइन, विद्युत प्रवाह हुने हाइटेन्सन लाइन पनि जताततै। ग्रामीण सडक पनि स्तरीय। चीनको विकासले यो कुनातिर पाइला चाल्न थालिसक्यो भन्ने बुझ्न कठिन परेन। तिब्बत छिरेदेखि नै सबैभन्दा धेरै नोटिस गरेको चाहिँ चिनियाँ झन्डा नै हो। घरैपिच्छे। कतै लुङदर र बौद्धमार्गीको झन्डा छ भने त्यसको वरिपरि पनि।

अर्को चिनियाँ लिपि। तिब्बती लिपि सानो अक्षरमा खुम्चिँदो रहेछ मूलधारको भाषा फैलिँदो क्रममा रहेछ। अंग्रेजीको प्रयोग चाहिँ करिब करिब निषेधजस्तै। त्यसैले हामीजस्ता पर्यटकलाई दोभाषे नै चाहिने केही बुझ्न पर्‍यो भने।

हामी मानसरोबरको मुखैमा पुग्यौं। यहाँ गजबको सिन्डिकेट रहेछ। हामीले चढेको गाडीलाई मानसरोबर छिर्ने गेटबाट जान नदिने र भित्र अर्को गाडी चढ्नुपर्ने! मुस्ताङ जाँदा घाँसासम्म र त्यसबाट माथि अर्को गाडी चढ्न परेको विगत स्मृतिमा आइहाल्यो।

हामी त्यहाँ पुगेको दिन यति धेरै नेपाली र गैर आवासीय भारतीय नागरिक पुगेका थिए कि सिन्डिकेटको केही लागेन। दुई घण्टासम्म अल्मल्याएपछि चिनियाँले हाम्रो गाडीलाई मानसरोवर परिक्रमाको अनुमति दिए। र, तीन घन्टा लगाएर हामीले मानसरोवरमा एउटा सेल बनायौं।

अब हामी मानसरोवरमा रात बिताउँदैछौं। मध्यरातमा कैशाल पर्वतमा लागेको बादल हट्यो। चन्द्रमा पूर्णाकार थियो। मध्यरातमा इन्द्रेणी देखियो मानसरोवरको एक किनारा र अर्को किनारासम्म। मध्यरातमा इन्द्रेणी मेरो कल्पनाबाहिरको विषय।

आकाश खुला छ, पर्याप्त प्रकाश छ भने त्यो सम्भव हुने रहेछ। यहाँ एक रात बिताएपछि भोलिपल्ट आधा दिन यही अल्मलिदै हामी दार्चेनतिर लाग्नेछौं। दार्चेनबाट हाम्रो कोरा सुरु हुनेछ। कोराको कथा अर्को साता।