जब पठारमा आएको बाढीमा फस्यो बस : ट्राभल लगमा कैलाशबाट फर्किँदाको थ्रिलिङ

ऋषिकेश दाहाल
२०८१ कात्तिक ३ गते ०६:२६ | Oct 19, 2024
जब पठारमा आएको बाढीमा फस्यो बस : ट्राभल लगमा कैलाशबाट फर्किँदाको थ्रिलिङ


जुथुलपुक आइपुग्दा थाहा भयो – हामीजस्तै कैलाश परिक्रमा गरिरहेका मध्ये दुई जना रहेनन्। एक जनाको दाह संस्कार कैलाश क्षेत्रमै भयो – टायर र घ्यू बालेर। अर्का एक जनाको शव चाहिँ हुम्लाको सीमाबाट काठमाडौं पठाइयो।

Tata
GBIME
NLIC

जुथलपुकको टी हाउस हामीले सोचेभन्दा धेरै उन्नत। सफा कोठा। पर्याप्त ओपन स्पेस। लबी पनि गजबको। यति भव्य संरचना भए पनि भित्र शौचालय थिएन। होटलबाट तल झरेर सडक पारीको सार्वजनिक शौचालय जानुपर्ने। तिब्बत छिरेदेखि सबैभन्दा सकस कुनै कुरामा थियो भने सार्वजनिक शौचालयमा नै। छिर्न त परको कुरो नजिकबाट पनि गुज्रिन नसकिने।

जुथुलपुकमा रात बिताएपछि हामी झिसमिसेमै अगाडि बढ्यौं। कैलाशको फेरो लगाउन केबल ७ किलोमिटर यात्रा गर्नु थियो। गोरेटो र मोटरेबल कच्ची बाट हुँदै हामी दार्चेन पुग्यौं। यहाँ बिहानको नास्ता गरेपछि हाम्रो यात्राको सबैभन्दा लामो दुरी तय हुँदै थियो। भूगोलका हिसाबले मात्र होइन, अप्रत्यासित रुपमा आएको पानीले हाम्रो यात्रालाई जोखिमपूर्ण बनाउँदै थियो। त्यही थ्रिलिङ जसले ट्राभल लगको एक शृंखला लेख्न बाध्य गरायो।

बेला बेलामा बादलुको घुम्तीले कैलाशलाई छाड्थ्यो। त्यो सुन्दर स्वरुपले सबैलाई लोभ्याउँथ्यो। मानसरोवरपछि कैलाश पनि परिक्रमा सकिएकाले ध्यान आफ्नो थलोतिर बढ्नेक्रम सुरु भइहाल्यो। यहाँबाट हामी सागामा बास बस्न पुग्दै थियौं।

‘अलिक छिटो गरेर केरुङ नै पुर्‍याइदिए भइहाल्थ्यो नि!’

कैलाश मिसन सन्तोषपूर्वक पूरा गरेकामा अब भने छिटो घर पुग्ने हुटहुटी जाग्न थालिसकेको थियो। हामीलाई फेरि एकपटक मानसरोवरको किनारा नजिकै पुर्‍याइयो। त्यहाँबाट हेर्दा सरोवर दुई दिनअघिको भन्दा अलग देखियो। फेरिरहने रङले यो सरोवरलाई विशेष बनाएकाले जति हेरे पनि पुग्ने कुरा भएन। तर, फर्किनु हाम्रो बाध्यता थियो। केहीबेर अलमलिएपछि हामी सागातिर अगाडि बढ्यौं।

उही पठार। नेपालतिरको उही हिम शृंखला। भेडा, चौरीका बथान। दुरदुरसम्मको बस्तीविहीन लामो समथर भूमि। अनि पाँच हजार मिटरमाथिको पास। नागबेली सडक र एउटै रफ्तारमा गुडेका बसका लाइन। बस्ती देख्‍न नै पनि आँखा तड्पिने भूगोलको यात्रा।

मध्य दिन भएपछि हाम्रो गाडी रोकियो। नजिकै चित्ताकर्षक पार्क रहेछ। यो विशाल मरुभूमिमा पार्क ! १ फुट अग्ला बुट्यान समेत नदेखिने भूगोलमा काठैकाठले बनाइएको संरचना। मरुभूमिमा गरिएको पानीको जोहो। त्यहीँ फुलाइएका फूल। मानसरोबर जाँदा यहाँ रोकिएका थिएनौं। फर्किँदा लन्चका लागि रोकिएका थियौं। हामी मरमूमीमा पानी जोह गरेर बनाइएका पोखरी र त्यसमाथि बनेका काठका लोभालग्दा पुलमा केहीबेर रमायौं। चीनको विकासको बाछिटाको अनुभूति यहाँ पनि भयो।

यहाँबाट अगाडि बढेपछि भने पानी पर्न थाल्यो। पानी उत्तरी भेगतिर बढी देखिन्थ्यो। हाम्रो गाडी सागातिर अघि बढिरहँदा सडकमा माथितिरबाट आएको भेलले खहरेको स्वरुप लिँदै थियो। चिनियाँ ड्राइभरले भेल कटाउने मुड बनाएर गाडी हुत्त्याए। तर, तार जाली र ढुंगासहित भेल आइरहेको देखेर हच्किए। उनी हच्किएर पछाडि सार्ने निर्णय लिनुअघि नै गाडी हल न चलको अवस्थामा पुगिसकेको थियो। एकाएक बनेको खहरेको मध्य मागमा गाडी छ।

पानीसँगै असिनाका ठूल्ठूला दानाले पठारलाई सेताम्मे बनाएको छ। सडकमा आधा फिट त असिनामात्रै बिच्छिएकाले ड्राइभरले जति बल गरे पनि गाडी पछाडि फर्काउन सकेका थिएनन्। त्यसमाथि थपिएको बालुवासहितको भेलले क्रमश: गाडीको पाङ्ग्रा डुबाउँदै लग्यो। डुबाउने क्रम रोकिएन। गाडी चढ्ने खुट्किलाको दोस्रो भागसम्म बालुवा टम्म भरियो। माथितिर कालो मडारिएको बादलले पानी र असिना बर्साइरहेको छ। चिसो खपिनसक्नु छ। भेलको बीचमा गाडी हल न चलको अवस्थामा छ।

केही बेरमा गाडीको स्टार्ट अफ भयो। अब अन हुन मानेन। हामी चलेको गाडीको इन्जिन पछाडि रहेछ। ड्राइभरले भित्रबाट इन्जिनको भागलाई हेरे। इन्जिन त सबै भेलको बालुवामा टपक्क समेटिइसकेछ। 

गाडी हल न चल। सागा पुग्न अझै ९० किलोमिटर बाँकी छ। यो विरानो भूगोलमा अनायसैको वर्षाले सडक बिच्छेद गरेको छ। यी सबै दृश्य भयपूर्ण छन्। नेपालको नदी किनारको बाटोमा भए त हाम्रो यात्रा सदाका लागि यहीँ विश्राम लिन्थ्यो। यो पठार थियो र बगाएर पुर्‍याउने खोच कतै थिएन।

पानी घट्यो। तर बालुवाले गाडीको पाङ्ग्रादेखि इन्जिनसम्मलाई यसरी अठ्यायो कि यो फ्रिज भयो। अस्तित्वहीन हुन थाल्यो। स्थानीय र सुरक्षाकर्मी आएर बाटो खुलाउन थाले। बाटो खुल्यो तर हाम्रो गाडी जहिँको तहिँ।

हामीसँग विकल्प थियो। नौ वटा गाडी थिए हामीलाई लैजाने कम्पनीको। एकै बसमा रहेका हामी ती बाँकी गाडीमा बाढिनुपर्ने भयो। हामी ओर्लियौं। असिनाका थुप्रा सडकमै थिए। सडकमाथि बालुवा, माटो, असिना र पानीको मिश्रणबाट बनेको घोलमा चोबलिँदै हामी अरु बसतिर लाग्यौं। जसरी दार्चेनभन्दा केही पर हामीले जुत्ता खोलेर भेल पार गर्नपरेको थियो, यहाँ जुत्ता खोल्ने हिम्मत थिएन। निक्कै बेर अडिन परेकाले अध्यारो हुन थालिसकेको थियो। हामी अरु गाडीमा चढ्दैगर्दा थाहा भयो यस्तैगरी तीन ठाउँमा गाडी अवरुद्ध छ – पठारमा आएको अप्रत्यासित झरीले।

यहाँबाट उम्केर अगाडि बढ्दा बाँकी अवरुद्ध सडकहरु पनि खुलिसकेका थिए। हामीले सोचेभन्दा बढी समय लाग्यो सडक खुल्न। विश्वकै शक्तिशाली चीन पनि तिब्बतको मामिलामा केही न केही हदसम्म कमजोर रहेछ। त्यसो त यहाँ यसरी झरी र भेल छुट्नु दुर्लभ रहेछ। हामीलाई लाग्यो – क्लाइमेट चेन्जको असर।

सागामा हामीले पहिले जुन होटलमा बसेका थियौं त्यहीँ बास भयो। रुममा अक्सिजन अन गरेर निस्फिक्री निदाइयो। भोलिपल्टको यात्रा छोटो थियो – केरुङसम्मको। दुरी कम भए पनि अल्टिच्युड निक्कै तल जाने भएकाले त्यसपछिको यात्रा सहज हुने थियो।

सागाबाट बिहान निस्किएपछि केहीबेर हामी ब्रह्मपुत्र नदी समिप अडियौं। केहीबेर रमायौं र अगाडि लाग्यौं। यहाँबाट केरुङसम्मको यात्रा निर्वाध थियो। हाम्रो दिउँसोको खाना चीनले कोभिड-१९ संक्रमणको असरले विश्व अल्मलिँदा बनाएको झरनाको पूर्वाधार भएकै ठाउँमा थियो। त्यही खायौं। नाच्यौ पनि। अनि सजिलै केरुङ पुगेपछि हामीलाई नेपाली भूमिमै आइपुगेको अनुभूति भयो।

अनुभूति हुनु र यथार्थमा आफ्नै भूमिमा हुनुको अर्थ भने फरक हुने रहेछ। दिउँसै केरुङ पुगेकाले कतिपयलाई चाहिँ सीमा पार गरेर आफ्नै भूमिमा बस्न पाए हुने भन्ने थियो। कैलाश जाँदा कैलाशले ताने झै फर्किँदा घरले तानिरहेको थियो धेरैलाई। तर, नेपालतिर भन्दा सुविधाको बसाई थियो केरुङमा। त्यसैले त्यही अड्याउने रहेछन् ट्राभल एजेन्सीहरुले।

केरुङमा बिताएको रात बेपत्तैको झरी। बिहान बसमा एक किलोमिटर अगाडि बढेपछि थाहा भयो – सडक त छैन रे ! बस र ट्रकको लामो लाइन छ नेपाल जानेतिर। सडकको अवस्थाबारे सूचना शून्य। टिपरका टिपर विशाल ढुंगाहरु बोकेर हुइकिएका ट्रकहरुले स्थिति असामान्य छ भन्ने संकेत गरिरहेको थियो। दिनभरि नेपाल जाने प्रतीक्षामा रहेका हामीबीच सूचना आयो – बाटो बनिसकेको छैन, आज नेपाल जान सकिन्न। यतिखेर हामीलाई कम्पनीले गुन्द्रुक र भात प्याक गरेर बसबसमा ल्याइदिएको थियो।

गाडी फर्कियो। सबैको मुहार मलिन। होटलको रुमको २८० युआन प्रति दिन खर्च थपियो। दिनभर प्रतीक्षामा थकित हामी फेरि होटल आएर त्यसको थकाइ मार्न थाल्यौं। साँझ भयो – लाग्यौं ओपन स्पेस जहाँ नाचिरहेका थिए किशोर किशोरी। हामी पनि नाच्यौं।

भोलिपल्ट बिहानै फेरि गाडीको लाममा अडियौं। कायाकल्प त चीनले तुरुन्तै फेर्छ भन्ने सुनेको – केरुङका सन्दर्भमा अपत्यारिलो लाग्दै थियो। टिपरमा ढुंगा ओसार्ने क्रम जारी रह्यो। बसबाट उत्रेर हामी नजिकैको रिसोर्टमा छिर्‍यौं। हाम्रा लागि नेपाल सीमा छरेपछि टिमुरे भात तयार थियो – हामी तिब्बतिरै भोकै। रिसोर्टमा मकै र आलु थियो। डेढ किलोको ५० युआन अर्थात् झन्नै हजार रुपैयाँ। जिम्मु हालेर उसिनेको आलु खाँदै आधा दिन बित्यो।

टिपर ढुंगा बोकेर कुद्नेक्रम रोकिएको थिएन। दिन ढल्ने तरखरमा जाँदामात्र खुल्यो बाटो। नेपाल सीमा नजिकै भोटेकोसीले बाटोलाई आफूसँगै लगेको रहेछ। टिपरमा ल्याइएका ढुंगाले नदीको बहाव अर्कोतिर फर्काएर ट्र्याक खुला गरिएको रहेछ। एक घन्टा पनि नलाग्ने बाटोमा झन्नै तीन घन्टाको यात्रा। नेपालतिर भएको भए सात दिनमा पनि खुल्न नसक्ने गरी बगाएको रहेछ।

लामो प्रतीक्षा र व्यग्रतापछि हामी नेपाल छिर्‍यौं। कैलाशतिर जाँदाको सहज यात्रा र फर्किँदाको अड्चनले हाम्रो यात्रामा थप थ्रिलिङ पैदा गरेको थियो। नेपाल छिरेलगत्तै प्रहरीले सुझाए – माथितिर र तलतिर दुवैतिर हेरर अगाडि बढ्नुहोला।

झरीमा माथिबाट ढुंगामाटो झर्ने र माथिको भाग नै नदीमा फालहाल्न सक्ने रहेछ। चीनतर्फ जाँदाको व्यवस्थित अध्यागमन र फर्किँदाको माछाबजार जस्तो अस्तव्यस्त हाल दुवैको अवलोकन हाम्रो यात्राको विशेषता बन्यो।

कैलाश मानसरोवर यात्रा, त्यसमा लाग्ने खर्च, जोखिम र अपनाउनुपर्ने सुरक्षाबारेको सन्दर्भ अर्को साता।