असुरक्षित सिलिण्डरमा ग्यास बेच्ने उद्योगमाथि आयल निगमको एक्सन, आइतबारदेखि पीडीओ रोक्ने



शुक्र गिरी
२०८१ साउन २५ गते २०:११ | Aug 9, 2024
असुरक्षित सिलिण्डरमा ग्यास बेच्ने उद्योगमाथि आयल निगमको एक्सन, आइतबारदेखि पीडीओ रोक्ने

काठमाडौं। असुरक्षित सिलिण्डरमा ग्यास बेच्ने उद्योगमाथि नेपाल आयल निगमले एक्सन लिन सुरु गरेको छ। उपभोक्ताको सुरक्षामाथि खेलवाड गर्दै असुरक्षित सिलिण्डर भान्सामा पुर्‍याएको पाइएपछि निगमले एक्सन लिन सुरु गरेको हो।

Tata
GBIME
Zonsen

निगमले शुक्रबार सगरमाथा ग्यास उद्योगको अनुगमन गरेको छ। यो उद्योगले ग्यास लिक हुने खालको निकै कमसल सिलिण्डर बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको समाचार बिजमाण्डूले शुक्रबार अपराह्न सार्वजनिक गरेको थियो।

लगत्तै निगमका अधिकारीले उद्योगको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा बजारमा पठाउन ठिक्क पारिएकामध्ये ६२ वटा सिलिण्डर असुरक्षित खालका भएको पाइएको छ। त्यही कारण निगमले उद्योगमाथि कारबाहीस्वरुप आइतबारदेखि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) रोक्ने तयारी गरेको छ। पीडीओ रोकिएपछि उद्योगले ग्यास बेच्न सक्दैन।

निगमले दिने पीडीओका आधारमा मात्र उद्योगले बजारमा ग्यास पठाउन सक्छन्। शनिबार सार्वजनिक बिदा परेकाले आइतबारदेखि पीडीओ रोक्का गर्ने निगमका अधिकारीले बताएका छन्।

उनीहरुका अनुसार निगमले बजारमा रहेका सिलिण्डरको पनि अनुगमन गर्नेछ। त्यसपछि थप कारबाही अगाडि बढाउने निगमका एक उच्च अधिकृतले जानकारी दिए।

‘हामीले उद्योगको अनुगमन गर्दा नै कैफियत देख्यौं। त्यसैले तत्कालका लागि आइतबारदेखि उद्योगको पीडीओ रोक्का गर्छौं,’ ती अधिकृतले भने, ‘बजारमा पठाइएका सिलिण्डर पनि असुरक्षित खालका हुन सक्ने देखियो। त्यसैले अनुगमन गरेर थप कारबाही अगाडि बढाउँछौं।’

निगमले उद्योगका सिलिण्डरको गुणस्तर जाँचका लागि नेपाल गुणस्तर तथा नापतौल विभागलाई सिफारिस गर्ने भएको छ। निगमकी एलपी ग्यास विभाग निर्देशक अन्जना पोखरेलले असुरक्षित सिलिण्डरमा ग्यास भरेर पठाएको विषय निकै गम्भीर खालको भएको बताइन्।

‘उद्योगहरुले बजारमा ग्यास पठाउँदा उपभोक्ताको सुरक्षाप्रति ध्यान दिनुपर्छ। तर, सगरमाथा उद्योगले असुरक्षित खालकै सिलिण्डर बजारमा पठाएर उपभोक्ताको सुरक्षामा खेलवाड गरेको समाचार आएपछि अनुगमन गर्दा हाम्रो टोलीले त्यस्ता खालका अरु ६२ वटा सिलिण्डर भेटायो,’ पोखरेलले भनिन्, ‘त्यसैले पीडीओ रोक्नेदेखि गुणस्तर जाँचका लागि नापतौल विभागलाई सिफारिस गर्नेसम्मको तयारीमा लागेका हौं।’

उनका अनुसार उद्योगले बजारमा पठाउन ठिक्क पारिएका तर असुरक्षित खालका ती सिलिण्डरको म्याद भने बाँकी नै छ। ‘अहिलेसम्म उद्योगमा भेटिएका सबै सिलिण्डर डेटको हिसाबले ठिक छन्। तर, सेफ्टीको पक्षबाट हेर्दा जोखिमपूर्ण देखियो। यसबारे अब नापतौलले परीक्षण गर्नुपर्छ। उसले परीक्षण गरेपछि हामी थप कारबाहीबारे निर्णय गर्छौं।’

सगरमाथा ग्यास उद्योगको असुरक्षित सिलिण्डरले निगमलाई झस्काएको छ। त्यसैले निगमले अरु उद्योगको पनि अनुगमन गर्ने भएको छ।

गुणस्तर विभागमाथि पनि प्रश्न

सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल स्ट्यान्डर्ड( एनएस) एक महिना अगाडि मात्र नवीकरण गराएको थियो।

एक महिना अगाडि मात्रै एनएस नवीकरण गराएको उद्योगमा यस्ता असुरक्षित सिलिण्डर भेटिनु विभागको पनि कमजोरी भएको एक व्यवसायीले बताए। विभागको प्राविधिक टोलीले सिलिण्डर ठिक छ भनेपछि निगमले एक महिनासम्म अनुगमन गरेको थिएन।

निगमले शुक्रबार विभागलाई आफूसँगै उद्योगको अनुगमनमा जान आग्रह गरेको थियो। तर विभागका कर्मचारी आन्तरिक मिटिङमा व्यस्त रहेको कारण देखाएर गएनन्।

विभागका प्रवक्ता प्रभातकुमार सिंहले अनुगमनका लागि निगमले आग्रह गरेपनि आन्तरिक मिटिङमा केन्द्रित हुन परेकाले जान नसकेको बताए। ‘हामी आन्तरिक मिटिङमा व्यस्त भएकाले शुक्रबार सगरमाथा ग्यास उद्योगको अनुगमनमा जान सकेनौं,’ उनले भने, ‘हामीसँग म्यानपावरको सर्टेज पनि छ। त्यसैले आइतबार बिहान निगमको टिमसहित जाने योजना छ।’