
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउन थालेपछि बीमा कम्पनीलगायत ठूला संस्थागत निक्षेपकर्ताले लगानी रणनीति फेर्न थालेका छन्।
ओरालो लागेको ब्याजदरले आम्दानी खुम्चिने भएपछि ठूला संस्थागत निक्षेपकर्ताले मुद्दतीमा लगानी घटाएर अन्य बढाएका छन्। ठूला संस्थागत निक्षेपकर्ताले मुद्दतीमा लगानी झण्डै आधा घटाएका हुन्।
चालु आर्थिक वर्ष ९ महिनामा बीमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले कुल १ खर्ब २७ अर्ब रुपैयाँ लगानी बढाउँदा मुद्दतीमा ६२ अर्ब ४ करोड रुपैयाँ राखेका छन्। जबकि गत वर्ष ९ महिनामा मुद्दतीमा १ खर्ब १४ अर्ब १४ करोड रुपैयाँ लगानी गरेका थिए।
मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी घट्दो क्रममा छ। पोहोर ९ महिनामा ६५ अर्ब ७१ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेका बीमा कम्पनीले यसपालि ४९ अर्ब ७३ करोड रुपैयाँभन्दा लगानी गरेका छैनन्।
ब्याजदर ३/४ प्रतिशतमा झरेपछि निर्जीवन बीमा कम्पनीहरुले मुद्दतीको लगानी नै झिकेर अन्य क्षेत्रमा बढाएका छन्।निर्जीवन बीमा कम्पनीले मुद्दती निक्षेपको लगानी १.८५ प्रतिशतले घटाएर ऋणपत्र, सेयर लगायतमा बढाएका छन्।
गत वर्षसम्म मुद्दतीमा ५२ अर्ब ९३ करोड लगानी गरेका निर्जीवन बीमा कम्पनीको त्यस्तो पैसा अहिले ५१ अर्ब ९५ करोडमा खुम्चिएको छ।
सरकारी ऋणपत्रमा निर्जीवन बीमा कम्पनीको उच्च आकर्षण देखिन्छ। उनीहरुले सरकारी ऋणपत्रमा १९२ प्रतिशतले लगानी बढाएका छन्।
निर्जीवन बीमा कम्पनीको लगानीको क्षेत्र | २०८१ चैतसम्म लगानी (रु लाखमा) | २०८१ असार मसान्त लगानी (रु लाखमा) | फरक (प्रतिशतमा) |
नेपाल सरकारको ऋणपत्र | ६२९१.६५ | २,१५३.२५ | १९२.१९ |
बैंक तथा वित्तीय संस्थाको मुद्दती | ५१९५२६.९४ | ५२९,३२३.४१ | -१.८५ |
सेयर | ४५,४८६.७० | ३८,६०५.३० | १७.८३ |
वित्तीय अग्राधिकार सेयर, बन्ड, ऋणपत्र र डिबेञ्चर | ३१,९४६.६९ | ३२,४३८.१४ | -१.५२ |
पब्लिक कम्पनीको बन्ड, ऋणपत्र र डिबेञ्चर | १४,०२७.६१ | ९,९५४.४६ | ४०.९२ |
कृषि तथा पूर्वाधार | १०,४८१.०५ | १०,००२.०१ | ४.७९ |
नागरिक लगानी कोष र म्युचल फण्ड | ८,९०९.८० | ७,२८४.८९ | २२.३१ |
इन्भेष्टमेन्ट कम्पनीको सेयर | ५६२ | १,४१२.५० | -६०.२१ |
संस्थापक सेयर | १९,९७४.७२ | १४,१७९.४७ | ४०.८७ |
सूचीकृत नभएका पब्लिक कम्पनी | १,४२०.६० | १९१.२ | ६४२.९९ |
अन्य लगानी | २१,११५.८४ | २१,८०८.८२ | -३.१८ |
कुल लगानी | ६८०,७४३.५९ | ६६५,२००.२० | २.३४ |
नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चंकी क्षत्रीले ब्याजदर ३/४ प्रतिशत झरेका कारण मुद्दतीमा लगानी घटाएको बताए।
‘निर्जीवन बीमा कम्पनीको दायित्व धेरै हुन्छ। लामो अवधिका लागि लगानी गर्न मिल्दैन,’ उनले भने, ‘हामी एक/दुई वर्षका लागि लगानी गर्छौं। छोटो अवधिको मुद्दतीमा ब्याजदर नै ३ प्रतिशतमा झरेको छ। त्यही कारण हामीले लगानी डाइभर्ट गरेका हौं।’
जीवन बीमा कम्पनीले सेयर बजारमा आक्रामकरुपमा लगानी बढाएका छन्।
उनीहरुले चालु आर्थिक वर्ष ९ महिनामा इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ४४६.१५ प्रतिशतले लगानी बढाएका छन्। इन्भेष्टमेन्ट कम्पनीको सेयरमा गत असारसम्म ४६ करोड ४५ लाख लगानी गरेको जीवन बीमा कम्पनीले त्यस्तो लगानी चैतमा आइपुग्दा २ अर्ब ५३ करोड रुपैयाँ पुर्याएका छन्।
यस्तै सूचीकृत कम्पनीको सेयरमा जीवन बीमा कम्पनीको लगानी ७२.९५ प्रतिशतले वृद्धि भएको छ। उनीहरुको मुद्दती निक्षेपमा भने लगानी वृद्धिदर १०.३६ प्रतिशतमा खुम्चिएको छ।
जीवन बीमा कम्पनीले कृषि तथा पूर्वाधार, नागरिक लगानी कोष र म्युचुअल फण्डमा लगानी बढाएका छन्।
जीवन बीमाको लगानीको क्षेत्र | २०८१ चैत मसान्तसम्म लगानी (रु लाखमा) | २०८१ असार मसान्त लगानी (रु लाखमा) | फरक (प्रतिशतमा) |
नेपाल सरकारको ऋणपत्र | ३०,५३९.७५ | ३१,०३९.७५ | -१.६१ |
बैंक तथा वित्तीय संस्थाको मुद्दती | ५,७८७,९००.०४ | ५,२४४,६५१.८५ | १०.३६ |
सेयर | ३३०,७९२.८९ | १९१,२६४.३४ | ७२.९५ |
वित्तीय अग्राधिकार सेयर, बन्ड, ऋणपत्र र डिबेञ्चर | ५७२,०८०.३३ | ५२७,०६१.८४ | ८.५४ |
पब्लिक कम्पनीको बन्ड, ऋणपत्र र डिबेञ्चर | १८२,८४८.५२ | १८८,६९३.६७ | -३.१ |
कृषि तथा पूर्वाधार | ११२,४४७.७७ | ८५,८८४.०३ | ३०.९३ |
नागरिक लगानी कोष र म्युचल फण्ड | ३७,७६०.१० | २५,०२६.९२ | ५०.८८ |
इन्भेष्टमेन्ट कम्पनीको सेयर | २५,३७०.३५ | ४,६४५.३५ | ४४६.१५ |
संस्थापक सेयर | १४१,३३५.६९ | ११६,८६५.४२ | २०.९४ |
सूचीकृत नभएका पब्लिक कम्पनी | १४,२५३.८० | १०,८४०.७० | ३१.४८ |
अन्य लगानी | १०२,१६९.६५ | ४२७,६२९.६८ | -७६.११ |
कुल लगानी | ७,३३७,४९८.८९ | ६,८२२,५६३.७९ | ७.५५ |
जीवन बीमा कम्पनीहरुले लामो अवधिको मुद्दतीमा ब्याजदर ६/७ प्रतिशतमा खुम्चिएकाले लगानी डाइभर्ट गरेको बताएका छन्।
‘अहिले निक्षेपको ब्याजदर धेरै घटेको अवस्था छ। कम ब्याजदरमा लगानी गर्दा नाफामा असर पर्छ। हामीसँग दीर्घकालीन दायित्व हुन्छ,’ एक कम्पनीका सीइओले भने, ‘हामी लामो अवधिका लागि लगानी गर्न सक्छौं। तर, लामो अवधिको मुद्दतीमा ६/७ प्रतिशत भन्दा ब्याज छैन। त्यसैले मुद्दतीमा लगानी घटाएर अन्यत्र बढाएका हौं।’
कर्मचारी सञ्चय कोषको लगानी सेयरमा
कर्मचारी सञ्चय कोषले सबैभन्दा धेरै सेयर बजारमा लगानी बढाएको छ। कोषले सेयरमा ९९.२ प्रतिशतले लगानी बढाएको हो। कम्पनीले गत असारसम्म सेयरमा ३० अर्ब ७३ करोड रुपैयाँ लगानी गरेकामा अहिले ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
मुद्दती निक्षेपमा कोषको लगानी ६.३ प्रतिशतले घटेको छ। कोषले मुद्दतीमा गत असारसम्म १ खर्ब ६७ अर्ब ९० करोड रुपैयाँलगानी गरेकामा अहिले १ खर्ब ५७ अर्ब ३४ करोडमा खुम्चिएको छ।
कर्मचारी सञ्चय कोषको लगानी | २०८१ चैत मसान्त (रु.लाखमा) | २०८१ चैत मसान्त (रु.लाखमा) | फरक (प्रतिशतमा) |
मुद्दती | १५७३४०० | १६७९०३१ | -६.३ |
व्यापारिक सम्पत्ति | – | – | – |
सञ्चयकर्ता ऋण | २८१४९२१ | २६२५००६ | ७.२ |
परियोजना तथा संगठित संस्थालाई कर्जा | ८७८३८९ | ८७३२५० | ०.६ |
कर्मचारीलाई सापटी | २२९३९ | २३१८४ | -१.१ |
सेयर | ६१२२५७ | ३०७३६९ | ९९.२ |
सहायक कम्पनीको सेयर पुँजी | २००० | २००० | ० |
सम्पत्ति | ९०३० | ९०५८ | -०.३ |
कुल लगानी | ५९१२९३६ | ५५१८८९८ | ७.१ |
नागरिक लगानी कोष मुद्दतीमा अगाडि
नागरिक लगानी कोषले भने लगानी मुद्दती निक्षेपमा धेरै बढाएको छ। कोषले मुद्दतीमा १५.२७ प्रतिशतले लगानी बढाएको हो। कोषले मुद्दतीमा गत असारसम्म १ खर्ब २६ अर्ब लगानी गरेकामा अहिले १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। छ।
कोषले सहभागी आवास कर्जामा १०.८८ प्रतिशतले लगानी बढाएको छ।
नागरिक लगानी कोषको लगानी | २०८१ चैत मसान्त लगानी हजारमा | २०८१ असार मसान्त लगानी हजारमा | फरक (प्रतिशतमा) |
नेपाल सरकारको ऋणपत्र | ५००००० | ५००००० | – |
मुद्दती | १४५३८२०९६ | १२६१२८१३३ | १५.२७ |
समयकालीन कर्जा | २५९१६३८९ | २५५४६६७७ | १.४५ |
सहायक कम्पनी | २७२८५०० | २५५०००० | ७ |
सहभागी आवास कर्जा | ५६७१०५९१ | ५११४८०९९ | १०.८८ |
ट्रेजरी बिल | ६८८०५०० | – | |
सेयर | ३१३२०४८७ | ३०९३२१५३ | १.२६ |
कुल लगानी | २६९४३८५६३ | २३६८०५०६२ | १३.७८ |