
काठमाडौं। हरेक घरको भान्छामा पुग्ने र अत्यन्तै संवेदनशील मानिने ग्यासमा उद्योगीले लापरबाही गरेको भेटिएको छ।
नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागको अनुगमन कमजोर हुँदा प्रयोग नै गर्न नमिल्ने सिलिण्डरमा ग्यास भरेर बिक्री वितरण गरेको पाइएको हो।
काभ्रेपलाञ्चोकमा रहेको सगरमाथा ग्यास उद्योगले ‘स्क्रयाप’ गर्नुपर्ने सिलिण्डरमा ग्यास भरेर बिक्री गरेको भेटिएको हो।टीकाथलीमा रहेको सुदिष्मा खाद्य स्टोरमा उद्योगले बेचेको धेरै सिलिण्डर प्रयोग नै गर्न नमिल्ने अवस्थाको भेटिएको छ।
‘हामीले उद्योगलाई धेरै पटक जानकारी गराउँदा पनि यस्तै सिलिण्डरमा ग्यास आइरहेको छ,’ स्टोरका संचालक बाबुराम ज्ञवालीले बिजमाण्डूसँग भने, ‘केही दिनअघि उपभोक्ताले सिलिण्डर लिकेज भएपछि हामीलाई फिर्ता गर्दा समेत उद्योगले लिन मानेन।’
सो उद्योगले बेचेको सिलिण्डरको बारे निगमले समेत गम्भीर रुपमा लिएको छ।
‘यस्तो सिलिण्डर बेच्न पाइदैन। यो गम्भीर विषय हो,’ निगमका प्रवक्ता मनोज ठाकुरले बिजमाण्डूसँग भने, ‘हामीले उद्योगको नियमित अनुगमन गरिरहेका छौं। हामी उद्योगको थप अनुसन्धान गर्नेछौं।’
निगमले ग्यास उद्योगलाई नाफाका अतिरिक्त सुरक्षाका लागि आवश्यक पैसा समेत दिने गर्छ। ठाकुरले तत्कालै सगरमाथालाई त्यस्ता सिलिण्डर फिर्ता गर्न लगाउने जानकारी दिए।
‘उद्योगीलाई आजै हामीले टेलिफोन गरेर सिलिण्डर फिर्ता लिन भनिसकेका छौं,’ उनले भने।
यता सगरमाथा ग्यास उद्योगका संचालक सावरमल अग्रवालले उद्योगमा बाढी आएकाले केही सिलिण्डर ‘मिसम्याच’ भएको हुनसक्ने बताए।
‘उद्योगमा बाढी पसेकाले गल्तीबस त्यस्ता सिलिण्डर गएको हुनसक्छ,’ उनले भने, ‘बाढी आएदेखि म उद्योग जान सकेको थिइनँ। त्यही भएर त्यस्तो सिलिण्डर गएको होला।’
ग्यास उद्योगमा अनुगमन नै छैन
सिलिण्डर लिकेज भएर सांसद् रामकुमारी यादवको निधन भएपछि सरकारी निकायले ग्यास उद्योगको अनुमगन तीव्र पारेको थियो।
१४ वर्षअघिको यही घटनापछि नेपाल आयल निगमले उद्योगको सुरक्षादेखि सिलिण्डर उत्पादनको प्रक्रियामा कडा प्रावधान ल्याएको थियो। तर, केही वर्षदेखि निगमले उद्योगमा पुगेर अनुगमन गरेको छैन।
अनुगमन नभएपछि केही उद्योगीले जथाभावी रुपमा सिलिण्डर बजारमा पठाउने गरेका छन्।
‘केही उद्योगीले नाफा मात्रै हेर्ने गरेका छन्। उनीहरूका कारण राम्रो गर्ने उद्योगी पनि समस्यामा पर्ने अवस्था आइसकेको छ,’ एक उद्योगीले भने, ‘अहिले आयल निगमको पनि अनुगमन हुन छाडिसकेको छ। अनुगमन देखाउनका लागि मात्रै हुने गरेको छ।’
तर, निगमका प्रवक्ता ठाकुर भने नियमित रुपमा उद्योगमा गएर अनुगमन गरिरहेको दाबी गर्छन्। ‘हाइड्रो टेस्ट’ लगायत परीक्षण संचालन भइरहेको उनले जानकारी दिए।
‘हामीले नियमित अनुगमन गरिरहेका छौं। सिलिण्डरको अवस्था पनि बुझिरहेका छौं,’ उनले भने।