
काठमाडौं। आइतबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहले गरेको प्रदर्शनलाई नियन्त्रण गर्न प्रदर्शन स्थल तोकेको छ। स्थानीय प्रशासनले कोटेश्वर, बल्खु र सिफलबाहेक अन्यत्र प्रदर्शनमा रोक लगाएको छ।
जेठ १५ गतेबाट अनिश्चितकालको लागि भनिएको प्रदर्शनलाई रोक्न सरकारले थप सुरक्षा रणनीति अपनाएको हो।
आइतबार नारायण चौरमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना समातिए। पूर्वउप्रधानदेखि गृहमन्त्रीसम्म बनेका थापालाई प्रहरीले पक्राउ गरेको थियो। थापालाई स्वास्थ्य परीक्षण गरेर हिरासतमा राख्नेसम्मको तयारी भएको थियो। यसले गृह प्रशासन राजावादी समूहको प्रदर्शनलाई थप नियन्त्रणमा राख्ने रणनीतिमा रहेको संकेत गरेको छ।

थापा समातिएपछि भेट्न पुगेका सांसद दीपकबहादुर सिंहलाई पनि प्रहरी कार्यालयमा नै पक्राउ गरेको थियो।
लगत्तै बसेको सुरक्षा समितिको बैठकले नियन्त्रणमा लिइएकालाई छाड्ने निर्णय गर्यो। राजावादी समूहले सोमबार उपत्यका बन्दको घोषणा गरेपछि छोड्ने निर्णयमा स्थानीय प्रशासन पुगेको हो।
सोमबार नै यातायात व्यवसायीले पनि देशभर सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन्। एकपछि अर्को सरकार विरोधी आन्दोलन चर्किँदा सुरक्षा निकायलाई समेत तनाव सृजना भएको छ।

‘उहाँहरूलाई छोड्ने भएपछि भोलीको कार्यक्रम पनि पुनर्विचार होला भन्ने हो। हाम्रो तयारी छ छँदैछ,’ जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी एक जनाले भने।
बैठकले काठमाडौंमा कुनै पनि कार्यक्रम गर्दा प्रशासनबाट अनुमति लिनुपर्ने समेत निर्णय गरेको छ।
जेठ १५ गतेबाट थालेको राजावादीको आन्दोलनबारे प्रशासनमा कुनै पनि औपचारिक जानकारी दिएको थिएन। जेठ १५ गते नेकपा (एमाले) ले पनि कार्यक्रम गरेको थियो। तर राजावादीको कार्यक्रममा एमालेको भन्दा केही गुणा बढी मानिस सहभागी थिए।
दोस्रो र तेस्रो दिनमा पनि राजावादी समूहको प्रदर्शनमा उपस्थिति उत्तिकै देखिन्छ। राजावादीको प्रदर्शनमा जेठ १५ गते ८ हजार मानिस आएको सुरक्षा निकायको रिपोर्टिङ थियो। आइतबार २ हजार मानिस उपस्थित भएको सुरक्षा निकायको रिपोर्ट छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले सहभागी घटिरहेको बताए।
‘सुरक्षा निकायले मानिस घटेको जानकारी दिएका छन्। तर पनि केही मानिसले गर्दा केही होला भनेर हामीले निषेधाज्ञा पनि गरेका हौं,’ सहायक सिडिओ भण्डारीले भने।
१५ गतेको प्रदर्शनपछि स्थानीय प्रशासनले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनले आइतबारदेखि सिफल, कोटेश्वर र बल्खु क्षेत्रबाहेक अन्यत्र निषेधाज्ञा लगाएको हो। आन्दोलनको प्रकृति हेरेर थप निषेधाज्ञा गर्ने तयारी प्रशासनले गरेको छ।
‘उहाँहरूले कहाँ प्रदर्शन गर्ने भन्ने नै भएन। यहाँ संवेदनशील क्षेत्र छन्। त्यसैले ठाउँ तोक्नुपरेको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले भने।