ग्वार्को ‘फ्लाईओभर’मा १९ महिनामा ७५ प्रतिशत काम, पुस ८ सम्म म्याद थप

शुक्र गिरी
२०८१ असार १६ गते ०६:३० | Jun 30, 2024
ग्वार्को ‘फ्लाईओभर’मा १९ महिनामा ७५ प्रतिशत काम, पुस ८ सम्म म्याद थप

काठमाडौं। ग्वार्को फ्लाईओभरमा १९ महिनामा ७५ प्रतिशत काम भएको छ। १६ महिनामा निर्माण सम्पन्न गर्ने गरि २०७९ मंसिर १६ गते सुरू गरिएको फ्लाईओभरको काम अहिलेसम्म ७५ प्रतिशत मात्र सकिएको हो।

Tata
GBIME

लक्ष्य अनुसार काम नभएपछि आयोजनाको म्याद दोस्रो पटक थपिएको छ। यसअघि २०८१ असार मसान्तसम्मका लागि म्याद थपिएकामा त्यो अवधिभित्र पूरा नहुने भएपछि आगामी पुस ८ ससम्मका लागि निर्माण अवधि बढाइएको हो।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर राकेश महर्जनले कानुनी व्यवस्था अनुसार नै आयोजनाको म्याद पुस ८ गतेसम्म थप गरिएको बताए।

फ्लाइओभर भनेर धमाधम काम भए पनि यसको डिजाइनमा प्रश्न समेत उठिरहेको छ। इन्जिनियरहरुले नै यसलाई फ्लाइओभर भन्दा ओभरपास भन्नुपर्ने मत समेत राखिरहेका छन्।

पढ्नुस : ग्वार्को चोकमा निर्माण हुन लागेको संरचना फ्लाई ओभर की ओभरपास ?

‘सरकारले सार्वजनिक खरिद नियमावलीमा गरेको १३ औं संशोधनले चालु अवस्थामा रहेका ठेक्का यसै वर्षभित्र सम्पन्न हुने नदेखिएमा कामको प्रकृति हेरेर समय थप गर्न अनुमति दिएको छ। त्यही आधारमा निर्माण कम्पनीले कार्यतालिकासहित म्याद थप गर्न निवेदन दिएको थियो। त्यसलाई आधार मानेर फ्लाईओभरको म्याद पुस ८ गतेसम्मका थप गरिएको हो,’ उनले भने।

महर्जनका अनुसार मूख्य ब्रिजको काम भने ९७ प्रतिशत सकिएको छ। अहिले उक्त ब्रिजमा जाने दायाँबायाँको सडक निर्माणको काम भइरहेको छ।

काभ्रेबाट ल्याइयो ४५ हजार घनमिटर माटो

पिलरविनाको फ्लाईओभर नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको हो। स्लोप (भिरालो) पारेर हाइट (उचाइ) बनाइ ओभरहेड ब्रिज निर्माण गरिएको छ। ग्वार्को चोकबाट पश्चिम अर्थात् बीएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइएको छ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइएको छ।

दुवैपट्टिको लामो स्लोप भर्न निर्माण कम्पनीले काभ्रेको रोशी गाउँपालिकाबाट ग्राबेल जस्तो माटो ल्याएको छ। स्लोप भर्न कुल ५५ हजार घनमिटर माटो लाग्ने अनुमान गरिएकामा निर्माण कम्पनीले अहिलेसम्म ४५ घनमिटर ल्याइसकेको महर्जनले बताए।

फ्लाईओभरमा क्र्यास ब्यारियरको काम भर्खर सुरु भएको छ। जसलाई एप्रोच सडकको दायाबायाँ लगाइन्छ। यस्तै ट्राफिक संकेत राख्न बाँकी छ।

५४० मिटरको फ्लाईओभरमा स्लोप १६ मिटर चौडाइको हुनेछ। चार लेनको फ्लाईओभरमा बीचको लेनका साथै दायाँबायाँ सर्भिस लेन अहिले जस्तै हुनेछन्। ग्वार्को चोकबाट वारपार गर्ने सवारी साधनका लागि ३५ मिटरको पुल मुनी सडक रहनेछ।

फ्लाईओभर निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले १७ करोड ६ लाख रुपैयाँमा लिएको हो।