ग्वार्को चोकमा निर्माण हुन लागेको संरचना फ्लाई ओभर की ओभरपास ?

शुक्र गिरी
२०८० बैशाख ५ गते ०६:५६ | Apr 18, 2023
ग्वार्को चोकमा निर्माण हुन लागेको संरचना फ्लाई ओभर की ओभरपास ?

काठमाडौं। सरकारले ट्राफिक जाम कम गर्न भन्दै ग्वार्को चोकमा एउटा संरचना निर्माण गर्न लागिएको छ। जसलाई अहिले सबैले फ्लाई ओभर भनेर बुझिरहेका छन्।

Tata
GBIME

तर के यो सच्चिकै फ्लाईओभर हो त ? कि यो ओभरपास मात्र हो ? गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर रविन्द्र श्रेष्ठ ग्वार्कोमा बनिरहेको संरचना फ्लाईओभरको पूर्ण परिभाषामा नपर्ने बताउँछन्।

‘यो फ्लाई ओभरको संरचना हैन। केही पाटो मात्र फ्लाईओभरको जस्तो लाग्छ। हामीले यसलाई मुख्य सडकलाई मात्र ओभरपास गर्ने संरचना तयार पार्न लागिएको हो,’ श्रेष्ठले बिजमाण्डूसँग भने, ‘यसको बेस भनेको ओभरपास हो। अहिले निर्माण गर्न लागिएको पनि ओभरपास मात्र हो।’

श्रेष्ठका अनुसार यसलाई ओभरपासकै रुपमा बुझ्नुपर्छ।

‘फ्लाई ओभर निर्माणको लागि लगानीदेखि यसलाई कनेक्ट गर्ने धेरै कुराहरु समावेश भएका हुन्छन्। तर हाम्रोमा निर्माण हुन लागेको यो संरचनाले वान वे कन्फ्लिक्ट मात्र यसले मिनिमाइज गर्ने भएकाले यो ओभरपास मात्र हो,’ उनले भने।

ओभरपासलाई ओभरब्रिज पनि भनिन्छ। ओभरपास र अन्डरपास सँगै ग्रेड विभाजन बनाउँछ।

प्राविधिक रुपमा यस्तो बन्नेछ ओभरपास

परामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास (सडक माथि सडक) निर्माण गरिनेछ। कुल ५४० मिटर लम्बाईंको ओभरपास हुनेछ। यो भनेको लगभग आधा किलोमिटरको सडकमा ओभरपास निर्माण हुने श्रेष्ठ बताउँछन्।

जसमा यो संरचनाको बीचमा जम्मा ३५ मिटरको मात्र एउटा पुल निर्माण गरिने श्रेष्ठ बताउँछन्। ‘यो पुल हामीले अन्य नदीहरुमा निर्माण गर्ने जस्तै ३५ मिटर लामो स्पाम अर्थात स्ट्रक्चर तयार पारिन्छ,’ उनले भने, ‘ओभरपासको उचाई ६ मिटरको हुनेछ। पुल मुनिको सडक भनिन्छ।’

उनका अनुसार यसको दुबैतिर माथि पुलमा जानको लागि दुई वटा र्‍याम्प निर्माण गरिन्छ।

ओभरपासमा सवारीसाधन चढ्नका लागि बालकुमारीतिर जेरो ग्रेडदेखि पुलसम्म ३२५ र बिएनबितर्फ जिरो ग्रेडदेखि पुलसम्म १८५ मिटरको र्‍याम्प निर्माण गरिने श्रेष्ठ बताउँछन्।

ओभरपासले चक्रपथको मूख्य चार लेन ओगट्ने छ। जसमा यसको चौडाई लगभग १६.४ मिटरको हुने श्रेष्ठको भनाइ छ। चक्रपथको मूख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपासहुँदै गुड्नेछन्।

ग्वार्को- लामाटार सडक र ग्वार्को- पाटन सडकतर्फ जाने सवारीसाधन भने ओभरपास मुनिबाट गुड्नेछन्। ओभरपासको पुल मुनिबाट इमाडोल-पाटन वारीपारी गर्ने सवारीहरु विनाअवरोध क्रस गर्न सक्नेछन्।

बीचका सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरु अहिलेकै अवस्थामा रहने छ।

अहिले के काम भइरहेको छ ?

श्रेष्ठका अनुसार अहिले ओभरपास निर्माणको लागि एमएसी प्यानल निर्माणको काम भइरहेको छ। जसलाई वालको प्रि-कास स्ल्याबहरु भनिन्छ। यसलाई र्‍याम्प पुलसँग जोड्नका लागि आवश्यक वालहरु निर्माणमा प्रयोग हुन्छन्।

श्रेष्ठका अनुसार ४ प्रतिशतको ग्रेडिङ भएको र्‍याम्प बनाउन मेकानिकल्ली स्टेबलाइज्ड अर्थ रिटेनिङ वाल लगाइनेछ र त्यसभित्र माटो भरिनेछ।

‘कास्ट इन सीटीको काम त्यही फर्मा ठोकेर ढलान गर्ने गरिन्छ। तर हाम्रो प्रि-कास स्ल्याब गर्ने भएकाले कुनै यार्डमा कास्ट गरिसकेर निर्माण हुन्छ। यसले २८ दिनमा स्ट्रेन्थ अर्थात राम्रो फर्म तयार हुन्छ,’ उनले भने, ‘यसरी यार्डमा तयारी गरिएको एमएसी प्यानल फिल्डमा लगेर सेट गर्ने गरिन्छ।’

श्रेष्ठका अनुसार अहिले यार्डमा उक्त एमएसी प्यानल निर्माणको काम धमाधम भइरहेको छ। यसका लागि आवश्यक स्ल्याबहरुको काम पनि भइरहेको श्रेष्ठ बताउँछन्।

उनले यसमा केही नयाँ प्रविधिको पनि प्रयोग गर्न लागिएको र ती सामान भारतबाट ल्याउन लागिएको बताए।ओभरपास निर्माणको काम सुरू भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। ओभरपास निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रूतमार्गबाट सञ्चालन गरिएपनि सडक जाम कम हुन सकेको छैन।