नलिञ्चोक हेलिप्याड निर्माणपछि अब टीआईएमा ह्याङ्गर सारिने, २५ प्रतिशत कन्जेसन कम हुने

वसन्तराज उप्रेती
२०८१ असार १० गते १३:२८ | Jun 24, 2024
नलिञ्चोक हेलिप्याड निर्माणपछि अब टीआईएमा ह्याङ्गर सारिने, २५ प्रतिशत कन्जेसन कम हुने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकोप्टर पार्किङ र बेस भक्तपुरको नलिञ्चोकमा स्थानान्तरण गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक कन्जेसन कम हुने भएको छ।

Tata
GBIME

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति अन्तर्गत ह्याङ्गर एप्रोन विस्तारका लागि क्यानले हेलिकोप्टर पार्किङ स्थानान्तरण गरेको हो।

क्यानका अनुसार १३ वटा हेलिकोप्टर पार्किङ गर्न मिल्छ। त्यहाँबाट चारवटा हेलिकोप्टर एकैपटक उडान गर्न सकिनेछ। बाँकी हेलिकोप्टर लुक्ला, पोखरा, रामेछाप लगायत विभिन्न गन्तव्यमा रहने क्यानले जनाएको छ।

हेलिकोप्टर पार्किङ र बेस नलिञ्‍चोकमा स्थानान्तरण गरेका अब रुट कन्जेसनको समस्या नियन्त्रण हुने क्यानका प्रवक्ता हंसराज पाण्डेले बताए।

‘अब रुट कन्जेसन नियन्त्रणमा आउने छ। अर्को भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना अन्तर्गत विकासको काम अगाडि बढ्ने भएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘अहिले सुरुवाती चरणमा केही हेलिकोप्टर यहाँ विश्रामका लागि आइरहेका छन्।’

क्यानले नलिञ्चोकमा हेलिकोप्टर सेवा प्रदायकका लागि आवश्यक सबै सुविधा तयार गरिसकेको उनको भनाइ छ। ‘नलिञ्चोक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)कै विस्तारित क्षेत्र हो। त्यहाँको व्यवस्थापन सबै टीआईएले नै गर्नेछ,’ उनले भने।   

टीआईएमा एक दर्जन हेलिकोप्टर कम्पनीले दुई दर्जन भन्दा बढी हेलकोप्‍टर उडान अवतरण गर्दै आएका थिए। टीआईएका महाप्रबन्धक जगन्नाथ निरौलाले नलिञ्चोकमा हेलिप्याड संचालनमा आएसँगै टीआईएमा ट्राफिक कन्जेसन २५ प्रतिशतले कम हुने बताए।      

‘अब हेलिकोटर सेवा प्रदायकले छुट्टै स्थानबाट आफ्नो सेवा दिन सक्नुहुन्छ। आन्तरिक, अन्तर्राष्ट्रिय र हेलिकोप्टर उडानका क्रममा कम्युनिकेसन सिस्टम निकै व्यस्त हुन्थ्यो,’ महाप्रबन्धक निरौलाले भने, ‘सबै हेलिकोप्टर स्थानान्तरण भएको अवस्थामा २५ प्रतिशत कन्जेसन कम हुनेछ।’

टीआईएमा हवाई चाप घटाउने उद्देश्यसहित नलिञ्चोकमा बनाइएको हेलिप्याड पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले असार ७ गते उद्घाटन गरेका थिए।

हेलिकोप्टर कम्पनी पनि नलिञ्चोकमा हेलिप्याड संचालनमा आएसँगै सेवा संचालनमामा सहज हुने विश्वासमा छन्। सिम्रीक एयरका महाप्रबन्धक मुरलीधर जोशीले नलिञ्चोकबाट उडान गर्दा यात्रुलाई सेवा दिन सहज हुने बताए।

‘टीआईएबाट उडान गर्दा डिपार्चर हल हुँदै र्‍याम्प बसमार्फत यात्रुलाई लानुपर्थ्यो। त्यो अलिक झन्झटिलो थियो,’ महाप्रबन्धक जोशीले भने।

उनका अनुसार नलिञ्चोकबाट पूर्वतर्फ उडान गर्दा करिब २ मिनेट समय कम लाग्छ। पश्चिमतर्फ भने अतिरिक्त समय लाग्ने छ।  

अहिले हेलिकोप्टर उडानको सिजन नभएको र माग कम रहेका कारण नलिञ्चोकबाट हुने उडान विश्लेषण गर्न केही समय लाग्ने कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए।

‘अहिले १३ वटा हेलिकोप्टर रात्री विसान गरेर उडान गर्ने योजना अगाडि बढाइएको छ। १२ कम्पनीका १-१ वटा हेलिकोप्टर त्यहाँबाट उडान गर्ने भनिएको छ,’ प्रबन्ध निर्देशक पाण्डेले बिजमाण्डूसँग भने,’ पूर्वको तुलनामा पश्चिम गन्तव्यमा जाँदा अलिक बढी समय लाग्ने देखिएको छ।’

उनका अनुसार काठमाडौंको तुलनामा नलिञ्चोकबाट उडान गर्दा १० मिनेट अतिरिक्त समय लाग्ने छ।       

काठमाडौं बेस रही उडान अवतरण गर्दै आएका व्यवसायीले आफ्ना सेवाग्राहीलाई नलिञ्चोकबाट उडान हुने जानकारी गराउन केही समय लाग्ने बताएका छन्। उनीहरूले नलिञ्चोकमा टर्मिनल भवन लगायत सुविधा विस्तार गर्न आग्रह गरेका छन्। त्यसो भए यात्रुलाई सेवा दिन थप सहज हुने उनीहरूको भनाइ छ।

नलिञ्चोकमा उडान र अवतरण एकै दिशाबाट गर्नुपर्ने हुँदा सिजनमा अप्ठ्यारो पर्न सक्ने पनि व्यवसायीको बुझाइ छ।  

यसरी हुँदैछ टीआईएको स्तरोन्नति

विमानस्थलमा नेपाल वायुसेवा निगम र नेपाली सेनाको ह्याङ्गर स्थानान्तरणका लागि चिनियाँ कम्पनी सीसीईसीसी केडिएन एयरपोर्ट इन्जिनियरिङ जेभीलाई ठेक्का दिइएको छ। विमानस्थलको पूर्वपट्टि हेलिकोप्टर पार्किङका लागि प्रयोग गरिएको जग्गामा सेना र निगमको ह्याङ्गर स्थानान्तरण गर्ने तयारी छ।

हाल बुद्ध एयरको ह्याङ्गर छेउमा रहेको जग्गामा निगम र राडारको एन्टिना भएको क्षेत्र सेनाका लागि ह्याङ्गर प्रयोजनका लागि दिइनेछ। कुनै एउटा निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पनि ह्याङ्गर संचालनका लागि ठाउँ दिने क्यानको तयारी छ।

क्यानले आफ्नो गुरुयोजना अनुसार हाल निगम र सेनाको ह्याङ्गर भएको क्षेत्र खाली गरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण छ। ह्याङ्गर स्थानान्तरण पछि अत्याधुनिक टर्मिनल भवन निर्माणको काम सुरु हुनेछ।

नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनसँगै पहुँच मार्ग, ६ वटा बोर्डिङ ब्रिज तथा बोइङ ७७७, एयरबस ३३० लगायत कोड इ सिरिजका ६ वटा अथवा १२ वटा न्यारोबडी जहाज क्षमताको पार्किङ बनाउने पनि गुरुयोजनामा उल्लेख छ।

यसका लागि करिब ६० अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ। नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन संचालनमा आएपछि क्यानले अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक टर्मिनलका रुपमा प्रयोग गर्नेछ।