जापानमा ३ वर्ष लगाएर बनाएको मण्डला ८ वर्षदेखि नेपालमा, किन गरिएन फिर्ता?

सविन ढकाल
२०८१ असार १३ गते १८:३० | Jun 27, 2024
जापानमा ३ वर्ष लगाएर बनाएको मण्डला ८ वर्षदेखि नेपालमा, किन गरिएन फिर्ता?
दशरथ रंगशालामा प्रदर्शन गरिएको विश्व शान्ति मण्डला। तस्विर : Worlds Largest Thanka/Facebook

काठमाडौं। जापानी नागरिक यासुतादा कातागिरीले सन् १९९९ मा गौतम बुद्धको जीवन दर्शाउने थाङ्का निर्माण गर्न थाले। विश्वकै ठूलो विश्व शान्ति मण्डला (पिस थाङ्का) निर्माण अभियानमा जोडिए करिब १० हजार स्वयंसेवक।

Tata
GBIME

सबैको अथक प्रयासबाट सन् २००२ मा मण्डला तयार भयो। १ हजार ९०० किलोग्राम तौलको मण्डला सन् २०१६ मा नेपाल ल्याएर प्रदर्शनी गरियो। तर, त्यो मण्डला जापान फिर्ता हुन पाएन।

कातागिरी मण्डला फिर्ता गराउन पटकपटक नेपाल आए। सरकारी कार्यालयदेखि दूतावास धाए। जिल्ला प्रशासन कार्यालय काठमाडौंदेखि उच्च अदालत पाटनसम्म पुगे।

तर, उनको प्रयास सफल हुन सकेको छैन। फिर्ता गराउन सरकारका विभिन्न निकायलाई जापानी दूतावासले पत्राचार गरेपनि मण्डला कहाँ छ भन्ने जवाफ समेत दिन नसकेको अवस्था छ। अर्थात मण्डला आठ वर्षदेखि नेपालभित्रै ‘गायब’ छ।

२०७३ कात्तिकमा प्रदर्शनका लागि भन्सार तथा अन्तःशुल्क छुट गरेर जापानबाट मण्डला ल्याइएको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महत, नेपालका लागि जापानका राजदूत लगायतको उपस्थितमा काठमाडौंको दशरथ रंगशाला, पोखराको फुटबल ग्राउन्ड र लुम्बिनी गार्डेनमा मण्डला प्रदर्शन गरिएको थियो। त्यसपछि मण्डला यतै हरायो।

विश्व शान्तिको न्देश दिन विश्वभर प्रदर्शन गर्ने हेतुले निर्माण गरिएको मण्डला सन् २०१२ मा पनि नेपाल ल्याइएको थियो। त्यतिखेर दशरथ रंगशालामा प्रदर्शन गरेपछि जापान फिर्ता पठाइएकामा दोस्रोपटक भने गायब पारियो।

कसले गायब बनायो मण्डला ?

यसअघि पनि नेपालमा प्रदर्शन गरेर फिर्ता भइसकेको मण्डला बुद्धभूमिबाट फिर्ता हुँदैन भन्ने कातागिरीले सोचेका पनि थिएनन्। त्यसैले दोस्रोपटकको प्रदर्शनका लागि पनि मण्डला जापानबाट ल्याए। तर, नसोचेको भयो।

प्रदर्शनपछि फिर्ता नभएका कारण उनले मण्डलाको खोजी गर्ने क्रममा गृहमन्त्रीलाई समेत पत्र लेखे। गत माघमा उनले नेपाल आएर मण्डला फिर्ता गराउन गृहमन्त्रीलाई पत्र लेख्ने क्रममा नेपाल प्रवेशको विस्तृत विवरण खुलाए। पत्रमा उनले नेपालमा कसको जिम्मामा ल्याएको भन्ने पनि उल्लेख गरे।  

पत्र अनुसार विश्वकै ठूलो भनिएको पिस मण्डला दुवैपटक नेपाल ल्याउने व्यक्ति हुन् नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकाली।

मण्डला नेपाल ल्याउनका लागि भन्सार र अन्तःशुल्क छुट गर्न २०७३ कात्तिक १८ मा भन्सार विभागका तत्कालीन महानिर्देशकलाई पत्र लेखिएको थियो। पत्रमा गरिएको माग अनुसार भन्सार र अन्त:शुल्क छुट भयो।

मण्डला नेपाल ल्याउँदा लागेको यातायात खर्च समितिले बेहोर्‍यो। २०७३ कात्तिक २६ र २७ गते दशरथ रंगशाला, मंसिर ४ र ५ गते पोखरा रंगशाला तथा त्यसपछि लुम्बिनीमा प्रदर्शन गरियो।

थकाली र कातागिरीको भेट

थकाली कातागिरीका लागि नयाँ व्यक्ति थिएनन्, २० वर्षदेखि चिनेका थिए। त्यसैले विश्वास गरेर मण्डला स्वयम्भुमा छोडी उनी जापान फर्किए। उनले जापानमा प्रदर्शनी गर्नुपर्‍यो भन्दै मण्डला फिर्ता गरिदिन थकालीलाई आग्रह गरे। तर, फिर्ता भएन। कातागिरीको पटक पटकको आग्रहलाई थकालीले बेवास्ता गरे, राम्रोसँग कुरा गर्नै छोडे।

त्यसपछि कातागिरी सन् २०१७ मा नेपाल आए। मण्डला उनले छोडेको स्थान स्वयम्भुमा थिएन। थकालीले लगेको जानकारी पाए।

‘मैले काठमाडौंमा थकालीलाई भेटें। तर, उनले मण्डला फिर्ता नगर्ने बताए। त्यसपछि उनले मेरो फोन उठाउन छोडे। मलाई मण्डला कहाँ छ भन्ने जानकारी पनि दिइएन,’ यो बेहोरासहित उनले नेपालबाट फर्किएपछि जापानका लागि तत्कालीन नेपाली राजदूत प्रतिभा राणालाई पत्र लेखे।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र अन्य निकायमा पनि सोही बेहोराको पत्रसहित मण्डला खोजीका लागि आग्रह गरे। उनको पत्रका आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ माघ २१ गते छलफलका लागि थकालीलाई चिठी लेख्यो। थकालीले मण्डलाको स्वामित्व आफ्नो भएको दाबी मात्र गरेनन्, उच्च अदालत पाटनमा मुद्दा दर्ता गराए।

थकाली सन् १९९४ मा पत्नी रेणुसहित जापान गएका बेला साथीमार्फत कातागिरीसँग भेट भएको हुन्छ। हस्तकलाका सामग्री बेचबिखन गर्ने थकालीसँग कातागिरीले विश्वकै ठूलो थाङ्का बनाउने कुरा गर्छन्। उनी आवश्यक रकमको जोहो गरेपछि थाङ्का बनाउन थाल्छन्। यसमा थकाली पनि संलग्न हुन्छन्। सन् १९९४ देखि बनेको समूहले सन् १९९९ देखि थाङ्का बनाउन सुरु गरेको हो।

कातागिरीको निरन्तरको प्रयासपछि अनुसन्धान

थकालीले स्वामित्व दाबी गरेर अदालतमा मुद्दा हाले पनि कातागिरीले हरेश मानेका छैनन्। उनले मण्डला फिर्ता गराउनका लागि आफ्नो प्रयासलाई निरन्तरता दिएका छन्। गत माघमा उनले नेपाल आएर गृह मन्त्रीलाई पत्र लेखे। पत्रको बोधार्थ परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लगायतलाई दिए।

प्रहरीले अहिले मण्डला ‘गायब’ प्रकरणमा अनुसन्धान थालेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार थकालीलाई बोलाएर छलफल गर्‍यो। ‘अहिले हामी छलफलमा नै छौं,’ थकालीले भने।

कस्तो हो विश्वकै ठूलो पिस मण्डला ?

विश्व शान्ति मण्डला गौतम बुद्धको जीवनलाई आधार बनाएर चित्रण गरिएको थाङ्का चित्र हो। जसमा ८१ वटा टुक्रा छन्। ७५ प्रतिशत टुक्रा जापान र बाँकी अन्य १५ देशमा बनाइएको हो। नेपालमा पनि दुई वटा टुक्रा बनाइएको थियो।

तौलका हिसाबले १ हजार ९०० किलोको थाङ्कामा ४५ वटा रङ्ग प्रयोग भएको छ। यसको निर्माणमा १६ वटा मुलुक सामेल भएका थिए। शान्तिको कामना गर्ने विश्वका १० देशमा यसको प्रदर्शन भइसकेको छ।