१% सामाजिक सुरक्षा कर खारेज गरेर ३% पुर्‍याउने प्रस्ताव: कसरी हुन्छ कम कमाउनेलाई फाइदा?

बिजमाण्डू
२०८१ असार १४ गते ०९:२६ | Jun 28, 2024
१% सामाजिक सुरक्षा कर खारेज गरेर ३% पुर्‍याउने प्रस्ताव: कसरी हुन्छ कम कमाउनेलाई फाइदा?

काठमाडौं । अहिलेकै अवस्थामा सामाजिक सुरक्षा योजना सञ्चालन गरेमा दिगो नहुने भन्दै उच्चस्तरीय कर सुधार समितिले एउटा उपाय सुझाएको छ – विद्यमान एक प्रतिशत कर खारेज गर्ने र परिष्कृत रुपमा तीन प्रतिशत हुँदै पाँच प्रतिशतसम्म कर लगाउने।

Tata
GBIME

हाल कामदार तथा कर्मचारी लगायतका आय आर्जनकर्ताको आयको पहिलो स्ल्याबमा एक प्रतिशत सामाजिक सुरक्षा कर लाग्छ। समितिले कम आय गर्नेलाई कम योगदान र बढी आय गर्नेले बढी योगदान गर्नु पर्ने अवधारणा अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा करमा संरचनागत परिवर्तन गर्नु पर्ने सुझाव दिएको हो।

मानौ तपाईंको वार्षिक आय पाँच लाख रुपैयाँ छ, जुन तपाईंको कर योग्य आयभित्र पर्दैन। तर, सामाजिक सुरक्षा कर भनेर ५ हजार रुपैयाँ बुझाउनु पर्छ। आयोगले सबैसँग लिने यो एक प्रतिशत कर खारेज गरेर राम्रो कमाइ गर्ने हुनेखाने वर्गसँग अलिक बढी कर लिन सुझाव दिएको हो।

समितिको सुझावमा भनिएको छ – व्यक्तिगत आयको आयमा खर्चहरू कट्टा गरि कर योग्य आयमा कर छुटको सीमा घटाए पछिको बाँकी आय रकममा आगामी वर्ष देखि १० वर्ष सम्म ३ प्रतिशत सामाजिक सुरक्षा योगदान कर लगाउनु पर्छ। त्यस पछि यो करलाई ५ प्रतिशतको दरबाट लगाउने गरि कर प्रणालीको विकास गर्नुपर्छ ।

समितिको सिफारिस अनुसार जाँदा तुलनात्मक रुपमा न्यून आए भएकालाई न्यून कर लाग्ने भयो। जसले जति बढी आम्दानी गर्छ उसले त्यति नै बढी योगदान गर्नु पर्छ ।

समितिले नेपालको सामाजिक सुरक्षा प्रणालीलाई सुधार गर्ने र दीर्घकालीन रूपमा दिगो बनाउने उद्देश्यले नयाँ अवधारणा दिएको हो। प्रस्ताव अनुसार व्यक्तिगत आयबाट पहिले खर्चहरू कट्टा गरिनेछ। अर्थात, सरकारले स्वीकृत अवकास कोषहरुमा बढीमा पाँच लाख वा कमाइएको एक तीहाइमध्ये जुन कम हुन्छ त्यो कर कट्ट गर्ने सुविधा दिएको छ। यो खर्च हो। यसबाहेक बीमा बापतको ५० हजार रुपैयाँलाई पनि खर्च देखाउन मिल्छ।

तपाईंको कूल आम्दानी १० लाख रुपैयाँ छ। यसको एक तिहाइ ३ लाख ३३ हजार रुपैयाँ स्वीकृत अवकासमा पठाउनु (नपठाएमा खर्च कटाउन मिल्दैन) भयो। त्यसपछि तपाईंले अर्को ५० हजार रुपैयाँको बीमा दाबी गर्नु भयो। अब तपाईंको कर योग्य आय ६ लाख १६ हजार रुपैयाँ हुन्छ।

आय कर ऐन अनुसार ५ देखि ७ लाख रुपैयाँको बीचमा आय गर्नेले १० प्रतिशत कर बुझाउनु पर्छ। अर्थात खर्च कटाएर तपाईंको १० प्रतिशत आय करको सीमाभित्र पर्ने आय एक लाख १६ हजार रुपैयाँ हुन्छ। यसअनुसार तपाईंले ११ हजार ६०० रुपैयाँ आय कर (१० प्रतिशत) तिर्नु हुन्छ।

एक लाख १६ हजारमा ११ हजार ६०० रुपैयाँ कटाएपछि तपाईंसँग बाँकी रहन्छ एक लाख ४ हजार ४०० रुपैयाँ। समितिको सुझाव अनुसार अब तपाईंसँग बाँकी रहेको यही रकमा ३ प्रतिशत सामाजिक सुरक्षा कर लाग्नेछ।

अर्थात अब तपाईंले जम्मा ३ हजार १३२ रुपैयाँ तिरे पुग्छ। विद्यमान व्यवस्था अनुसार जाने हो भने – सामाजिक सुरक्षा कर (एक प्रतिशत) बापत १० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ।

समितिको सिफारिस अनुसार जाँदा तुलनात्मक रुपमा न्यून आए भएकालाई न्यून कर लाग्ने भयो। जसले जति बढी आम्दानी गर्छ उसले त्यति नै बढी योगदान गर्नु पर्छ भन्ने मान्यता समितिले बोकेको छ।

‘यसले सामाजिक सुरक्षा कोषलाई बलियो र दिगो बनाउन मद्दत गर्नेछ,’ समितिका सदस्य पूर्व सचिव लक्ष्मण अर्यालले बिजमाण्डूसँग भने, ‘यो प्रणालीले धेरै आय भएकाहरूबाट बढी योगदान लिने र कम आय भएकाहरूलाई कम बोझ पार्ने लक्ष्य राखेको छ।’