एयर इण्डिगोले लाने भएपछि नेपाली एयरलाइन्स पाइलटको खोजीमा, यतीले माग्यो आवेदन

बिजमाण्डू
२०८१ असार १३ गते १९:२० | Jun 27, 2024
एयर इण्डिगोले लाने भएपछि नेपाली एयरलाइन्स पाइलटको खोजीमा, यतीले माग्यो आवेदन

काठमाडौं। भारतको बजेट एयरलाइन्‍स एयर इण्डिगोले आफ्ना पाइलटलाई महँगो पारिश्रमिक दिएर लाने भएपछि वायुसेवा प्रदायक कम्पनी जनशक्ति खोजीमा लागेका छन्।

Tata
GBIME

यती एयरलाइन्‍सले एटीआर ७२-५०० र ६०० सिरिजका जहाजका लागि पाइलटको आवेदन खुलाएको छ। कम्पनीले संख्या भने तोकेको छैन।

कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले केही पाइलट इण्डिगो एयरमा जाने तयारीमा रहेको र एयरलाइन्स जहाज विस्तार गर्नतिर लागेका कारण पाइलटका लागि आवेदन खुलाएको बताए।

‘अहिले केही पाइलटले भारतीय वायुसेवा कम्पनीमा जाने तरखर गरिरहेको जानकारी आएको छ,’ प्रवक्ता बर्तौलाले भने, ‘हामी यही वर्ष एटीआर ७२-६०० सिरिजको जहाज भित्र्याउने तयारीमा छौं। त्यसैले पाइलटका लागि विज्ञापन गरेका हौं।’

७ वटा एटीआर-७२ मार्फत उडान गर्दै आएको यती एयरलाइन्सले यही वर्ष ३ थान एटीआर ७२-६०० सिरिजको जहाज भित्र्याउने योजना अगाडि बढाइसकेको छ। यती एयरलाइन्समा हाल करिब ६० पाइलट कार्यरत छन्।

यतीका साथै बुद्ध एयर र श्री एयरलाइन्सका एक दर्जनभन्दा बढी पाइलटलाई एयर इण्डिगोले महँगो पारिश्रमिक दिएर लान लागेको छ। हाल मुलुकमा सुगम गन्तव्यतर्फ उडान गर्दै आएका पाइलटले मासिक ८ लाख रुपैयाँ हाराहारी आम्दानी गर्दै आएकामा एयर इण्डिगोले मासिक १० हजार अमेरिकी डलर अर्थात १३ लाख ७० हजार रुपैयाँ पारिश्रामिक अफर गरेको छ।

तर, बुद्ध र श्रीले भने पाइलटका लागि विज्ञापन गरेका छैनन्। व्यावसायिक योजना अनुसार पाइलट व्यवस्थापन गर्दै आएको बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए। ‘हाम्रो कम्पनीबाट झण्डै आधा दर्जन पाइलट पलायन हुने जानकारी छ। हामीले आन्तरिकरुपमा नै पाइलट तयार पार्ने काम गरिरहेका छौं। त्यसैले दर्खास्त आह्वान गर्ने योजना छैन।’

१४ वटा एटीआर-७२-५०० र ३ वटा एटीआर-४२ जहाजमार्फत उडान सेवा दिंदै आएको बुद्ध एयरमा हाल १६० जना पाइलट कार्यरत छन्।

श्री एयरलाइन्सले जहाज विस्तार योजनासँगै पाइलट थपिसकेको बताएको छ। ‘हामीले पछिल्लो समय जहाज विस्तार योजनासँगै पाइलट संख्या पनि बढाइरहेका छौं,’ कम्पनीका प्रवक्ता अनिल मानन्धरले भने। कम्पनीले ७ थान क्यू-४००, २ थान सीआरजे-७०० र २ थान सीआरजे-२०० जहाजमार्फत उडान सेवा दिंदै आएको छ।