श्री एयरलाइन्सले थप्यो जहाज, काठमाडौं आइपुग्यो ८० सीट क्षमताको ड्यास-एट  

वसन्तराज उप्रेती
२०८१ असार ८ गते १२:२२ | Jun 22, 2024
श्री एयरलाइन्सले थप्यो जहाज, काठमाडौं आइपुग्यो ८० सीट क्षमताको ड्यास-एट  

काठमाडौं। निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी श्री एयरलाइन्सले जहाज थपेको छ। क्यानडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताको विमान कल साइन नाइनएन-एओएम थपेको हो।

Tata
GBIME

यसअघि अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाज डी हाभिल्याण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनि अनुभूति दिने मानिने जनाइएको छ। क्यानडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावरका पीडब्लुआइ५०ए इन्जिनजडित भएको विमान रहेको श्री एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा छ।

नयाँ जहाज श्री एयरलाइन्सका पाइलटले शनिबार नेपाल ल्याइपुर्‍याएका हुन्। अमेरिकाको अरेगन राज्यको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, चेकको प्राग, इजिप्टको कायरो, ओमानको मस्कट हुँदै अन्दाजी १० हजार ४ सय माइलको दुरी करीब ३३ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आज अन्दाजी १ बजे अवतरण भएको हो।

श्रीले सन् २०१७ बाट ५० सिट क्षमताका दुई सीआरजे २०० तथा ७० सिट क्षमताको दुई सीआरजे ७०० जेट विमानहरुबाट मुलुकका विभिन्न गन्तव्यमा नियमित उडान संचालन गर्दै आएको हो। छोटो समयमा आन्तरिक हवाई सेवामा अपेक्षित बिजनेस गरेको कम्पनीले छोटो समयमा सेवा प्रदायक हुन सफलता प्राप्त गरेको जनाएको छ।

आफ्ना कारण हवाई यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएको कम्पनीको भनाइ छ। कम्पनीले सीआरजे २००/७०० तथा क्यु ४०० ड्यास गरि १० विमानहरुबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरूमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाई सेवा संचालन गरिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु छिट्टै पूरा गरेर नयाँ विमानबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गरि भरपर्दो सेवा संचालन गर्दै जाने जनाएको छ।

नयाँ विमान भित्र्याएसँगै कम्पनीले विज्ञप्ति जारी गर्दै सेवा अझ सुदृढ बनाउने जनाएको छ। उद्योगपति स्व. बनवारीलाल मित्तलले २०५५ सालमा हेलिप्कोटरहरुबाट मुलुकका दुर्गम तथा विकट हिमाली क्षेत्रहरुमा खाद्यान्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मिक उद्धार तथा पर्यटकीय सामानहरु ढुवानी, निर्माण सामाग्री, जल विद्युतका र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेसिनरी ढुवानी गर्न एयर अनन्या स्थापना गरेका थिए।

पछि नाम परिवर्तन गरी उक्त कम्पनी श्री एयरलाइन्स भएको हो। छोटो समयमा नै मुलुकको ठूलो हेलिकप्टर कम्पनी बनेको श्री एयरलाइन्स नेपाल तथा दक्षिण एसिया क्षेत्रबाट संयुक्त राष्ट्र संघअन्तर्गतको विभिन्न शान्ति मिसन तथा विश्व खाद्य कार्यक्रमका लागि हेलिकोप्टरहरुबाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने हवाई कम्पनी हो।