भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न बाध्यकारी पार्नुपर्ने क्यानको प्रस्ताव, मुख्यसचिवले मानेनन्

वसन्तराज उप्रेती
२०८१ असार ७ गते १९:५३ | Jun 21, 2024
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न बाध्यकारी पार्नुपर्ने क्यानको प्रस्ताव, मुख्यसचिवले मानेनन्
गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउनेबारे शुक्रबार प्रधानमन्त्रीले राखेको छलफल

काठमाडौं। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नभएको विषयमा सांसदहरुले प्रश्न सोधेर र्‍याख्र्‍याख्ती पारेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा शुक्रबार छलफल गरे।

Tata
GBIME

उनले पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बोलाएर ती दुई विमानस्थलमा उडान गर्ने उपायबारे सोधे।

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, राजस्व सचिव डा. रामप्रसाद घिमिरे र श्रम सचिव घनश्याम उपाध्याय पनि थिए।

प्रधानमन्त्री दाहाललाई बिहिबार प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागाले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा किन उडान नगरेको? कहिलेबाट उडान गर्ने योजना छ? विमानस्थल बनाउन लिएको ऋण कसरी तिर्ने लगायत प्रश्न सोधेका थिए।

तर, प्रधानमन्त्री दाहाल गोलमटोल जवाफ दिएर पन्छिएका थिए। उनले विमानस्थल सञ्चालनमा ल्याउनका लागि समन्वय गर्ने काम भइरहेको भने पनि ठोस जवाफ दिन सकेका थिएनन्। यी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको विषयमा सांसदहरुले अरु बेला पनि प्रश्‍न गर्दै आएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष नाघेपनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान ठप्प छ। नेपाल वायुसेवा निगमले क्वालालम्पुरबाट फर्किने यात्रु झार्ने प्रयोजनका लागि सातामा एकपटक अवतरण गर्नेबाहेक यो विमानस्थलमा व्यावसायिक उडान छैन।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसबाट सञ्चालनमा आएकामा अहिलेसम्म एउटै नियमित उडान भएको छैन। दुवै विमानस्थल ऋण लिएर बनाइएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सांसदहरुलाई चित्तबुझ्दो जवाफ दिन नसकेपछि दाहालले शुक्रबार विमानस्थलमा उडान सञ्चालनको उपायबारे छलफल गरेका हुन्।

क्यानको यस्तो प्रस्ताव

प्रधानमन्त्रीले उपाय मागेपछि क्यानका महानिर्देशक अधिकारीले दुई विमानस्थल सञ्चालन सम्बन्धमा अलग अलग प्रस्ताव गरे।

उनले नेपाली युवाहरु रोजगारीका लागि जाने श्रम गन्तव्य मुलुकमा उडान गर्ने वायुसेवा प्रदायक कम्पनीलाई अनिवार्यरुपमा गौतम बुद्ध विमानस्थलबाट सेवा दिन लगाउनुपर्ने बताए। यसका लागि श्रमिकका सबै काम भैरहवाबाटै हुने व्यवस्था गरिनुपर्ने बताए।

‘काठमाडौंबाट श्रम गन्तव्य मुलुकमा उडान गरिरहेका कम्पनीले अनिवार्यरुपमा भैरहवाबाट उडान गर्ने निर्णय गर्नुपर्छ। त्यसका लागि श्रमिकका सबै काम भैरहवाबाटै हुने प्रबन्ध मिलाउनुपर्छ। त्यसो भए भैरहवा विमानस्थलबाट उडान हुन्छ र त्रिभुवन विमानस्थलमा पनि चाप कम हुन्छ,’ अधिकारीलाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘बाध्यकारी निर्णय नगर्ने हो भने भैरहवाबाट उडान गर्न कोही पनि तयार हुने देखिंदैन।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

नेपाली युवाहरु कामका लागि मलेसिया, कतार, युएई, साउदी अरब, दक्षिण कोरिया लगायत देशमा जाने गरेका छन्।

यस्तै क्यानका महानिर्देशक अधिकारीले त्रिभुवन विमानस्थलमा न्यारोबडी जहाजमार्फत दिनमा ४ वटा र त्यसभन्दा बढी उडान गर्ने वायुसेवा प्रदायक कम्पनीलाई कम्तिमा एउटा उडान पोखरा विमानस्थलबाट गर्न लगाउनुपर्ने बताए। आफ्नो प्रस्ताव अनुसार बाध्यकारी निर्णय गरे पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने बताए।

अहिले हिमालय एयरलाइन्स, फ्लाइ दुबई, एयर इण्डिया, इण्डिगो एयर लगायतले न्यारोबडी जहाजमार्फत दिनमा ४ र त्यसभन्दा बढी उडान गर्दै आएका छन्। महानिर्देशक अधिकारीको प्रस्तावलाई प्रधानमन्त्री दाहालले हुँदैन भनेनन्।

मुख्यसचिवले मानेनन्

क्यानका महानिर्देशक अधिकारीको प्रस्तावमा राजस्व सचिव घिमिरे र श्रम सचिव उपाध्यायाले समर्थन जनाए। पर्यटनमन्त्री तामाङले केही भनेनन्।

तर, मुख्यसचिव अर्यालले भने मानेनन्। उनले वायुसेवा प्रदायक कम्पनीहरुलाई पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य पार्न नमिल्ने बताए। ‘महानिर्देशकले भनेजस्तो बाध्यकारी बनाउन मिल्दैन। बरु छुट र सहुलियत दिएर प्रोत्साहित गर्नुपर्छ,’ अर्यालले भने।

त्यसपछि प्रधानमन्त्री दाहाल पनि परिवर्तन भए। उनले पनि मुख्यसचिवकै सुझाव अनुसार जाउँ न त भने। ‘छुट र सहुलियत के दिने भन्नेबारे ठोस कुरा भएन। प्रधानमन्त्रीले विमानस्थलमा उडान गर्ने खाका ल्याउन पर्यटन मन्त्रालय र क्यानलाई निर्देशन दिनुभयो। अनि बैठक सकियो,’ बैठकमा सहभागी एक उच्च अधिकारीले भने।