कांग्रेस सांसद बलायरले भने- कृषि उत्पादनमा आत्मनिर्भर हुन खाद्यान्न आयातमा बन्देज लगाउनुपर्छ



बिजमाण्डू
२०८१ जेठ २९ गते १६:१३ | Jun 11, 2024
कांग्रेस सांसद बलायरले भने- कृषि उत्पादनमा आत्मनिर्भर हुन खाद्यान्न आयातमा बन्देज लगाउनुपर्छ
वीरबहादुर बलायर

काठमाडौं। नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले देशभित्र कृषि उपजको उत्पादन बढाउन खाद्यान्नको आयातमा रोक लगाउनुपर्ने बताएका छन्।

Tata
GBIME
Zonsen

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलका क्रममा उनले देशभित्र उत्पादन बढाउन कृषिमा लगानी बढाइ खाद्यान्न आयातमा रोक लगाउनुपर्ने बताए।

‘विश्वले कृषिमार्फत अर्थतन्त्रलाई मजबुत बनाइरहेको अवस्थामा हामीले खाद्यान्नको आयातमा ठूलो धनराशी खर्च गरिरहेका छौं। धेरै खाद्य वस्तुको आयातमा बन्देज नलगाइ र लगानी वृद्धि नगरी हामी कसरी आत्मनिर्भर हुन सक्छौं?,’ उनले भने, ‘उत्पादन बढाउन आवश्यक सबै सामग्री सरकारले किसानलाई उपलब्ध गराउनुपर्‍यो।’

उनले जग्गा भूमिसुधार मन्त्रालय मातहत हुनु र सिंचाइको कार्यक्रम ऊर्जा मन्त्रालय मातहत हुनुले पनि कृषि उपज उत्पादनमा असर परेको बताए।

‘जमिन भूमिसुधार मन्त्रालयसँग छ। कुलो ऊर्जासँग छ। अनि कसरी उत्पादन बढाउन सक्छौं? जग्गामा गड्बडी भयो र कुलो आएन भने उत्पादन हुँदैन,’ उनले भने।

उनले कृषि उत्पादन बढाउन प्रविधि आवश्यक रहेको तर त्यस्तो प्रविधि खाद्यान्न आयात गर्ने मुलुकबाट भित्र्याउँदा सफलता हात नलाग्ने बताए। ‘प्रविधि कहाँबाट ल्याउने? जुन देशबाट हामी खाद्यान्न आयात गर्छौं त्यो देशले हामीलाई उत्पादन बढाउन प्रविधि दिन्छ? हामी त बजार भएका छौं। उनीहरुले आफ्नो व्यापार बन्द गरेर हाम्रो प्रगतिका लागि प्रविधि दिन्छन्?,’ उनले प्रश्न गरे।

गत आर्थिक वर्ष नेपालमा १ खर्ब १२ अर्ब रुपैयाँको कृषि तथा पशुजन्य उत्पादन आयात गरिएको थियो। सरकारले कृषि उत्पादनमा आत्मनिर्भर हुन भन्दै लगानी बढाए पनि उत्पादन वृद्धि सन्तोषजनक छैन।

पछिल्लो ५ वर्षमा कृषि क्षेत्रमा अनुदान २०० प्रतिशतले बढ्दा उत्पादन ३.७९ प्रतिशतले मात्र बढेको तथ्यांक छ।