‘प्रसारणलाइन निर्माणमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ’, चुहावट घटाउन पनि सहयोगी

बिजमाण्डू
२०८१ बैशाख १७ गते १६:०८ | Apr 29, 2024
‘प्रसारणलाइन निर्माणमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ’, चुहावट घटाउन पनि सहयोगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत ‘नेपालमा नविकरणीय ऊर्जाको सम्भावना र यात्रा’ विषयक सेसनलाई सम्बोधन गर्दै कार्कीले निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। निजी क्षेत्रले आन्तरिक र अन्तरदेशिय प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए।

कार्कीले निजी क्षेत्रले प्रसारणलाइन निर्माण र संचालनको अवसर पाए विद्युतको विश्वनियता बढाउँदै चुहावट घटाउन पनि महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिए।

‘दक्षिण एसियामा ऊर्जाको माग भएका देशहरुमा क्रस बोर्डर लाइन र ऊर्जा परियोजनाको ठूलो सम्भावना छ। निजी क्षेत्रको सहभागीताले क्रसबोर्डर लाइन निर्माण, विद्युत निर्यात र प्रविधि हस्तान्तरण लगायतका कुरालाई मुर्तरुप दिन सकिन्छ,’ कार्कीले भने, ‘तर, प्रसारणलाइन निर्माणमा पनि वन तथा वातावरण, जग्गा प्राप्ती र प्रक्रियागत झन्जटहरुसँग जुध्नुपर्ने समस्या छ।’

उनले आन्तरिक तथा अन्तरदेशिय विद्युत व्यापारमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यसका लागि निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर बजार र जोखिम अध्ययनसँगै सह-लगानी खोजी र पोलीसी लविइङ लगायतका काम गरिरहेको उनले जानकारी गराए।

निजी क्षेत्रले विद्युत व्यापारका लागि इक्वीटी, ऋण, प्रविधि, सत्र्चालन लगायतका पार्टनरसिप मोडलमा काम गरिरहेको पनि कार्कीले बताए।

नेपालको स्वच्छ र हरित ऊर्जाको लागि रणनीतिक योजना बनाउँदै यस क्षेत्रको दीगो विकासका लागि पनि निजी क्षेत्रले योजना बनाइरहेको छ। नेपालमा निजी क्षेत्रको लागि विद्युत उत्पादनमा मात्र नभएर प्रसारण तथा वितरण पूर्वाधार निर्माण, ऊर्जा दक्षता र विद्युत व्यापारमा निकै ठूलो सम्भावना भएकोले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन विदेशी लगानीकर्तालाई कार्कीले आग्रह गरे।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षीत गर्नको लागि सरकारले केही कुरामा ध्यान दिनुपर्ने भन्दै कार्कीले हाम्रो नीतिमा स्थायित्व र ‘क्लारिटी’ हुनुपर्ने, सरल प्रक्रिया अवलम्बन गर्नुपर्ने, लगानीको सुरक्षा र ग्यारेन्टी, पूर्वाधार निर्माणमा सहयोग, जोखिम न्युनिकरणका संयन्त्र, सहज स्वदेश फिर्तीको व्यवस्था लगायतका कुरामा ध्यान दिनुपर्ने पनि कार्कीले बताए।