भारतीय वाणिज्यमन्त्री पियुष गोयलले भने- नेपालको विकासमा भारत एक विश्वासिलो साथी हो

बिजमाण्डू
२०८१ बैशाख १७ गते ०८:४२ | Apr 29, 2024
भारतीय वाणिज्यमन्त्री पियुष गोयलले भने- नेपालको विकासमा भारत एक विश्वासिलो साथी हो
Photo: Reuters

काठमाडौं। भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले नेपालको विकासमा भारत एक विश्वासिलो साथी रहेका बताएका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै गोयलले नेपाल र भारतबीच बलियो सम्बन्ध रहेको र भारत विकासमा विश्वासिलो साथी रहेका बताएका हुन्

गोयलले नेपाल र भारतबीच सिमाना जोडिएको मात्र नभई गहिरो मित्रता र समृद्ध भविष्यको समान लक्ष्य पनि रहेको पनि दोहोर्‍याए।

लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने आश्‍वासन दिएका थिए।

राजदूत श्रीवास्तवले भारतबाट नेपालमा लगानी प्रवर्धन गर्दा व्यापार सुविधा मात्रै नभई व्यापारका थप अवसरहरू पनि सिर्जना हुनेमा जोड दिए। द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन नेपालले भारतमा विद्युत् निर्यात गर्नु महत्त्वपूर्ण रहेको उनले बताए।

उनले आगामी दिनमा नेपालमा लगानी बढाउन भारत प्रतिबद्ध रहेको दोहोर्‍याए। नेपाल र भारतबीच एकीकृत जाँच चौकी स्थापना, सीमापार विद्युत् प्रसारण सुविधा, ऊर्जा व्यापारलगायत विभिन्‍न क्षेत्रमा सक्रिय सहकार्य भइरहेको उनले बताए।

राजदूत श्रीवास्तवले भने, ‘यो ठूलो सन्तुष्टिको कुरा हो कि भारत आज नेपालको सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ, नेपालमा कुल विदेशी लगानीको ३३ प्रतिशत योगदान भारतको छ, जुन हाल झण्डै ८९ अर्ब नेपाली रुपैयाँ रहेको छ।’