नेपाल र वेस्ट इण्डिज सिरिजको दोस्रो खेल आज, ‘कन्सिस्टेन्सी’ खोज्दै नेपाल

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०६:५२ | Apr 28, 2024
नेपाल र वेस्ट इण्डिज सिरिजको दोस्रो खेल आज, ‘कन्सिस्टेन्सी’ खोज्दै नेपाल
वेस्ट इण्डिज 'ए' विरुद्ध फिल्डिङमा नेपाल। तस्बिर: क्यान

काठमाडौं । अघिल्लो सातामात्र नेपाली क्रिकेट टोलीले ओमनमा एसीसी प्रिमियर कप खेल्यो। यो प्रतियोगिताको विशेषता थियो : च्याम्पियन टोलीले एसिया कप खेल्न पाउने र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप।

Tata
GBIME
Nepal Life

सो प्रतियोगितामा राम्रो सुरुवात गरेको नेपाल समूह चरणमा अपराजित रह्यो। समूह चरणको नतिजाले अनुमान लगाउन कठिन थिएन, नेपाल प्रतियोगिताको मुख्य दाबेदार हो।

तर, सेमिफाइनलमा जित्नै पर्ने दबाबको खेलमा भने नेपालले लय गुमाउँदै युएईसँग हार ब्योहोर्‍यो। सो हारले एसिया कप त गुम्यो नै लगत्तै अर्को दिन भएको खेलमा पनि नेपालले जित्न सकेन। तेस्रो स्थानका लागि भएको खेलमा समूह चरणमा नेपालले नै हराएको हङकङले नेपाललाई पराजित गर्‍यो। र, नेपालको हातबाट इमर्जिङ एसिया कप पनि गुम्यो।

विश्वकप आउन एक महिना समय बाँकी रहँदाको यो नतिजामा सन्तोष गर्ने ठाउँ पक्कै थिएन। तर, लय फर्काउन नेपाली टोलीले अर्को अवसर पाएको छ। त्यो हो वेस्ट इण्डिज ‘ए’सँगको टी-२० सिरिज।

शनिबार कीर्तिपुरमा पहिलो पटक नेपाल आएको बलियो वेस्ट इण्डिज ‘ए’लाई ४ विकेटले हराएर नेपालले पाँच खेलको सिरिजमा सुखद सुरुवात गर्‍यो। तर, यसको निरन्तरता अझै चुनौतीपूर्ण नै छ।

विश्वकपको तयारी भनेरै नेपाल आएको वेस्ट इण्डिजसँगको दोस्रो खेल आज दिउँसो सवा १२ बजे कीर्तिपुरमा हुँदैछ। २० सदस्यीय टोली नेपाललाई विश्वकप अघि लय बनाउन यो सिरिज महत्वपूर्ण हुनेछ।

यही सिरिजमा गरेको पर्फर्मेन्सलाई हेरेर विश्वकपका लागि खेलाडी घोषणा हुनेछ। सिरिजको पहिलो खेलबाट कप्तान रोहित पौडेलले शीर्ष क्रमको खस्किएको ब्याटिङबारेको जवाफ ब्याटबाटै दिइसकेका छन्। तर, अन्य जिम्मेवार ब्याटरले घरेलु मैदानबाटै आफ्नो लय प्रमाणीत गर्नुपर्ने भने देखिएको छ।

नेपालको पछिल्लो समय देखिएको ब्याटिङ र पेस बलिङको कमजोरी सुधार्ने अवसर पनि छ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, गुल्सन झा, करण केसी, आकाश चन्द, ललितनारायण राजवंशी, प्रतिश जिसी, अभिनास बोहरा, विवेक यादव, लोकेश बम, कमलसिंह ऐरी, सागर ढकाल, विनोद भण्डारी

वेस्ट इण्डिज टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप-कप्तान), फेबियन एलेन, कदीम एलिय्ने, जोसुआ विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क डेयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पउल, ओशाने थोमस, हाइडेन वाल्स