निरज तामाङलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

बिजमाण्डू
२०८१ बैशाख १४ गते २१:३५ | Apr 26, 2024
निरज तामाङलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
पुरस्कार लिँदै निरज तामाङ। तस्बिर: राखेप

काठमाडौं। निरज तामाङले सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका छन्। समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै करिअरको पहिलो प्रतियोगिताको उपाधि जितेका हुन्।

Tata
GBIME
Nepal Life

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिनको खेल सुरुवात गर्दा निरज तीन दिनका लिडर भुवनभन्दा सात स्ट्रोकले पछि थिए। तर ८–अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे।

अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र निरज माथि ७ स्ट्रोकको ठूलो अग्रता थियो। तर भुवनले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा ७ अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे। उनले ८२ हजार प्राप्त गरे।

आज ४ -अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए। उनले ६६ हजार हात पारे। आज इभन–पार ६८ स्कोर गर्दै समग्रमा इभन–पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए। उनले ५३ हजार प्राप्त गरे। समग्रमा २–ओभर २ सय ७४ सहित पाँचौ भएका धनबहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाए। उनले आज इभन–पार ६८ खेले।

उपाधिका दाबेदार मानिएका सुबाश तामाङ समग्रमा ४–ओभर २ सय ७६ सहित छैटौं भए। प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुबाशले ३३ हजार ५ सय प्राप्त गरे। समग्रमा ५–ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे। उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे। आज १–ओभर ६९ सहित समग्रमा ६–ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए। उनले २८ हजार नगद पुरस्कार प्राप्त गरे।

यसैगरी समग्रमा ७–ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्त रुपमा दशौं स्थानमा प्रतियोगिता सकाए। सञ्जयले ५–ओभर ७३ र भुवनले १–ओभर ६९ मा खेल सकाए। उनीहरूले जनही २४ हजार नगद प्राप्त गरे।

एमेच्योरतर्फ समग्रमा १३–ओभर २ सय ८५ सहित सदभाव आचार्यले उपाधि जिते। उनले आज ७–ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई दश स्ट्रोकले हराए। टासीले समग्रमा २३–ओभर २ सय ९५ स्कोर गरे। आज उनले १२–ओभर ८० मा खेल सकाए।  राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोरसहित तेस्रो भए। चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको थियो। जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।