सिटिजन्स बैंक खुला टेनिस: ऋतिक र अभिलाषालाई स्वर्ण

बिजमाण्डू
२०८१ बैशाख १४ गते २१:२० | Apr 26, 2024
सिटिजन्स बैंक खुला टेनिस: ऋतिक र अभिलाषालाई स्वर्ण
सिटिजन्स बैंक खुला टेनिसको मिक्स डबल्समा अभिलाषा विष्ट र ऋतिक राणा प्रतिस्पर्धा गर्दै । तस्बिर: राखेप

काठमाडौं। १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा ऋतिक राणा र अभिलाषा विष्टको जोडीले स्वर्ण पदक जितेका छन्। सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ऋतिक र अभिलाषाको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे।

Tata
GBIME
Nepal Life

भेट्रानमा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दोहोरो स्वर्ण जिते। जितेन्द्रले पुरुष ३५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन्। सिंगल्सको फाइनलमा जितेन्द्रले सन्तोष खत्रीलाई ३–६, ६–३ र १०–३ को सेटमा हराए। जितेन्द्रले इलम दीक्षितसँग मिलेर अनिल साइ र सिमान्त गुरुङको जोडीलाई ३–६, ७–५ र १०–७ को सेटमा डबल्सको फाइनलमा पाखा लगाए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो बने। उनले फाइनलमा कर्मा घलेको चुनौती ६–० र ६–१ ले पछि पारे। भेट्रानमै विमलकुमार गुरुङले पनि दोहोरो स्वर्ण चुमे। ५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा विमलले बाजी मारे। उनले फाइनलमा प्रदीपबहादुर शाहमाथि ६–२ र ६–१ को जित दर्ता गरे। उक्त स्पर्धाको डबल्समा विमल र हिमाल शाहको जोडीले कमल थापा र छ्याम्बा धुन्डुपको जोडीलाई फाइनलमा ६–१ र ७–५ को सेटमा पराजित गरे।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई सिधा सेटमा ६–२ र ६–२ ले पाखा लगाए। सो स्पर्धाको डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडी च्याम्पियन भए। उक्त जोडीले फाइनलमा महेश श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा हराए। प्रतियोगिताको अन्तिम दिन पुरुष/महिलाको सिंगल्स फाइनल हुनेछ। पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर उपाधिका लागि भिड्नेछन्। त्यस्तै अभिलाषा विष्ट र सुनिरा थापाबीच महिला सिंगल्स उपाधि भिडन्त हुनेछ।