यूएस चेम्बरले भन्यो- अमेरिकी कम्पनीले नेपालमा ठूलो लगानी गर्न चाहेका छन्

बिजमाण्डू
२०८१ बैशाख १४ गते १९:५६ | Apr 26, 2024
यूएस चेम्बरले भन्यो- अमेरिकी कम्पनीले नेपालमा ठूलो लगानी गर्न चाहेका छन्
अर्थमन्त्री वर्षमान पुनसँग यूएस चेम्बर अफ कमर्सको टोली

काठमाडौं। अमेरिकी व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सले नेपालमा ठूलो लगानी ल्याउन तयार रहेको बताएको छ।

Tata
GBIME
Nepal Life

यूएस चेम्बरका वरिष्ठ उपाध्यक्ष अतुल कश्यप नेतृत्वको टोलीले शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेटेर अमेरिकाका धेरै कम्पनी नेपालमा ठूलो लगानी ल्याउन इच्छुक रहेको बताएको मन्त्रीको सचिवालयले जनाएको छ।

कश्यपले हाल नेपालमै रहेको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको जानकारी दिए। ‘काकाकोलाले धेरै ठूलो लगानी विस्तार गर्दैछ’, उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको फन पार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न इच्छुक छौं।’

नेपाल सरकारले लगानीका लागि वातावरण बनाउनेमा आफूहरु आशावादी रहेको उनको भनाइ थियो। वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आएका अमेरकी व्यवसायीले मन्त्री पुनलाई भेटेका हुन्।

मन्त्री पुनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको जवाफ दिए। उनले नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारसामु थप खुला हुन चाहेको बताए।