२ अर्ब गुमाएपछि निगमले बल्ल बनायो न्यारोबडी, जहाज ल्याउन २ क्याप्टेन इजरायलमा

बिजमाण्डू
२०८१ बैशाख ९ गते १८:०४ | Apr 21, 2024
२ अर्ब गुमाएपछि निगमले बल्ल बनायो न्यारोबडी, जहाज ल्याउन २ क्याप्टेन इजरायलमा

काठमाडौं। नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज इन्जिन बिग्रिएर ग्राउण्डेड भएको ५ महिनापछि बल्ल बनाइएको छ। निगमको ९ एन-एकेएक्स कलसाइनको जहाज इजरायल लगेर साढे तीन महिनामा बनाइएको हो।

Tata
GBIME
Nepal Life

जहाज गत मंसिर १५ गते ग्राउण्डेड भएकामा मर्मतका लागि पुस २६ गते इजरायल लगिएको थियो। मर्मत सम्भारको जिम्मा लिएको इजरायल एरोस्पेस इन्डस्ट्री (आईएआई) ले बनाउने काम सकिएको जानकारी दिएपछि निगमले क्याप्टेन नृपेन्द्र भट्टराई र अर्विनराज पहाडीलाई इजरायल पठाएको छ।

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले आईएआईबाट जहाज मर्मत भएको खबर आएकाले २ जना क्याप्टेनलाई पठाइएको जानकारी दिए। आईएआईले जहाज हस्तान्तरण भने गरिसकेको छैन। उनका अनुसार आईएआईले सोमबार हस्तान्तरण गर्ने बताएको छ।

‘आईएआईले सोमबार हस्तान्तरण गर्ने भनेको छ। जहाज मंगलबार दुबईबाट यात्रुसहित काठमाडौं आउनेछ,’ प्रवक्ता पुनले भने।

यो जहाज पाँच महिनासम्म ग्राउण्डेड गर्दा निगमले करिब २ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ। १५८ सिटे जहाजले प्रति दिन औसतमा १ करोड ३० लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो।

जहाज ग्राउण्डेड भएपछि निगमले दिल्ली उडान घटाएको थियो। दिल्लीमा दैनिक २ वटा उडान गर्दै आएको निगमले ९ एन-एकेएक्स कलसाइनको जहाज ग्राउण्डेड भएपछि एउटा मात्र उडान गरिरहेको छ।

‘दिल्लीमा एउटा भन्दा उडान गर्न सकेका छैनौं,’ पुनले भने, ‘अन्यत्रका गन्तव्यमा तीन वटा जहाजबाट उडान व्यवस्थापन गरिरहेका छौं। तैपनि चार वटा जहाजले गर्ने आम्दानी ३ वटा जहाजबाट त हुने कुरा भएन।’

न्यारोबडी जहाजले उडान गर्ने छोटो रुटका गन्तव्यमा वाइडबडी उडाउँदा घाटा हुन्छ। वाइडबडी जहाजको सञ्चालन खर्च धेरै हुन्छ। तर निगमले जापान र हङकङबाहेक लामो रुटमा चलाउन नसकेकाले वाइडबडी जहाजबाट किनेदेखि नै नाफा कमाउन सकेको छैन। २०७४ असारमा निगमले २ वटा वाइडबडी जहाज किनेको थियो।

वाइडबडी, न्यारोबडी र ट्विनअटर जहाज संचालन गर्दै आएको निगमलाई न्यारोबडीबाहेकका जहाजबाट फाइदा छैन। वाइडबडी जहाजमा गत आर्थिक वर्ष करिब साढे ३ अर्ब नोक्सानी बेहोरेको निगमले २ वटा न्यारोबडी जहाजबाट भने १ अर्बभन्दा बढी नाफा कमाएको थियो।

वाइडबडी जहाज किनेयता निगम निरन्तर घाटामा छ। व्यवस्थापकीय अक्षमताका कारण निगमले यो आर्थिक वर्ष ७ महिनामा २ अर्ब २० करोड रुपैयाँ आम्दानी गुमाएको छ।

गत वर्ष ७ महिनामा १० अर्ब ९० करोड आम्दानी गरेको निगमको कमाइ यो वर्ष सोही अवधिमा ८ अर्ब ७० करोड रुपैयाँमा खुम्चिएको छ। सात महिनाको आम्दानीको हिसाब निकाल्दा न्यारोबडी जहाज ग्राउण्डेड भएको डेढ महिना मात्र भएको थियो।

न्यारोबडी जहाज ग्राउण्डेडपछि दिल्लीमा दैनिक एउटा उडान नै कटौती भएकाले तथा अन्य गन्तव्यमा पनि वाइडबडी जहाज लगिएकाले नोक्सानी बढेको अनुमान निगमकै अधिकारीहरुको छ।

‘नाफा कमाउने न्यारोबडी जहाज ग्राउण्डेड गरी घाटा हुने वाइडबडी जहाज उडाउँदा यसपालि नोक्सानी निकै बढेको अनुमान छ,’ निगम स्रोतले भन्यो, ‘फाइदाका हिसाबले दिल्ली, क्वालालाम्पुर लगायत छोटो रुटमा वाइडबडी जहाज चलाएर कामै छैन।’

न्यारोबडी जहाज आएपछि उडान तालिका फेर्ने प्रवक्ता पुनले बताए।