इलोन मस्कले स्थगित गरे मोदीलाई भेट्ने गरी तय भएको भारत भ्रमण, यस्तो छ कारण

बिजमाण्डू
२०८१ बैशाख ८ गते १६:५१ | Apr 20, 2024
इलोन मस्कले स्थगित गरे मोदीलाई भेट्ने गरी तय भएको भारत भ्रमण, यस्तो छ कारण
Photo: Reuters

टेस्ला सीइओ इलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन्। भ्रमणका क्रममा मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम थियो।

Tata
GBIME
Nepal Life

मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब ४ हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेसँगै उनको भारत भ्रमण स्थगित भएको हो।

‘दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु,’ मस्कले भनेका छन्।

रोयटर्सले शनिबार मस्कको भ्रमण स्थगित भएको उल्लेख गरेको छ। उक्त भ्रमणका क्रममा दक्षिण एसियाली बजारमा प्रवेश गर्ने विद्युतीय सवारी (इभी) निर्माताको योजना रहेको रोयटर्सले बताएको छ

मस्कले नयाँ दिल्लीमा धेरै अन्तरिक्ष स्टार्टअपका अधिकारीहरूसँग पनि भेट्ने अपेक्षा गरिएको थियो। मस्क विश्‍वको सबैभन्दा धेरै जनसंख्या भएको भारतमा आफ्नो स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू सुरु गर्न भारतीय सरकारको नियामक स्वीकृतिको पर्खाइमा छन्।

मस्क र मोदी दुवै हाल गम्भीर मोडमा भएकाले भारत भ्रमण रोकिएको बताइएको छ।

महिनौँदेखि टेस्लाको सेयर-मूल्यमा गिरावट आएको छ। त्यस्तै, अप्रिल १५ मा कम्पनीले विश्‍वव्यापी रुपमा १० प्रतिशतभन्दा बढी कर्मचारी कटौती गर्ने समाचार आएको थियो। यसबीच कम्पनीले भारत भ्रमणको घोषणामार्फत लगानीकर्ताहरूलाई आश्वस्त पार्ने प्रयास गरेको थियो।

टेस्लाले मंगलबार पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दैछ। जसमा घट्दो बिक्री, चिनियाँ इभी निर्माताहरूबाट बढ्दो प्रतिस्पर्धा र टेस्लाको भविष्यबारे उल्लेख हुने बताइएको छ। त्यसपछि मस्कले विश्लेषकहरूबाट कडा प्रश्‍नहरूको सामना गर्नुपर्नेछ।

रोयटर्सले गत अप्रिल ५ मा टेस्लाले मोडल २ भनिने बहुप्रतिक्षित किफायती इभीको निर्माण रोकेको रिपोर्ट गरेको थियो। मस्कले उक्त रिपोर्टलाई झूट भनेका थिए। तर उनले उक्त मोडेलको बारेमा थप बोलेका छैनन् जसकारण लगानीकर्ताहरूले स्पष्टताको माग गरिरहेका छन्।

टेस्लाका सार्वजनिक नीति प्रमुख रोहन पटेल कम्पनीको भारत प्रवेश गर्ने योजनाको नेतृत्व गर्नेहरूमध्येका एक थिए। उनले यसै हप्ता राजीनामा दिएको सञ्‍चारमाध्यमहरूले बताएका छन्।

भारतको राष्ट्रिय निर्वाचन सुरु भएको दुई दिनपछि आइतबार मस्क दिल्ली आउनेवाला थिए। यो निर्वाचनमा मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरिएको छ। मोदीले भारतलाई विश्‍वव्यापी उत्पादनको केन्द्र बनाउने वाचामा प्रगति भएको देखाउन चाहन्छन्।

रोयटर्सले अप्रिल १० मा मस्कको भारत भ्रमण योजनाबारे रिपोर्ट गरेपछि उनले एक्समा पोस्ट गर्दै ‘भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि तत्पर रहेको’ बताएका थिए। नयाँ दिल्लीमा मस्कले मुख्यतया भारतमा कारखाना निर्माण गर्नका लागि २ अर्बदेखि ३ अर्ब डलरको लगानी घोषणा गर्ने अपेक्षा गरिएको थियो।

गत महिना भारत सरकारले विश्‍वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयात कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने स्थानहरूको खोजी गरिरहेको थियो। कम्पनीले ५० करोड डलर लगानी गर्ने र ३ वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो।

सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका ८ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ।

टेस्लाले उत्पादन लाइन स्थापना गर्नेबारे अन्तिम निर्णय नलिएसम्म उसले पहिलो पटक आफ्नो बर्लिन कारखानाबाट कारहरूको आयात गर्न सक्ने भारतीय सञ्‍चारमाध्यमहरूले बताएका छन्। टेस्लाका कारहरूको मूल्य धेरै भएकाले भारतीय बजारमा कम्पनीलाई तत्काल बढत मिल्ने सम्भावना कम रहेको विशेषज्ञहरूले बताएका छन्।

टेस्लाको अहिलेसम्मको सबैभन्दा सस्तो मोडेल भनेको मोडेल ३ सेडान हो। यसको मूल्य अमेरिकामा करिब ३९ हजार डलर छ। भारतमा मस्कको वर्तमान व्यावसायिक रुचि यसअघि ट्विटर नामले चिनिने एक्ससम्म सीमित छ।

आफ्नो सामाजिक मिडिया प्लेटफर्ममा कथितरूपमा आलोचनात्मक पोस्ट हटाउन भारत सरकारको मागलाई लिएर उनले अभिव्यक्ति स्वतन्त्रताका कार्यकर्ताहरूको प्रश्नहरूको सामना गर्नुपरेको छ।

आफूलाई मोदीको प्रशंसक बताउने मस्कले पछिल्लो पटक सन् २००७ मा भारतको भ्रमण गरेका थिए र भारतलाई ‘अद्भूत’ भन्दै ताज महल ‘वास्तवमा विश्‍वको आश्चर्य’ रहेको बताएका थिए।