चेन्नइमाथि लखनउको सहज जित, धोनीको विस्फोटक ब्याटिङले टारेन हार

बिजमाण्डू
२०८१ बैशाख ८ गते ०७:२१ | Apr 20, 2024
चेन्नइमाथि लखनउको सहज जित, धोनीको विस्फोटक ब्याटिङले टारेन हार
लखनउविरुद्ध ब्याटिङमा चेन्नइका महेन्द्रसिंह धोनी र रवीन्द्र जडेजा। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ। लखनउस्थित अटल विहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा लखनउले चेन्नइलाई ८ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले २ विकेट गुमाएर अन्तिम ओभर बाँकी छँदा लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङमा उत्रिएको चेन्नइका लागि ओपनर अजिंक्य रहाणेले ३६ रन बनाउँदा अर्का ओपनर रचिन रवीन्द्र डकआउट भएका थिए। त्यस्तै कप्तान रुतुराज गायकवाडले १७ रन बनाउँदा मोइन अलीले ३० रन बनाए।

चेन्नइका लागि रवीन्द्र जडेजाले सर्वाधिक अविजित ५७ रन बनाउँदा महेन्द्रसिंह धोनी ९ बलमा ३ चौका र २ छक्काको सहायतामा २८ रन बनाउँदै अविजित रहे।

बलिङतर्फ लखनउका क्रुणाल पाण्ड्याले २ विकेट लिँदा मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कस स्टोइनिसले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउका ओपनर क्विन्टन डिकक र केएल राहुलले पहिलो विकेटकै लागि १३४ रनको साझेदारी गर्दा लक्ष्य भेट्टाउन मुस्किल परेन। कप्तान समेत रहेका राहुलले सर्वाधिक ८२ रन बनाउँदा डि ककले ५४ रन बनाए। त्यस्तै निकोलस पुरन २३ र मार्कस स्टोइनिसले ८ रन बनाउँदै अविजित रहे।

बलिङतर्फ चेन्नइका मुस्तफिजुर रहमान र मथिस पथिरानाले समान १ विकेट लिए।

जितसँगै लखनउ ८ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। समान अंकसहित चेन्नइ तालिकाको तेस्रो स्थानमा छ।

आईपीएलमा आज सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स दिल्लीमा पौने ८ बजे आमनेसामने हुनेछन्।