काठमाडौं। पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने सुन तस्करीमा भरियाका रूपमा भारतीय नागरिक सबैभन्दा धेरै प्रयोग हुने गरेको देखिएको छ। तीन महिनाको अवधिमा ठूलो परिमाणमा विमानस्थलबाट प्रहरी, भन्सार कार्यालयले सुन तस्करीमा भारतीय नागरिक नै धेरै पक्राउ गरेको देखिन्छ। उनीहरूको साथबाट आधा किलोदेखि दुई किलोसम्म सुन बरामद भइरहेको छ।
६१ किलो र भेपभित्रको ९ किलो सुन प्रकरणमा चिनियाँ नागरिकहरूको संलग्नता खुलेको थियो। यी प्रकरणमा केही चिनियाँ नागरिक पक्राउ पनि परे। त्यसपछि अध्यागमन, भन्सार र प्रहरीले चिनियाँ नागरिकको विमानस्थलबाट हुने गतिविधिलाई विशेष निगरानीमा राखेर सुरक्षा योजना बनायो। त्यसैको असर अहिले सुन तस्करीका भरिया चिनियाँ छाडेर भारतीय नागरिक प्रयोग हुन थालेको देखिएको हो।
शुक्रबार पनि प्रहरीले एक भारतीय नागरिकलाई सुनसहित पक्राउ गरेको थियो। उनको साथबाट प्रहरीले ८४० ग्राम सुन बरामद गरेको थियो। भारतीय महिला सहिना प्रवीनले ल्याएको ८५० ग्राम सुन बरामद भएको हो। विमानस्थलको आगमन गेट नजिकै प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन बरामद भएको थियो। उनले प्लास्टिकले बेरेर सुन ल्याएकी थिइन्। बैंककबाट थाई एयरलाइन्समा आएकी उनी भन्सार क्षेत्र क्रस भएपछि प्रहरीले पक्राउ गरेको थियो।
‘केही समय भारतीय देखिएका छन्। हामीले यस विषयमा अनुसन्धान र सम्बन्धी निकायलाई बुझाएका छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी कृष्णहरि शर्माले भने।
त्यस्तै बुधबार पनि भारतबाट आएको एयर इन्डिगोको विमानमा सुन भेटिएको थियो। विमानभित्र बेवारिसे अवस्थामा भेटिएको झोलाभित्र सुन भेटिएको थियो। यात्रु उत्रिएपछि विमान कर्मचारीले चेक गर्दा विमानमा सामान भेटिएको हो। तर विमानमा आएका यात्रुलाई खबर गर्दा उनीहरूले सामानको दाबी गरेनन्। त्यसपछि विमानस्थल प्रहरीलाई सामान जिम्मा लगाएपछि हेर्दा सुन भेटिएको हो। प्रहरीको दाबी अनुसार सुन पक्राउ पर्ने डरले ल्याएको मानिसले छोडेर भागेको हुन सक्ने सम्भावना छ।
त्यसो त सुन तस्करले विमानका कर्मचारीसँग मिलेर पनि सुन तस्करी गर्ने गर्छन्। यात्रुले सुन ट्वाइलेट वा सिटमा छोड्ने, अनि कर्मचारीले विमानस्थलबाट बाहिर ल्याउने। अहिले प्रहरी र भन्सार कार्यालयले यसको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। विमानमा आएका यात्रु पनि अनुसन्धानको घेरामा छन्।
एसएसपी शर्माले सुन प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिए।
तस्करीमा पटक पटक भारतीय प्रयोग
गत फागुन १२ गते पनि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी थिइन्। लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफीको तीन वटा प्याकेटमा रहेको ७४० ग्राम गरी जम्मा १ किलो ४४० ग्राम सुनसहित ३७ वर्षीया तसलिम सुलताना बुस्रालाई प्रहरीले पक्राउ गरेको थियो।
उनी नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन। विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा सुन फेला परेको हो। नेपालबाट आउने अवैध सुन धेरैजसो दुबई, चीन र हङकङबाट आउने गरेको देखिन्छ।
उनी समातिएको दुई दिनअघि (फागुन १०) गते एक भारतीय नागरिक यसैगरि सुनसहित समातिएका थिए। इन्डिगो एयरलाइन्सबाट दुबईबाट मुम्बई हुँदै काठमाडौं आएका ३५ वर्षीय मोहम्मद जीसालाई प्रहरीले आगमन एरियाबाट नियन्त्रणमा लिएको थियो। उनले लगाएको जिन्स पाइन्ट, कालो रङको गन्जी र खरानी रङको भित्री वस्त्रमा दुई किलो २१० ग्राम सुन फेला परेको थियो।
भारतीय नागरिकलाई भरिया बनाएर सुन ल्याउने शैली यतिमा नै रोकिएको थिएन। मोहम्मदभन्दा तीन दिन अगाडि ८५५ ग्राम सुनसहित अर्का भारतीय नागरिक समातिएका थिए। ३५ वर्षीय सरिफ अहमद अब्दुल गफुर फ्लाई दुबई विमानबाट दुबई हुँदै उनी काठमाडौं आएका थिए। तीन वटा पोका बनाएर उनले सुन ल्याएको देखिन्छ।
अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएको छ। नेपालमा पनि तोलाको १ लाख ४० हजार छुन खोजिसकेको अवस्था छ। भारतमा झनैं सुनको माग बढी छ। त्यस्तै विदेशबाट आएको तस्करीको सुन नेपाल हुँदै भारतसम्म पुग्ने गरेको देखिन्छ। तस्करहरूले सुन नेपालसम्म ल्याउन र त्यसपछि भारत लैजान भारतीयलगायत नेपाली नागरिकलाई प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्छ।
कुनै समय तस्करीले सुडानी नागरिकलाई भरिया बनाएर सुनको कारोबार गर्ने गरेका थिए। त्यसपछि प्रहरीले सुडानी नागरिक माथि विमानस्थलमा विशेष निगरानी बढाएसँगै भरिया फेरिए। अहिले पछिल्लो समय भारतीय नागरिक ठूला तस्करीका सुनमा समातिन थालेका छन्।