चिया निकासीमा भारतको अवरोधः दश वर्षमा पुरानै नियम दोहोर्‍याउँदा तीन अर्बको कारोबार संकटमा

अनन्तराज न्यौपाने
२०८१ बैशाख ७ गते २२:११ | Apr 19, 2024
चिया निकासीमा भारतको अवरोधः दश वर्षमा पुरानै नियम दोहोर्‍याउँदा तीन अर्बको कारोबार संकटमा
फाइल फोटो

विराटनगर। भारत सरकारले नेपालबाट निर्यात हुने चियामा शुक्रबारदेखि अवरोध सृजना गरेको छ। निर्यात हुने चियाको प्रत्येक ट्रकको नमुना परीक्षण गराउनुपर्ने नयाँ प्रावधान ल्याएपछि निकासीमा अवरोध उत्पन्न भएको हो।

Tata
GBIME
Nepal Life

भारत सरकारले ल्याएको नयाँ प्रावधान जारी नै रहे वार्षिक ३ अर्बको निर्यात अवरुद्ध हुनेछ।

नेपाल चिया उत्पादक संघका निवर्तमान अध्यक्ष सुरेश मित्तलका अनुसार यसअघि कुनै पनि निर्यातकर्ताले एक पटक नमुना परीक्षण गराएपछि त्यसको रिपोर्टका आधारमा ६ महिनासम्म निर्यात गर्न सक्थे। तर भारतले अब शुक्रबारदेखि अर्कै प्रावधान लागू गरेको हो। निर्यातकर्ताले अब प्रत्येक ट्रकको नमुना परीक्षण गराउनुपर्ने छ।

‘चियाको ट्रक नेपालबाट जाँचपास भई भारतीय सरहदमा पुगेपछि भारतीय भन्सारले सबैभन्दा पहिले निर्यातको कागज इन्ट्री गर्दछ। अनि प्रत्येक ट्रकबाट चियाको नमुना निकालेर परीक्षणका लागि कोलकाता पठाउनुपर्छ। परीक्षणको रिपोर्ट आउन १० दिन लाग्छ। चिया निर्यात हुने काँकडभिट्टा र विराटनगर नाकाबाट चिया परीक्षण गर्ने सबैभन्दा नजिकको भारतीय प्रयोगशाला कोलकातामा मात्र छ,’ मित्तलले बिजमाण्डूसँग भने, ‘चियाको नमुना कोलकाता पुर्‍याउँदा, नमुनालाई १० दिन प्रोसेसिङ गर्दा र परीक्षणको प्रतिवेदन ल्याएर भारतीय भन्सारलाई बुझाउँदा १५ दिन भइसकेको हुन्छ।’

१५ दिनसम्म डिटेन्सन राख्दा एउटा ट्रककै खर्च २५ हजार भारतीय रुपैयाँ लाग्ने मित्तल बताउँछन्। यसबाहेक कोलकातामा एउटा नमुनाको परीक्षण गरेको शुल्क २५ हजार भारतीय रुपैयाँ नै छ। एक ट्रक चियाको नमुना परीक्षण गराउँदा ५० हजार भारतीय रुपैयाँ खर्च थपिने छ।

एक ट्रकमा सरदर १० हजार किलो चिया हुन्छ। नयाँ प्रावधानले प्रतिकिलो ८ रुपैयाँले खर्च बढ्ने छ। १५ दिनसम्म चियाको ट्रकको सुरक्षामा पनि प्रश्न हुने मित्तलले बताए। चिया पानी पसेर भिज्नेलगायतका समस्या पनि हुन सक्नेछन्।

दश वर्षअघि पनि भारतले यस्तै नियम लगाएको थियो। त्यति बेला ट्रकबाट चिया चोरी हुने, ट्रकमा राखेको चिया भिज्ने समस्या भएका थिए।

मित्तलले चियाको मूल्य प्रत्येक दिन घटबढ हुने भन्दै १५ दिनपछि मूल्यमा ह्रास आयो भने आयातकर्ताले खरिद सम्झौता रद्द पनि गरिदिन सक्ने जोखिम रहेको उल्लेख गरे। मित्तलले सीटीसी र ग्रिन टी गरी नेपालबाट भारततर्फ प्रत्येक वर्ष तीन अर्बभन्दा बढीको निर्यात भइरहेको जानकारी दिए।

उनले भने, ‘भारतले ल्याएको नयाँ प्रावधानलाई संशोधन गरेर सहज नबनाउने हो भने नेपालबाट त्यसतर्फ निर्यात सम्भव छैन। कुनै उद्योगी र निर्यातकर्ताले पनि पठाउन सक्तैनन्। वार्षिक ३ अर्बको निर्यातमा बिर्को लाग्छ।’

चैतमा पत्ती टिपेर उत्पादन गरिएको चिया राम्रो गुणस्तरको मानिन्छ। भारत सरकारले यही चैतको चियाको आन्तरिक उत्पादन र बजारलाई संरक्षण गर्न नेपालको चियालाई अवरोध पुर्‍याएको उद्योगीको विश्लेषण छ। निर्यात रोकिँदा श्रमिकलाई भुक्तानी प्रक्रियामा असर पर्ने पनि मित्तलले बताए।  

साना-ठूला गरी नेपालका तराई क्षेत्रमा मात्रै ३० वटा चिया उद्योग छन्। चियामा दशौँ हजार परिवार आश्रित छन्।

भारतले एक वर्षअघि नै शतप्रतिशत नमुना परीक्षणको नियम ल्याउन खोजेको र यस पटक सफल भएको बताए।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भारतले प्रत्येक ट्रकको नमुना परीक्षण गराउनु पर्ने नियम जारी गरेपछि आफूले शुक्रबार साँझ भारतीय समकक्षीसित बैठक गरेको जानकारी दिए। प्रमुख रेग्मीले नेपालको चियालाई पहिलेझैँ निर्यात हुन दिन भारतीय अधिकारीलाई अनुरोध गरेको बताए।

रेग्मीले भने, ‘तर भारतीय अधिकारीहरूले केन्द्रीय प्रणालीबाट शतप्रतिशत परीक्षण गराउनुपर्ने भनी परिपत्र भएको भन्ने उत्तर दिएका छन्।’

भन्सार विभागका अनुसार नेपालबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ अर्ब ७ करोड मूल्यको चिया भारत निर्यात भइसकेको छ। चैतमा पत्ती टिपेर उत्पादन गरिएको चिया निर्यात सहज भएमा चालु आर्थिक वर्षमा भारततर्फ ३ अर्बभन्दा बढीको निर्यात हुने उद्योगीको भनाइ छ।