सुजुकीको नयाँ ब्रेजासँग टेस्ट ड्राइभमा कीर्तिपुर, इभीसँग कसरी गर्ला प्रतिस्पर्धा ?

शुक्र गिरी
२०८१ बैशाख ७ गते १६:०० | Apr 19, 2024
सुजुकीको नयाँ ब्रेजासँग टेस्ट ड्राइभमा कीर्तिपुर, इभीसँग कसरी गर्ला प्रतिस्पर्धा ?

काठमाडौंको सडकमा सुजुकीको गाडी गुड्नु कुनै नौलो होइन। वर्षौंदेखि सुजुकीले आफूलाई नेपालको सडकमा स्थापित गराइरहेको छ। सेतो, कालो र कालो रंगको समिश्रणको सुजुकीको ट्याक्सी सहरी क्षेत्रमा चलेको धेरै भइसक्यो।

Tata
GBIME
Nepal Life

लक्जरी कारसमेत निर्माण गर्दै आएको सुजुकीले कुनै समय नेपाली अटोमा राज गरेको थियो। कुनै बेला नेपालमा नम्बर वान ब्राण्ड रहेको यो सुजुकीले अहिले जिम्नीको नयाँ भर्सनदेखि सुजुकी भितारा र ब्रेजा नेपाली बजारमा उतारेको छ। ब्रान्ड जापानिज, तर नेपाल आउने गाडी भने सबै भारतमा उत्पादनमा हुन्छन्।

योपटक आइकनिक ‘एस’ लोगो सहितको सुजुकीको नयाँ मोडलको सुजुकी ब्रेजाको टेस्ट राइडमा कीर्तिपुरतिर मोडिएका छौं। सुजुकीको प्रिजेन्स मोडल गाडी पहिलादेखि नै देखिरहेकाहरुलाई ब्रेजाको लुक उस्तै लाग्न सक्छ। तर, प्रविधि र कम्फर्टको हिसाब गर्ने हो भने नयाँ मोडलको ब्रेजा पहिलाकोभन्दा निकै ‘अपडेटेड’ छ।

विद्युतीय गाडीसँग काठमाडौं वरिपरिको टेस्ट ड्राइभ गरिरहँदा इन्धनको गाडीको टेस्ट ड्राइभ गर्दा पक्कै फरक महसुस हुने नै भयो। तर, विद्युतीय गाडीमा हाल उपलब्ध फिचरहरुलाई सुजुकीले आफ्नो यो मोडलमा समावेश गर्ने केही प्रयास भने गरेको देखिन्छ।

ब्रेजाको अटोमेटिक र म्यानुअल सिस्टममा आधारित दुवै मोडल बजारमा उपलब्ध छ। कीर्तिपुरको उकालो लाग्न भने म्यानुअल सिस्टममा चढ्ने गाडी हाम्रो रोजाइ बन्यो। स्मार्ट र इन्सट्यान्ट भइरहेको अटो बजारमा अहिले म्यानुअल गाडी पाउनै गाह्रो पर्छ। तर, परम्परगत रुपमा म्यानुअल कार ड्राइभ गर्दाको थ्रिल छुट्टै छ। ब्रेजाको ड्राइभमा हामीले त्यही थ्रिल महसुस गर्ने प्रयास गर्‍यौं।

थापाथलीबाट जावलाखेल हुँदै रिङरोडको स्पिड लिमिट पालना गर्दै बल्खुबाट कीर्तिपुरको भित्री बस्तीसम्म पुग्दा ब्रेजाको साउन्ड सिस्टमले यात्रालाई ‘बोर’ हुन दिएन। पहिलाको मोडलमा इन्फोटेन्टमेन्टका लागि अक्स वायर वा युएसबी पोर्ट प्रयोग गर्नु पर्थ्यो। यो मोडलमा त्यस्तो झनझट् गरिरहनु नै परेन। गाडीमा रहेको डिस्प्लेबाटै स्मार्टफोन कनेक्ट गरेर इन्फोटेन्मेन्टदेखि कल र मेसेज हेर्ने व्यवस्था ब्रेजामा छ।

गर्मी र प्रदूषण काठमाडौंमा अचाक्ली बढिरहँदा गाडीको एसीले राहत दियो। एसीको अटोमेटिक कन्ट्रोलको सुविधा ब्याक सिटका पेसेन्जरले समेत पाउँदा यात्रा सहज हुने रहेछ। अन्य गाडीमा जस्तै फ्रन्ट सिटमा बस्नेका लागि वायरलेस चार्जरको फिचर यसमा पनि छ। यसको नौलो पक्ष भनेको ब्याक सिटमा बस्नेलाई मोबाइल चार्ज गर्न फास्ट चार्जिङ युएसबी पोर्ट पनि फिचर हो।

यसमा पनि ‘हेड अफ डिस्प्ले’को सुविधा छ। जसले ड्राइभ गरिरहेको व्यक्तिले क्लस्टरमा देखिने सबै कुरा सिधै आफ्नो अगाडि स्क्रिनमा हेर्न सक्छ।

बाघभैरव मन्दिरसम्म गाडीको राइड गरिरहँदा ब्रेजा फिचरसँगै कम्प्याक्ट भएको पनि महसुस भयो। काठमाडौंको साना सडकमा पनि यसले राम्रै पर्फर्मेन्स दिन सक्छ। ब्रेजामा भएको नयाँ फिचर ३६० डिग्री क्यामेराले सडक सुरक्षालाई थप सहज बनाउँछ।

ब्रेजाको पावरट्रेनको कुरा गर्ने हो भने यसमा १ हजार ४६२ सीसीको पेट्रोल इन्जिन छ। सुजुकीको नयाँ के१६सी प्लेटफर्ममा यो निर्माण गरिएको हो। यसमा भएको इन्जिनले १०१ हर्सपावर र १३६ एनएम टर्क उत्पादन गर्छ। यो गाडीले प्रति लिटर २० किलोमिटरसम्म माइलेज दिन्छ। यहाँ याद गर्नुपर्ने कुरा चाहिँ ब्रेजाको स्मार्ट हाइब्रिड भेरियन्ट पनि बजारमा उपलब्ध छ।  

ब्रेजाको ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ जुन नेपालको सडकको लागि निकै राम्रो हो। कीर्तिपुरको सानो बाटो उक्लिँदै गर्दा कुनै अवरोध भएन। लेगरुमको कम्फर्टले टेस्ट राइड गर्न हिँडेकालाई उकुसमुकुस हुन दिएन।

सुजुकीको ब्रेजालाई ‘फेमिली कार’ भन्दा फरक नपर्ला। सहरबाट बिदामा लङ ड्राइभका लागि यो गाडी पर्फेक्ट देखिन्छ। तर, अहिले विद्युतीय गाडीले बजारमा आफूलाई स्थापित गरिहरँदा ब्रेजाले आफूलाई कसरी प्रतिस्पर्धामा उतार्ला त?