सन्दीप जोराको भरमा नेपालको ब्याटिङ, यूएईसामु सामान्य लक्ष्य पेस

बिजमाण्डू
२०८१ बैशाख ७ गते १३:३५ | Apr 19, 2024
सन्दीप जोराको भरमा नेपालको ब्याटिङ, यूएईसामु सामान्य लक्ष्य पेस
यूएईविरुद्ध ब्याटिङमा सुन्दिप जोरा। तस्बिर: एसीसी

काठमाडौं। नेपालले यूएईसामू सामान्य लक्ष्य प्रस्तुत गरेको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज जारी पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईलाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको हो। नेपालको ब्याटिङ सन्दीप जोरामा पूर्णतय निर्भर बन्यो।

Tata
GBIME
Nepal Life

ओमनस्थित अल अमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले यूएईको कसिलो बलिङ सामू निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै संघर्ष गर्‍यो। ओपनर कुशल भुर्तेल रोयल डकआउट हुँदा दबाबमा आएको नेपालले आफ्नो पक्षमा मोमेन्टमा ल्याउन सकेन।

अर्का ओपनर आशिफ शेख पनि ३.३ ओभरमा ८ रन बनाएर ओमिद साफी रहमानको बलमा आउट भए। त्यस्तै, १८ बलमा मात्र ५ रन बनाएर कप्तान रोहित पौडेल आउट हुँदा नेपाल ६.६ ओभरमा ३८.३ को अवस्थामा थियो।

नेपाली ब्याटरलाई सामान्य स्कोरमै समेटेका यूएईका बलर। तस्बिर: एसीसी

लगत्तै आएका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्। मल्लले ३ र ऐरीले ५ रन बनाए।

सुरुबाटै संकटमा परेको नेपालको इनिङ्सलाई माथि लग्न सुन्दीप जोराको एकल प्रयास रहँदा उनलाई सहयोग गर्न अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्।

जोरा ४० बलमा सर्वाधिक ५० रन बनाएर १४.४ ओभरमा मोहम्मद फारुकको बलमा कप्तान मोहम्मद वसीमबाट क्याचआउट भए। लगत्तै आएका सोमपाल कामी पनि दुई रन बनाएर पेभेलियन फर्किए।

नेपालको स्कोर उकास्न जोरा पछि गुल्सन झा र करण केसीको योगदान रह्यो। झाले १६ बलमा २० रन बनाउँदा करण केसीले १२ बलमा १७ रन बनाए।

नेपालको ब्याटिङ धराशायी बनाउन यूएईका जुनैद सिद्धिकी, अली नासर र बसील हमीदले समान २ विकेट लिँदा ओमिद सफी रहमान, आयन अफ्जल खान र मोहम्मद फारुकले समान १ विकेट लिए।

यूएई जवाफी ब्याटिङमा उत्रिएको छ। आजको विजेता टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोली बाहिरिनेछ। प्रतियोगिताको च्याम्पियन टोलीले एसिया कप खेल्ने अवसर पाउनेछ।