सरकारप्रति आक्रामक ढकाल, ‘हाम्रो प्रेस्क्रिप्सन लत्याउँदा अर्थतन्त्रको समस्या गहिरियो’

बिजमाण्डू
२०८१ बैशाख ७ गते ०९:२५ | Apr 19, 2024
सरकारप्रति आक्रामक ढकाल, ‘हाम्रो प्रेस्क्रिप्सन लत्याउँदा अर्थतन्त्रको समस्या गहिरियो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीले अर्थतन्त्र सुधार सम्बन्धी ‘प्रेस्क्रिप्सन’लाई सरकारले बेवास्ता गर्दा समस्या गहिरिएको आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

‘हामीले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि प्रेसक्रिप्सन सरकारलाई दिएका थियौं। ती प्रेसक्रिप्सन उद्योगी व्यवसायीको फाइदाका लागि होला भन्ने सोच सरकारमा बस्नेहरुलाई भयो,’ फर्चुना हेल्थकेयर प्रालिको उद्घाटनका अवसरमा उनले भने, ‘अर्थतन्त्रको संकट गहिरिएपछि बल्ल मुलुकमा लागि रहेछ भन्ने अनुभूत गर्न थालिएको छ।’

उनले उद्योगी व्यवसायीलाई राज्यदेखि सर्वसाधारणसम्म गलत बुझाई रहेको बताउँदै भने, ‘निजी क्षेत्रको लगानीले रोजगारीदेखि राजस्व निर्माण हुने हो। त्यही उठेको पैसाले पूर्वाधार लगायतका क्षेत्रमा लगानी हुन्छ भन्ने बुझ्नुपर्छ।’

ढकालले निजी क्षेत्रलाई नियमनका लागि एकपछि अर्को संस्था खडा गरेर लगानीमा हतोत्साहित गर्ने काम भएको दाबी पनि गरे।

‘नियमन हुनु हुँदैन भन्ने होइन। गुणस्तरमा सम्झौता गर्न मिल्दैन। तर, अनावश्यक रुपमा नियमन गरेर उद्योगी व्यवसायीलाई हतोत्साहित गर्ने काम हुनुहँदैन,’ उनले भने, ‘हामी राज्यका अंग हौं। त्यही अनुसार सरकारका नीति नियम पनि सहयोगी बन्नुपर्छ।’

ढकालले स्वास्थ्य क्षेत्रमा समेत अनावश्यक नियमन र संख्या तोक्ने काम भएको जिकिर गर्दै निजी क्षेत्रको लगानी बिना स्वास्थ्य क्षेत्र गुणस्तरीय बन्न सम्भव नहुने बताए।

‘स्वास्थ्य पूर्वाधारमा निजी क्षेत्रले अर्बौं लगानी गरेको छ। हामीसँग विस्तारै डाक्टरदेखि नर्ससम्म अभाव हुने अवस्था आइसकेको छ,’ ढकालले भने, ‘तर अहिले हामी संख्या तोकेर बसिरहेका छौं। गुणस्तरीय भएका स्वास्थ्य संस्थामा संख्या तोकेर बस्नुको अर्थ के हो?’