ओलीले नचाहेका सोडारीलाई प्रदेश सरकारको नेतृत्व दिन कसरी तयार भयो एमाले ?

नेत्र तामाङ
२०८१ बैशाख ६ गते १९:४८ | Apr 18, 2024
ओलीले नचाहेका सोडारीलाई प्रदेश सरकारको नेतृत्व दिन कसरी तयार भयो एमाले ?
दीर्घ सोडारी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिने सहमति सत्ता गठबन्धनले बालुवाटारमा गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रुष्ट बने।

Tata
GBIME
Nepal Life

नेपालले आफू कति रुष्ट छु भन्ने कुरा वैशाख २ गते मुख्यमन्त्रीमा दाबी पेस गर्ने बेला देखाए। उनले आफ्ना पार्टीका सांसदलाई कैलाशको पक्षमा उभ्याएनन्, नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउनका लागि हस्ताक्षर गर्न लगाए।

लक्ष्मणकिशोरलाई कांग्रेसका १८, नागरिक उन्मुक्तिका ५, एकीकृत समाजवादीका ४ र स्वतन्त्र एक सांसद्को साथ थियो।

कैलाशले आफूलाई नागरिक उन्मुक्तिका सातै सांसदको समर्थन रहेको भन्दै एमाले र माओवादी केन्द्रका १०/१० सांसदको नामसहित मुख्यमन्त्रीमा दाबी पेस गरे।

एउटै पार्टीबाट २ जनाको दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले कुनै निर्णय लिएनन्।

एकीकृत समाजवादी कांग्रेससँगको गठबन्धनमा गएपछि बालुवाटार र बालकोटमा पराकम्प गयो। प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ४ गते एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई बालुवाटारमा बोलाए। खनालले मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राख्दै त्यसो भए मात्र सुदूरपश्चिममा कांग्रेससँगको गठबन्धनबाट ब्याक हुने बताए। दाहालले ग्रिन सिग्नल दिए।

दाहाल-खनाल भेट लगत्तै एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख मियाँलाई भेटेर लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिए।

लगत्तै प्रदेश प्रमुख मियाँले लक्ष्मणकिशोर र कैलाश एउटै पार्टीका भएकाले उनीहरुको दाबीमा निष्कर्षमा पुग्न नसकेको भनी फेरि २ दिनको समय दिए।

खनालसँग भएको सहमति अनुसार दाहालले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीलाई मनाए। सोडारी ५ गते मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा थिए।

तर एमालेले उनलाई समर्थन नगर्ने बरु अर्को पात्र खोज्नतिर लाग्ने संकेत गर्‍यो। एमाले अध्यक्ष केपी शर्मा ओली सोडारीसँग विभिन्न कारण रुष्ट थिए। अढाइ वर्षअघि एमाले फुट्दा सोडारीले सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ सदस्यमध्ये १४ जना एकीकृत समाजवादीमा लगेका थिए। यसले ओली सोडारीसँग चिढिएका थिए।

पार्टी विभाजनअघि २०७७ मा सोडारी सुदूरपश्चिमको सामाजिक विकासमन्त्री थिए। त्यतिबेला उनले एक महिलासँग अश्लील कुराकानी गरेको प्रमाण ओलीकहाँ पुगेको थियो। यिनै कारण ओली सोडारीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिन नहुने पक्षमा थिए।

एमालेको अलमलले मुख्यमन्त्रीमा दाबी पेस गर्न नपाएको गुनासो सोडारीले पार्टी अध्यक्ष नेपाललाई गरे। त्यसपछि नेपालले सचिवालय बैठक राखेर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय मात्र गरेनन्, बुधबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटे। देउवाले सहयोगको बचन समेत दिए।

यो जानकारी ओलीले पनि पाए। देउवासँग नेपालको त्यही भेटले ओली झस्किन पुगेको एकीकृत समाजवादीका एक नेताले बताए। झापामा रहेका ओलीलाई प्रधानमन्त्री दाहालले पनि मनाउने काम गरे।

सुदूरपश्चिममा दायाँबायाँ भए केन्द्रमा पनि एकीकृत समाजवादीको भर नहुने दाहालको भनाइपछि ओली अन्तिममा राजी भए। एमालेले बिहीबार दिउँसो सोडारीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने निर्णय गर्‍यो।

सोडारी एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन्।

राजनीतिमा यस्तो घटना भइरहने एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका उपनेता प्रकाश रावल बताउँछन्। ‘राजनीतिमा यस्तै त हो नि,’ रावलले बिजमाण्डूसँग भने।