दुई दिने लगानी सम्मेलनमा यी विषयमा हुनेछ छलफल, कस्तो चलिरहेको छ तयारी ?

बिजमाण्डू
२०८१ बैशाख ३ गते १२:३४ | Apr 15, 2024
दुई दिने लगानी सम्मेलनमा यी विषयमा हुनेछ छलफल, कस्तो चलिरहेको छ तयारी ?

काठमाडौं । काठमाडौंमा वैशाख १६ र १७ गतेका तेस्रो लगानी सम्मेलन हुँदैछ। सम्मेलन हुने दिन नजिकिएसँगै तयारीहरु तीव्र गतिमा भइरहेका छन्। दुई दिने सम्मेलनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ।

Tata
GBIME
Nepal Life

लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र संचालन हुनेछन्। ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ।

दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ।

दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरि तीन प्यानलमा छलफल हुनेछ।

त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ।

तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिनेछ।

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुँदैछ। सम्मेलनका लागि १५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ। यसअघि लगानी बोर्डले १२५ वटा आयोजना ‘सोकेस’मा लैजाने तयारी गरिहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहकासमेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

‘निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाटसमेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर १५० हाराहारी पुगेका छन्। निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरुकै जनशक्ति खटाइनेछ,’ उपाध्यायले भने, ‘कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधितम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ।’

लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहने गरि तयारी भइरहेको पनि उनले बताए।

सम्मेलनका लागि अब १२ दिन मात्रै बाँकी छ। सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयम्सेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्व तयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिए। आइतबार बेलुकासम्ममा ३१ देशका १६० भन्दा बढी अतिथि सम्मेलनमा आउने तय भइसकेको बोर्डले जनाएको छ।

लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए। सम्मेलनका क्रममा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी-२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ।

त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ।

सम्मेलनमार्फत् विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ। त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा लगिँदैछ।