घरजग्गामा बैनामाथि बैनाको व्यापार सकियो, संकटबाट जोगिन कमिसन दिएर बेच्ने भने बढे

उन्नत सापकोटा
२०८१ जेठ १२ गते १८:३० | May 25, 2024
घरजग्गामा बैनामाथि बैनाको व्यापार सकियो, संकटबाट जोगिन कमिसन दिएर बेच्ने भने बढे

काठमाडौं। ललितपुरको इमाडोल क्षेत्रमा रहेको ४ आना जग्गा एक व्यक्तिले प्रति आना २७ लाख रुपैयाँमा किन्न जग्गाधनीसँग बैना गर्छन्। २ महिनाभित्र पास गर्ने गरी उनले २५ लाख रुपैयाँ बैना धनीलाई बुझाउँछन्। महालक्ष्मी नगरपालिकामा पर्ने सो जग्गालाई प्रति आना ३२ लाख रुपैयाँसम्म हाल्न तयार ग्राहक नयाँ धनीले भेट्छन्।

Tata
GBIME

बैना मात्रै लिएर जग्गा नै पास नगरिसकेको अवस्थामा प्रति आना ५ लाख रुपैयाँ बढीमा ग्राहक भेटेपछि उनले ती ग्राहकबाट ३५ लाख रुपैयाँ बैना लिएर जग्गा बेच्ने निधो गर्छन्। २ महिना पनि नपुग्दै जग्गाको भाउ प्रति आना ५ लाख रुपैयाँ बढिसकेको छ। यो क्रम यहीँ रोकिंदैन।

प्रति आना ३५ लाख रुपैयाँ हालेका व्यक्तिले अर्को डेढ महिना पनि नपुग्दै ४२ लाख रुपैयाँ प्रति आना हाल्न तयार खरिदकर्ता भेट्छन्। आफूले लिएको रेटभन्दा थप ७ लाख बढीमा बैना गर्ने भेटेपछि पछिल्लो धनी पनि जग्गा बेच्न तयार भए। ४ महिना पनि नबित्दै जग्गाको भाउ प्रति आना २७ लाखबाट बढेर ४२ लाख रुपैयाँ पुगेको छ।

यो इमाडोल क्षेत्रको मात्रै होइन काठमाडौंसहित देशका अरु सहरी क्षेत्रमा बैनामाथि बैना हुँदा कसरी घरजग्गाको भाउ अचाक्ली चर्किएको भन्ने देखाउँछ। दुई वर्षअघिको यो प्रवृत्ति अहिले ठप्पनै छ। केही वर्षअघि भइरहेको बैनामाथि बैना अहिले रोकिएको छ।

कुनै व्यक्तिले १ करोड रुपैयाँमा जग्गा किन्न बैना गर्छ। किनेको ३ महिनामा पास गर्ने वाचा गर्दै २५ लाख रुपैयाँ बैना बुझाउँछ। पास गर्ने समय नघर्किंदै २ महिनामै अर्को कोही व्यक्तिले त्यही जग्गा १ करोड २५ लाख रुपैयाँ दिने भन्दै बेच्न अफर गर्छ। बिक्रेतालाई त ठाउँको ठाउँ २५ लाख थप फाइदा हुन्छ।

वडाले पनि बैनामाथि बैना गर्नलाई बन्देज लगाउँदैन। सम्बन्धित वडाले त्यसलाई प्रमाणित गर्छ। घरजग्गा कारोबारमा आएको कमी र खरिदकर्ता भेट्नै मुस्किल पर्दा घरजग्गामा बैनामाथि बैना हुने लगानी रोकिएको एक व्यवसायीले बताए।

‘बैनामाथि बैना गैरकानुनी त होइन तर यसले घरजग्गाको अस्वाभाविक मूल्यवृद्धिमा ठूलो भूमिका खेल्छ। छोटो समयमा एउटै घरजग्गाको भाउ तीव्र गतिमा बढ्छ। अहिलेको शिथिलताले बैनामाथि बैना गर्ने क्रम लगभग ठप्पै छ भन्दा पनि हुन्छ,’ ती व्यवसायीले भने।

२ वर्षभन्दा बढीदेखि गहिरिएको संकटका कारण धेरै यस्ता कारोबारी निष्क्रिय छन् भने केही पलायन पनि भएका छन्। जसले घरजग्गा कारोबारलाई व्यावसायिक तथा मर्यादित बनाउन चाहेन उनीहरू नै बजारमा नहुँदा गलत अभ्यास घट्दै गएको एक घरजग्गा व्यवसायी स्वीकार्छन्। उनका अनुसार गलत मनसायबाट हुँदै आएका घरजग्गा कारोबारविरुद्ध उजुरी दिए घरजग्गा नै लामो समयसम्म बिक्री हुन नसक्ने डरले समेत घटना सामसुम भइरहेको बताए।

मुलुकी देवानी संहिता २०७४ लागू भएयता वडा कार्यालयबाट प्रमाणित गराएर मात्रै घरजग्गा किनबेच गर्नुपर्ने कानुनी व्यवस्थाले पनि घरजग्गा क्षेत्रमा रहेका केही विकृति हटाउन सहयोग पुर्‍याएको उनले बताए।

त्यसैगरी, सरकारले घरजग्गा किनबेच अनुमतिप्राप्त व्यक्ति वा संस्थाबाट मात्रै गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न प्रयास गरिरहेकाले यसले कारोबारीहरूलाई सजग बनाएको छ। पछिल्लो समय घरजग्गा खरिदबिक्रीका लागि व्यावसायिक रियलटरकोमा धाउने अभ्यासले पनि विकृति घटाउन मद्दत पुर्‍याएको विश्लेषण हुन थालेको छ।

त्यसैगरी, पछिल्लो समय घरजग्गा कारोबारमा आएको सुस्तताका कारण खरिदकर्ता र बिक्रेता दुवैले कारोबारीलाई दिने कमिसनमा पनि बार्गेनिङ गर्न थालेका छन्।    

‘घरजग्गा नबिकेर बिक्रेता आफैँ तनावमा छन्। त्यसमाथि कारोबारी काम फत्ते भएन भनेर तनावमा छ। कारोबारी बरु कामै नहुनु भन्दा कमिसनमा केही लचक भएर काम सकाउने मुडमा देखिन्छन्,’ ती व्यवसायीले भने।

हुन त सरकारले कमिसनको विषयमा स्पष्ट अंक तोकिदिएको छैन। जसले जति हात पार्न सक्छ सोहीअनुसार घरजग्गा किनबेचको कमिसन उठाउने गरिएको छ। घरजग्गा कारोबारमा छाएको मन्दीका कारण मनलागि उठाइने गरेको कमिसन पनि व्यावसायिक दरमा आउन थालेको व्यवसायी बताउँछन्। त्यसैगरी, ती व्यवसायीका अनुसार घरजग्गा कारोबारका क्रममा हुने अनधिकृत लेनदेनसमेत मन्दीका कारण घटेको जिकिर ती व्यवसायीको छ।

‘मालपोतदेखि स्थानीय तहसम्म घरजग्गाको काम सक्न लेनदेन नगरी सुखै हुँदैन। हामी त्यसको भुक्तभोगी छौं। पछिल्लो समय बजार शिथिल बन्दा अनधिकृत लेनदेन मौलाउन पाएको छैन,’ उनले भने।