
काठमाडौं। चीनबाट ल्याएको ६ अर्ब रुपैयाँ बराबरको आर्मड् पर्सनल क्यारियर (एपीसी) बख्तरबन्द लगायतको सामान २९ करोड रुपैयाँ भन्सार तिरेर जाँचपास भएको छ।
संयुक्त राष्ट्रसंघको मिसनमा खटिने शान्ति सेनाका लागि सो एपीसी ल्याइएको हो। सेनाले ४५ थान एपीसीको लागि २७ करोड ३९ लाख ७१ हजार ६ सय रुपैयाँ राजस्व बुझाएको छ।
त्यस्तै सेनाले एपीसीमा प्रयोग हुने अन्य सामान पनि छुटाएको हो। जसको लागी सेनाले २ करोड १५ लाख ८९ हजार ९ सय रुपैयाँ राजस्व तिरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसबेला चीनबाट २६ वटा एपीसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो।
नेपाली सेनाले कम्पनी ठेक्का मार्फत चिनियाँ कम्पनीसँग खरिद गरेको एपीसी लगायत सामान अहिले टिमुरे भन्सार कार्यालयमाबाट राजस्व दाखिला गरेर छुटाइएको छ। भन्सार कार्यालयमा आइपुगेको झन्डै दुई सातापछि राजस्व बुझाएर सामान छुटाएको हो। केही दिन लगाएर सामान छुटाइएको भन्सार कार्यालयका एक कर्मचारीले बताए।
‘ठेकेदार कम्पनीले राजस्व बुझाएर छुटाइरहेको छ,’ कार्यालयका एक कर्मचारीले भने। आयातकर्ताले आयातित सामग्री भन्सार कार्यालयको गोदाममा तोकिएको अवधिसम्म राख्न र चाहेका बेला घोषणा गरेर जाँच पास गर्न पाउँछ।
नियमअनुसार आयातकर्ताले आयातित सामग्री ६० दिनसम्म गोदाममा राख्न सक्छ। ६० दिनभित्र जाँच पास नगरे भन्सार कार्यालयले उपयुक्त लागेमा समय थप दिन वा ‘सिज’ नै गर्न सक्छ। नेपाली सेनाले नै सामान ल्याएको भन्सारको रेकर्डमा देखिएको छ।
सेनाका लागि २१ वटा एपीसी ल्याउन एलसी खोलिएको थियो। बिजमाण्डूलाई प्राप्त कागजातका आधारमा हिमालयन बैंकबाट सन् २०२४ जनवरी ४ मा एसलसी खोलिएको थियो। सेनाले २१ वटा एपीसीका लागि १ करोड ३ लाख ९९ हजार ५३० अमेरिकी डलर खर्च गरेको छ। ती लगायत अन्य सामानहरु जाँच पास गरेर छुटाइएको हो। ठेकेदार कम्पनीले सामानको ३२ करोड रुपैयाँ भन्सार जाँचपास तिरेको छ।