बजेट सिलिङ ५० अर्ब बढाउन अर्थ मन्त्रालयसँग भौतिक पूर्वाधार मन्त्रालयको माग

बिजमाण्डू
२०८१ बैशाख २ गते १७:३६ | Apr 14, 2024
बजेट सिलिङ ५० अर्ब बढाउन अर्थ मन्त्रालयसँग भौतिक पूर्वाधार मन्त्रालयको माग

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो बजेट सिलिङ ५० अर्ब रुपैयाँ बढाउन माग गरेको छ।

Tata
GBIME
Nepal Life

यसअघिको सिलिङभित्र रहेर निर्माणाधीन आयोजनाको काम गर्न नसकिने भन्दै भौतिक पूर्वाधार मन्त्रालयले सिलिङ ५० अर्ब बढाउन अर्थ मन्त्रालयसँग माग गरेको हो।

राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको सीमाभित्र ल्याउने भन्दै भौतिक मन्त्रालयलाई १ खर्ब २४ अर्ब रुपैयाँको सिलिङ दिएको थियो। यो सिलिङ चालु आवको बजेटभन्दा ९ अर्ब रुपैयाँ कम हो।

मन्त्रालयका सहसचिव भीमार्जुन आधिकारीले यसअघिको सिलिङमा पुराना आयोजनाकै काम गर्न नसकिने भएकाले बढाउन माग गरिएको बताए। ‘हामीले बजेट सिलिङ बढाउन अर्थ मन्त्रालयलाई ३ वटा विकल्प दिएका छौं। ५० अर्ब, ३० अर्ब र १५ अर्ब थप्नुपर्ने विकल्प पेस गरी हामीले त्यही अनुसार कार्यक्रम तर्जुमा गरिरहेका छौं,’ उनले बिजमाण्डूसँग भने।

बजेट सिलिङ बढे केही नयाँ योजना थप्ने मन्त्रालयको तयारी छ। तर अर्थले जवाफ दिइसकेको छैन।

भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा धेरै बजेट काठमाडौं-तराई/मधेस द्रुतमार्ग(फास्ट-ट्रयाक) आयोजनाका लागि मागेको छ। यो आयोजनाका लागि कम्तिमा पनि ३२ अर्ब बजेट चाहिने अधिकारीले बताए।

यस्तै सडक मर्मत सम्भारको बजेट पनि बढाउनुपर्ने मन्त्रालयको माग छ। यो शीर्षकमा हाल १६ अर्ब रुपैयाँ हाराहारी बजेट रहेकामा त्यसबाट अपेक्षित काम हुन नसक्ने भएकाले बढाउनुपर्ने मन्त्रालयको माग छ। सिलिङ बढाउन माग गरेको मन्त्रालयको काम भने निकै सुस्त छ।