विनोद चौधरीको जन्मदिन पारेर नवलपरासीमा हिरोको एसेम्ब्ली प्लान्ट सञ्चालनमा

बिजमाण्डू
२०८१ बैशाख २ गते १६:३० | Apr 14, 2024
विनोद चौधरीको जन्मदिन पारेर नवलपरासीमा हिरोको एसेम्ब्ली प्लान्ट सञ्चालनमा

काठमाडौं। हिरो बाइकको आधिकारिक बिक्रेता चौधरी ग्रुपले नवलपरासीमा निर्माण गरेको एसेम्ब्ली प्लान्ट आइतबार सञ्‍चालनमा ल्याएको छ। सीजी ग्रुपका निर्देशक निर्वाण चौधरीले आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गर्दै हिरोको एसेम्ब्ली प्लान्ट सञ्‍चालनमा आएको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले आफ्नो बुबा विनोद चौधरीको जन्मदिनको अवसर पारेर यो एसेम्ब्ली प्लान्टको सुरुवात गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘आज मेरो बुबाको जन्मदिनको विशेष अवसरमा शाश्वत धाममा आशीर्वादका साथ हामी यहाँ सीजी इन्ड्रस्ट्रियल पार्क नवलपरासीमा सीजी फ्युचर फ्याक्ट्री एसेम्ब्ली प्लान्टको शुभारम्भको घोषणा गर्न पाउँदा हर्षित छौं। यो कोशेढुङ्गा विकास र नयाँ सुरुवातको उत्सव मात्र होइन, उहाँको अटल दूरदृष्टि र नेतृत्वप्रति ट्रिब्युट पनि हो।’

हिरोले नयाँ मोडलसहित नेपाली बजारमा पुनरागमन गर्न लागेको छ। चौधरी ग्रुपको सीजी मोटर्सले ४ वटा मोडलका बाइक तथा स्कुटर एकै पटक लन्च गर्ने तयारी गरेको छ। निर्वाणले आफ्नो फेसबुक पेजमा राखेका फोटोमा पनि एउटा स्कुटर र ३ वटा बाइक गरी ४ वटा मोडल देखिएको छ।

यसअघि १ गते नै हिरोको बाइक तथा स्कुटरहरू नेपाली बजारमा ल्याउने योजना थियो। तर आवश्यक तयारी नपुगेका कारण वैशाख २१ गतेतिर मात्रै हिरोको बाइकहरू बजारमा ल्याउने योजना रहेको सीजी ग्रुपका जीएम मधुसुधन पौडेलले जानकारी दिए।

‘हामीले वैशाख १ गते नै हिरोका उत्पादनहरू नेपाली बजारमा ल्याउने तयारी गरेका थियौं तर विशेष कारणवस् आवश्यक तयारी ढिला भएकाले थोरै समय पर धकेलिने भएको हो,’ उनले भने, ‘त्यही अनुसार हिरोको बाइक र स्पेयर पार्ट्सहरु एकै पटक बजारमा उपलब्ध गराउने गरी अन्तिम तयारी भइरहेको छ।’

एक्सपल्स २०० फोर भी बाइक अपग्रेड गरिएको एडभेन्चर मोडलमा ल्याउने निश्‍चित भएको छ। हिरोको नयाँ जुम स्कुटर पनि नेपाली बजारमा ल्याइने छ। यो स्कुटर गत वर्ष भारतमा सार्वजनिक गरिएको थियो। नेपालमा यसअघि हिरोको प्लेजर स्कुटर भित्र्याइएको थियो।