टेल्जीका इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर, ब्याट्री वारेन्टी ५ वर्ष वा १ लाख किलोमिटरसम्मको

बिजमाण्डू
२०८० चैत्र २७ गते ०८:५४ | Apr 9, 2024
टेल्जीका इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर, ब्याट्री वारेन्टी ५ वर्ष वा १ लाख किलोमिटरसम्मको

काठमाडौं। चिनियाँ दुई पाङ्ग्रे ब्रान्ड टेल्जीले नेपाली बजारमा ५ वर्षसम्मको ब्याट्री वारेन्टी दिने भएको छ। टेल्जीको आधिकारिक बिक्रेता योम मा ई-मोटर्सले इलेक्ट्रिक स्कुटरमा ५ वर्ष वा एक लाख किलोमिटरसम्मको ब्याट्रीमा वारेन्टी दिने घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार बिक्री भएको स्कुटरमा ग्राहकका लागि प्रयोगको ५ वर्ष वा १ लाख किलोमिटर जुन पहिला हुन्छ, त्यसमा वारेन्टी लागू हुने छ। कम्पनीले आयोजना गरेको एक कार्यक्रममा निर्देशक संजीव शिल्पकारले इलेक्ट्रिक स्कुटरको ब्याट्रीमा एक लाख किलोमिटर वारेन्टीको अफर नेपालमा पहिलो भएको दाबी गरे।

‘हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परीक्षण गरेर एक लाख किलोमिटर वारेन्टी दिने भएका हौं। अब ग्राहकहरुले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नेछन्,’ उनले भने।

उनका अनुसार सामान्यतया एक स्कुटरको आयु नै एक लाख किलोमिटर मात्र हुन्छ। कम्पनीले अपडेटसहित ल्याएको टेल्जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एशिलरेशन, ब्राइटर (म्याट्रिक्स) हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की लगायत फिचर रहेको कम्पनीले जनाएको छ।

टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक छ। यसलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ। यो स्कुटरलाई घरमा नै ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ। सँगै की-लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्त्वपूर्ण फिचरहरू समावेश छन्। स्कुटरको मूल्य ३ लाख ३३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

नयाँ वर्ष स्कीममा टेल्जी लायन किन्ने ग्राहकले नगद १८ हजार रुपैयाँ छुटका साथै, एक वर्षको बीमा, सडक कर निःशुल्क प्राप्त गर्नेछन्। यसका साथै हरेक टेल्जी स्कुटरका ग्राहकले लाइफ टाइम नि:शुल्क सर्भिस समेत पाउने कम्पनीले जनाएको छ। कम्पनीले काठमाडौं उपत्यकाभित्र रोड साइड सर्भिसको समेत नि:शुल्क व्यवस्था गरेको छ।