मार्क जुकरबर्ग २०२० पछि पहिलो पटक विश्वकै तेस्रो धनी व्यक्ति, उछिने मस्कलाई

बिजमाण्डू
२०८० चैत्र २६ गते ०९:१५ | Apr 8, 2024
मार्क जुकरबर्ग २०२० पछि पहिलो पटक विश्वकै तेस्रो धनी व्यक्ति, उछिने मस्कलाई
Photo: BLOOMBERG/GETTY IMAGES

मार्क जुकरबर्गले इलोन मस्कलाई पछि पार्दै विश्‍वको तेस्रो धनी व्यक्ति बन्‍न सफल भएका छन्। सन् २०२० पछि पहिलो पटक शुक्रबार जुकरबर्गले मस्कलाई उछिनेका हुन्।

Tata
GBIME
Nepal Life

मस्क मार्चको सुरुवातमा ब्लूमबर्ग अर्बपति सूचकांकको पहिलो स्थानमा थिए। तर रोयटर्सले टेस्ला इंकले कम महँगो कारको योजना रद्द गरेको रिपोर्ट गरेपछि उसको सेयरमा गिरावट आएको थियो। त्यसपछि मस्क चौथो स्थानमा झरेका छन्। यद्यपि, मस्कले भने उक्त रिपोर्टलाई अस्वीकार गरेका छन्।

मस्कको सम्पत्ति यस वर्ष ४८.४ अर्ब डलरले घट्दा जुकरबर्गको नेटवर्थमा ५८.९ अर्ब डलर थपिएको छ। मेटा प्लेटफर्म्स इंकको सेयर शुक्रबार नयाँ रेकर्डसहित नयाँ उचाइमा पुगेसँग जुकरबर्गको सम्पत्ति बढेको हो।

सन् २०२० नोभेम्बर १६ पछि जुकरबर्ग विश्‍वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीको शीर्ष तीनमा परेको यो पहिलो पटक हो। त्यतिबेला उनको सम्पत्ति १०५.६ अर्ब डलर थियो भने मस्कको सम्पत्ति १०२.१ अर्ब डलर थियो। हाल मस्कको कुल सम्पत्ति १८१ अर्ब डलर रहँदा जुकरबर्गको सम्पत्ति १८७ अर्ब डलर छ।