ठमेल र दरबारमार्गमा वैशाखदेखि चौबिसै घण्टा व्यवसाय गर्न दिइने, कस्तो छ तयारी?

सविन ढकाल
२०८० चैत्र २६ गते ०९:१३ | Apr 8, 2024
ठमेल र दरबारमार्गमा वैशाखदेखि चौबिसै घण्टा व्यवसाय  गर्न दिइने, कस्तो छ तयारी?

काठमाडौं। काठमाडौंको ठमेल र दरबारमार्गमा वैशाख १ देखि चौबिसै घण्टा व्यवसाय सञ्‍चालन गर्न दिइने भएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तयारी तीव्र पारेको छ।

Tata
GBIME
Nepal Life

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि स्थानीय प्रशासनले तयारी अगाडि बढाएको हो। लामिछानेले जिम्मेवारी सम्हालेको केही दिनमा नै ठमेल र दरबारमार्गका व्यवसाय चौबिसै घण्टा संचालनको तयारी अघि बढाउन निर्देशन दिएका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतले ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला राख्नका लागि गरिएको तयारीबारे गृह मन्त्रालयमा ब्रिफिङ गरेका छन्। उनका अनुसार यसका लागि कार्यविधि बनाउन लागिएको छ।

‘पूर्ण समय व्यवसाय सञ्‍चालन सम्बन्धी आचारसंहिता एवम् सुरक्षा व्यवस्थापन मापदण्ड’को मस्यौदा तयार भइसकेको छ। सरोकारवालासँग छलफल गरेर सुझाव अनुसार अन्तिम रुप दिने तयारी छ।

‘सबै पक्ष सकारात्मक देखिनु भएको छ। अहिले हामी कार्यविधिको ड्राफ्ट तयार गरेर अन्तिम चरणमा छौं,’ काठमाडौंका सहायक सीडीओ हरिप्रसाद शर्माले भने।

कार्यविधिको मस्यौदामा व्यवसाय सञ्‍चालन गर्नेहरू र उपभोक्ताले पालना गर्नुपर्न नियम तथा सुरक्षा व्यवस्थाबारे उल्लेख छ। क्लब, दोहोरी साँझ र रेस्टुरेन्टमा सीसी क्यामरा जडान गर्नुपर्ने विषय पनि मस्यौदामा छ।

बत्ती पर्याप्त हुनुपर्नेछ। घटना नघटोस् र घटेको खण्डमा अनुसन्धानमा सहयोग पुगोस् भनी पर्याप्त सीसी क्यामरा र पर्याप्त बिजुली बत्ती जडान गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो। करिब एक सय मिटरसम्म देखिने गरी बिजुली बत्ती जडान गर्नुपर्ने छ।

नाइट क्लबहरूले आन्तरिक सुरक्षाका लागि निजी सुरक्षा गार्ड राख्नेुपर्नेछ। त्यसो त यसअघि पनि नाइट क्लबहरूले सुरक्षा गार्ड राख्दै आएकामा अब अनुभव तोक्न लागिएको छ।

‘मोटोघाटो देखिंदैमा सुरक्षा गार्ड हुँदैन। केही तालिम लिएको/ज्ञान भएको हुनुपर्ने व्यवस्था प्रस्ताव गरेका छौं,’ जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने।

गीत तथा सांगीतिक कार्यक्रम हुने व्यवसायले वरपरको वातावरणमा असर पुर्‍याउन पाउने छैनन्। साउन्ड प्रुफ व्यवस्था गर्नुपर्नेछ।

ठमेल र दरबारमार्गमा चौबिसै घण्टा व्यवसाय सञ्‍चालन गर्न दिनुपर्ने आवाज उठेको लामो समय भइसकेको छ। वामदेव गौतम गृहमन्त्री हुँदा २०७१ सालमा व्यवसायीको माग अनुसार ठमेल क्षेत्र २४ घण्टा खुला गर्ने निर्णय गरी गृह मन्त्रालयले प्रहरीलाई परिपत्र गरेपनि कार्यान्वयन हुन सकेन।

शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउन भन्दै गृह मन्त्रालयले ‘सीसी क्यामरा जडान तथा सञ्‍चालन कार्यविधि’ जारी गरेको थियो। कार्यविधिमा सीसी क्यामराबाट खिचेका दृश्य कम्तीमा ३ महिनासम्म सुरक्षित राख्नुपर्ने उल्लेख छ। तर प्रायः होटलमा अहिले पनि सीसी क्यामरा भेटिंदैन।

नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाले अहिले सीसी क्यामरा जडान गर्ने काम गरिरहेका छन्। ठमेल क्षेत्रको सुरक्षाका लागि महानगरको सहयोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले १२० थान सिसी क्यामरा जडान गरेको छ।

सीसी क्यामरा जडानका लागि प्रहरीलाई यो वर्ष ५ करोड रुपैयाँ उपलब्ध गराएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। ‘ठमेल र दरबारमार्ग वैशाख १ गतेबाट नै खुला गर्ने गरी काम भइरहेको छ,’ मानन्धरले भने।

कार्यविधि पालना गरे/नगरेको सीडीओ संयोजक रहने समितिले अनुगमन गर्नेछ।

सबैभन्दा ठूलो चुनौतीमध्ये सुरक्षा एक हो। नेपाल प्रहरीले पनि सुरक्षाका लागि थप तयारी गरिरहेको छ। सुरक्षाकर्मी थप गर्ने/नगर्ने विषयमा छलफल भइरहेको छ।

‘जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाको पाटोमा काम भइरहेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले भने।

सरकारले तयारी अगाडि बढाएपछि व्यवसायी उत्साहित भउका छन्। उनीहरूले पनि रातिको समयमा व्यवसाय सञ्‍चालनका लागि तयारीलाई तीव्रता दिएका छन्।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले आधुनिक सीसी क्यामरा जडान, आन्तरिक सुरक्षा लगायत विषयमा तयारी गरिरहेको बताए। ‘हाम्रो तर्फबाट तीव्र रुपमा काम भइरहेको छ। केही पक्षसँग अझै छलफल गर्नुपर्ने देखिएको छ,’ अध्यक्ष शर्माले भने।

परिषद्ले सुरक्षालाई ध्यानमा राखेर थप ३० जना निजी सुरक्षा गार्ड प्रहरीसँगै केही समय परिचालन गर्ने तयारी गरेको छ।

ठमेलमा सवारीसाधन तीव्र गतिमा हाँक्न पाइने छैन। परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबीच तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नदिने सम्झौता गरेका छन्।