कता हराए वर्ल्ड क्लास कार ब्रान्ड मर्सिडिज बेन्च र ल्यान्डरोभर! के अब नेपाल आउदैनन्?

शुक्र गिरी
२०८० चैत्र २४ गते १६:५० | Apr 6, 2024
कता हराए वर्ल्ड क्लास कार ब्रान्ड मर्सिडिज बेन्च र ल्यान्डरोभर! के अब नेपाल आउदैनन्?

काठमाडौं। एक समय नेपालमा पनि वर्ल्ड क्लास लक्जरियस कारहरू आयात गर्ने लहर थियो। नेपालमा पनि क्लासिक र एन्टिक लक्जरी कारहरू धेरै छन्। जसलाई सौखिनहरूले व्यक्तिगत रुपमा आफ्नो घर वा ग्यारेजमा सजाएर राखेका छन्।

Tata
GBIME
Nepal Life

यस्ता गाडीहरू कसैले व्यक्तिगत रुपमा मगाउने गर्थे भने कसैले यसलाई आधिकारिक रुपमा नै नेपाल भित्र्याएर बिक्री गर्ने गर्दथे। तर पछिल्लो समय यस्ता वर्ल्ड क्लास कार ब्रान्ड मर्सिडिज बेन्च र ल्यान्डरोभरका नयाँ मोडल नेपाली बजारमा देखिन छाडेका छन्।

अहिले मर्सिडिज बेन्च होस् वा ल्यान्डरोभर, दुवै ब्रान्डको नयाँ मोडलका कुनै पनि गाडीहरू बजारमा देखिदैनन्। जे छन् पहिले नै बिक्री भएका मोडलहरू बिक्री भइरहेका छन्।

यसै पनि नेपाली बजारबाट विस्तारै अमेरिकन र युरोपियन गाडीको संख्या घट्दै गइरहेको देखिन्छ। चिनियाँ र इन्डियन ब्रान्डका गाडीहरूको हिस्सा बढ्दो क्रममा छन्। यसमा पनि विद्युतीय गाडीको बाहुल्यता धेरै छ।

जर्मन लक्जरी कार ब्रान्ड मर्सिडिज बेन्च र मल्टिनेशनल ज्यागुअर ल्यान्ड रोभर कम्पनी (जीएलआर)को ब्रिटिस लक्जरी कार ब्रान्ड ल्यान्डरोभरका रेन्जरोभर तथा डिफेन्डर जस्ता गाडीहरूले एउटा छुट्टै क्लास मेनटेन गरेको थियो। नेपालमा पनि मर्सिडिजको महँगो गाडी जी वागेन र जी क्लासहरू समेत भित्रिएको थियो।

मर्सिडिज बेन्जका यस्ता लक्जरी कार दुई दशकभन्दा अघिदेखि नेपाली बजारमा आधिकारिक रुपमा बिक्री हुँदै आइरहेको थियो। यस्तै ल्यान्डरोभर पनि दुई दशकदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउदै आएको थियो।

फोटो: किशोर चन्द्र बादे श्रेष्ठ लिंक्डइन

ल्यान्डरोभर तथा ज्यागुअर राजा तथा व्यसायीहरूको मन जित्न सफल ब्रान्ड हो। नेपाली गाडी पारखीहरूबीच पनि यो ब्रान्ड एकदम रुचाइएको छ। अहिले पनि धेरै राणा वा दरबारदेखि अहिलेका व्यवसायीसम्म छरिएको छ। किनबेच हुँदाहुँदै सबैको हातमा यो ब्रान्ड पुग्न सफल छ।

यसका साथै सर्वसाधारणले यात्रा गर्ने पूर्वी पहाडी भेगमा पनि ल्यान्डरोभरका गाडी सार्वजनिक सवारीकै रुपमा चलिरहेका छन्। मुस्ताङ जाँदा होस् चाहे रारा जाँदा किन नहोस्, ल्यान्डरोभरका गाडीहरू भाडामा लैजान चहनेले पाइने अवस्था छ।

बलिया तर महँगा छन् ल्यान्डरोभरका गाडी। पछिल्लो समय यसको लोकप्रियता र चासो हराउन थालेको छ। ७ वर्ष अगाडिसम्म डिलरसिपका रुपमा आयात हुँदै आएको गाडी अहिले केही मात्रामा डिलरबिना आयात हुन्छ।

यसको डिलरसिप ७ वर्षअघि २०१६ मा नै नेपालबाट हटेको स्रोतको दाबी छ। त्यसपछि ब्रान्डअनुसार वर्ल्ड क्लास शोरुम र सर्भिस सेन्टर नभएको भन्दै उत्पादक कम्पनीले आधिकारिक बिक्रेतालाई नवीकरण गर्न मानेन। यो गाडी किशोर गेयरले आधिकारिक बिक्रेताको रुपमा नेपाल भित्र्याउने गरेको थियो।

कोभिड अगाडिसम्म नेपाली बजारमा लक्जरी कार ब्रान्डहरूबीच प्रतिस्पर्धा राम्रै हुँदै गएको थियो। यस प्रतिस्पर्धामा जर्मन ब्रान्ड मर्सिडिजका साथै बीएमडब्लू, अउडी, टेस्ला, ज्यागुअर, ल्यान्ड रोभर, लेक्सस, सुबरु, जीपलगायत कार बिक्री हुँदै आएको थियो।

तर पछिल्लो समय मर्सिडिज बेन्च र ल्यान्डरोभरका लागि आधिकारिक बिक्रेताको टुंगो नलाग्दा यो रेसमा बीएमडब्लू, अउडी, टेस्ला र जीप मात्र छन्। यसमा पनि बीएमडब्लू, अउडी र टेस्ला विद्युतीय भर्सनमा आउन थालेका छन् भने जीपको अहिलेसम्म नेपाली बजारमा इभी भर्सन आइसकेको छैन्। जसले गर्दा इन्धनको गाडी बिक्रीमा ठूलो गिरावट छ। जसले गर्दा जीपलाई केही हदसम्म कमजोर बनाएको छ।  

मर्सिडिज बेन्च र ल्यान्डरोभरका गाडीहरू २ वर्षदेखि आयात हुन छाडेको किशोर गियर अर्थात युरो गेयरका प्रमुख कार्यकारी किशोरचन्द्र बादे श्रेष्ठले बताए।

फोटो: फेसबुकबाट

‘मर्सिडिज बेन्च र ल्यान्ड रोभरका गाडीहरूको आयात २०२० देखि नै कम हुँदै आएको थियो। जब सरकारले वैदेशिक मुद्रा सञ्चितिमा कमी भएको भन्दै आयातमा प्रतिबन्ध लगायो, हामीले पनि गाडी आयात नै गर्न छोड्यौं,’ उनले भने, ‘पछिल्लो समय हामीले कुनै पनि मोडलका मर्सिडिज बेन्च र ल्यान्डरोभरका गाडीहरू आयात गरेका छैनौं।’

श्रेष्ठ अब आफ्नो फर्मले मर्सिडिज बेन्च र ल्यान्डरोभरका गाडीहरू आयात नगर्ने बताउँछन्।

‘सरकारले आधिकारिक डिलरबिना गाडी आयात गर्न पाइदैन भन्छ। तर नेपालमा नक्कली डिलर बनेर धेरैले यस्ता गाडीहरू खुलेआम ल्याइरहेका छन्,’ उनले भने, ‘त्यसैले हाम्रो त डिलर पनि यही भएका हामीबीच खोसाखोस गर्ने क्रममा उत्पादक कम्पनीले सबैलाई टर्मिनेट गरिदिएको छ। त्यसैले हामी गाडी ल्याउन सक्ने अवस्थामा छैनौं।’

गौतम ट्रेडर्समा रहेको सेयर किनबेच भएर आफूलाई हटाउने गृहकार्यले गर्दा उत्पादक कम्पनीले डिलर खोसेको श्रेष्ठले बताए।

‘शंकर ग्रुपका निर्देशक साहिल अग्रवालले यसको डिलर लिन खोजे। त्यही अनुसार मेरो कम्पनीबाट नाम हटेपछि उत्पादक कम्पनीले हामी दुवैलाई तत्कालको लागि आधिकारिक बिक्रेताको रुपमा टर्मिनेट गरेको हो,’ उनले भने, ‘मलाई कुनै पनि हालतमा हटाउन नसक्ने चिजमा बदमासी गरियो। दुवैले अहिले डिलर पाएका छैनौं। अहिले कम्पनी कार्यालयमा समेत मेरो नाम छैन। म कम्पनी कार्यलयमै नगई थाहा नभई मेरो नाम हटेछ। त्यसपछि मेरो त केही कुरै रहेन।’

गौतम ट्रेडर्समार्फत गाडी आयात भएपनि यसको बिक्री वितरण भने किशोर गेयर अर्थात युरो गेयर कम्पनीबाट भइरहेको थियो। श्रेष्ठका अनुसार अहिले मन्दीको समय भएर पनि यसमा केही चासो नदिइएको हो।

गौतम ट्रेडर्समा पहिले दीपक गौतम, विनोद सिंह, विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठको पार्टनरसिप थियो। तर पछि कम्पनीमा आपसमा टसल हुन थालेपछि साहिलले उक्त कम्पनीमा रहेका लगानीकर्ता विकास राणा र किशोरचन्द्र बादे श्रेष्ठको नाममा रहेको सेयर खरिद गरे। उनले दुई जनाको ५० प्रतिशत सेयर खरिद गरेर कम्पनी आफैंले चलाउने गरी नक्सालको गैरीधारा जाने बाटोमा शोरुमहरू निर्माण समेत गरेका थिए।

तर उत्पादक कम्पनीले साहिललाई पनि तत्काल डिलरसिप दिन नसक्ने बताएपछि सबै कुरा रोकिएको श्रेष्ठले बताए। यसैगरी, ल्यान्डरोभरमा पनि यस्तै अवस्था सिर्जना भएको श्रेष्ठ बताउँछन्।

‘केही घराना यसको डिलरसिप लिन लागि परेका छन्,’ उनले भने, ‘उत्पादक कम्पनीलाई भेटेर वार्षिक ३०० देखि ४०० युनिट बिक्री गर्ने टार्गेट समेत दिएका छन्। मैले पनि ल खाउ भनेर छोडिदिएँ। अहिलेसम्म यसको सर्भिसहरू सबै मसँग छ। यहा बिगार्नीहरू धेरै छन् त्यही भएर मैले छोडिदिएको हो।’

श्रेष्ठका अनुसार यसमा पनि मर्सिडिजमा जस्तै बिगार्ने काम मात्र भएको छ। यसको डिलर पनि कसले पाउने भनेर निर्णय हुन नसकेको श्रेष्ठ बताउँछन्।

शोरुम र सर्भिस सेन्टर विस्तारमा ठूलो लगानी

यसरी वर्ल्ड क्लास कार ब्रान्ड नेपाली बजारमा भित्र्याउनेहरूले उत्पादक कम्पनीले भने जसरी अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्‍न शोरुमहरू सहितको सर्भिस दिनु पर्छ। तर नेपाली बजारमा आयात भएका ल्यान्डरोभर र मर्सिडिज बिक्रेताले यसरी कुनै पनि शोरुम र सर्भिस सेन्टर निर्माण गर्न सकेका छैनन्।

पछिल्लो समय गाडी उत्पादक कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पछ्याएर शोरुम र सर्भिस सेन्टर निर्माण गरेपछि मात्र आधिकारिक बिक्रेतामा छनोट गर्ने प्रक्रिया अगाडि बढाउने गरेको व्यवसायीहरू बताउँछन्। जस्तै बीएमडब्लुका लागि लक्ष्मी ग्रुपको कम्नपीले त्यही अनुसारका शोरुम र सर्भिस सेन्टर बनाएको छ।

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी निर्देशक (सीइओ) राजनबाबु श्रेष्ठका अनुसार अहिलेको अवस्थामा उनीहरूले भनेजसरी काम गर्न लगभग सुरुवाती फेजमा कम्तीमा १५ करोड लगानी गर्नुपर्छ।

‘दायित्व नै यति छ की यो गाडीहरू ल्याएर बिक्री गर्न गाह्रो छ,’ उनले भने, ‘त्यसमा पनि नेपालमा यसको मार्केट सेयर धेरै कम छ। जम्मा लक्जरियस गाडीको नेपाली बजार मुस्किलले डेढ सयदेखि २०० युनिट मात्र हुन्छ। त्यसमा पनि टोयोटा, जीप र बीएमडडब्लु जस्ता गाडीको आफ्नै सेग्मेन्ट छन्।’

यसैगरी उनका अनुसार अहिले ल्यान्डरोभरका गाडीहरू पनि इन्ट्री लेभलका नभएका कारण बिक्री गर्न गाह्रो हुने अवस्था छ।

‘पहिले नेपाली बजारमा ७२ लाख रुपैयाँसम्मको बिक्री भएका थिए। यो मूल्यमा ल्यान्डरोभर किन्‍ने ग्राहकहरू धेरै नै थिए। त्यो वर्ष लगभग १५० युनिट ल्यान्डरोभर बिक्री भएको थियो,’ उनले भने, ‘तर अब त्यसरी कम मूल्यमा ल्यान्डरोभर ल्याउन सक्ने अवस्था छैन।’

नेपालमा पनि पछिल्लो समय गाडी बिक्रेताहरूले अन्तर्राष्ट्रिय स्तरको स्टेट अफ द आर्ट डिजाइन र सुविधा भएका शोरुमहरू बनाएका छन्। उनीहरूलाई उत्पादक कम्पनीले आफ्नो प्रोटकल अनुसार यस्ता शोरुम र सर्भिस सेन्टर निर्माण गर्न चेतावनी दिएपछि हुन्डाई, बीवाइडी, टाटा, फोर्ड जस्ता गाडी बिक्रेताहरूले ५ करोडसम्म लगानी गरेर शोरुमहरू निर्माण गरेका छन्।

त्यसैले मर्सिडिज बेन्च र ल्यान्ड रोभर जस्ता ब्रान्डको लागि पनि त्यही अनुसार दायित्व राख्ने गरिन्छ। त्यहीअनुसार कम्पनीको प्रोटोकल पछ्याउँदै शोरुम र सर्भिसमा लगानी गर्नुपर्छ। यसले पनि केही हदसम्म बिक्रेताहरू यति ठूलो लगानी गर्न हच्किने गरेका छन्।

के अब नेपाल आउदैनन् ?

अब यस्ता ब्रान्डका गाडीहरू आधिकारिक रुपमा नेपाल आउने सम्भावना धेरै कम छन्। जसमा पहिले आधिकारिक बिक्रेता पाइसकेका कम्पनीले समयमा नवीकरण गर्न नसक्दा अहिलेसम्म उनीहरूको व्यावसायिक योजनामा धक्का लागेको छ। वार्षिक रुपमा केही नभए पनि १०० देखि १५० युनिट मर्सिडिज र ल्यान्डरोभरका गाडीहरू बिक्री हुने गरेका थिए।

तर पछिल्लो समय यस्तो संख्या घटेर २ युनिटमा झरेको छ। कम्पनीले २०७६/७७ मा ७ युनिट, २०७७/७८ मा ५ युनिट, २०७८/७९ मा मर्सिडिज बेन्च २० युनिट आयात गरेको थियो। तर उक्त संख्या २०७९/८० मा ठप्प भयो। त्यसपछि २०८०/८१ मा एउटा मर्सिडिज बेन्च आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

यस्तै, ल्यान्डरोभरको पनि २०७६/७७ मा ७ युनिट, २०७७/७८ मा १० युनिट, २०७८/७९ मा २ युनिट र २०७९/८० मा २ युनिट मात्र आयात भएका थिए। तर २०८०/८१ मा भने अहिलेसम्म एक युनिट पनि ल्यान्डरोभरका गाडीहरू आयात भएका छैनन्। गएको ५ वर्षमा ल्यान्ड रोभरका २१ युनिट र मर्सिडिज बेन्चका ३३ युनिट गाडी आयात भएका छन्। जुन त्यसभन्दा अघिल्ला वर्षहरूमा एउटै वर्ष त्योभन्दा धेरै आयात गर्ने गरेका थिए। आयातको तथांक हेर्दा यस्तो भएपनि व्यवसायीहरू भने यस्ता ब्रान्ड ल्याउन दिनरात कसरत गरिरहेको एक व्यवसायीले बताए।

ती व्यवसायीका अनुसार अहिले ल्यान्डरोभरको आधिकारिक बिक्रेता बन्‍न धेरै घराना लागीपरेका छन्।

‘लामो समयदेखि ग्याप भएको उक्त ब्रान्ड पाउन ठूलै कसरत भइरहेको छ,’ ती व्यवसायीले भने, ‘यसमा अहिले गाडी बिक्री गरिरहेका ठूला घराना छन्। उनीहरूले धेरै पटक उत्पादक कम्पनीको प्रतिनिधिसँग वार्ता गरिसकेको र आफ्नो बिजनेस योजनाहरू बुझाएका छन्। २०२४ सम्म कम्पनीले नयाँ आधिकारिक बिक्रेता छान्‍न सक्ने अनुमान गरिएको छ।’

यस्तै, ती व्यवसायीका अनुसार मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता बन्‍न शंकर ग्रुप नै अगाडि छ। यसका साथै अन्य केही ग्रुपहरू पनि यो ब्रान्डको आधिकारिक बिक्रेता बन्‍ने दौडमा रहेका ती व्यवसायीले बताए।