ओमोडामा ‘रोलर कोस्टर’को अनुभूति : चेरीको ‘ब्रान्ड इमेज’ उकास्ने इभीको टेस्ट ड्राइभ

शुक्र गिरी
२०८० चैत्र २३ गते १२:२० | Apr 5, 2024
ओमोडामा ‘रोलर कोस्टर’को अनुभूति : चेरीको ‘ब्रान्ड इमेज’ उकास्ने इभीको टेस्ट ड्राइभ

काठमाडौं। ओमोडाको अर्थ के? माउ कम्पनी चेरीका अनुसार ‘ओ’को अर्थ हो नयाँ र ‘मोडा’को अर्थ हो फेसन। आज हामी नेपाली इभी बजारमा नयाँ फेसनका रुपमा आफ्नो बजार हिस्सा बढाउन सक्रिय चिनियाँ कम्पनी ओमोडा इ-फाइभको टेस्ट ड्राइभ गर्दैछौं। नेपाली सडकमा चिनियाँ कम्पनी चेरीका उत्पादन दुई दशकअघि देखि नै देखिन थालेको हो। पेट्रोल भर्सनका चेरीले नेपाली बजारमा प्रभाव नछाड्दै सडकमा घट्नेक्रम बढेको थियो।

Tata
GBIME
Nepal Life

तर, पछिल्लो समय चिनियाँ प्यासेन्जर भेहिकलले विश्वबजारमा नै हस्तक्षेप गरिरहेको छ। गुणस्तर र फिचरका लागि चिनियाँ लगानी यसरी भएको छ कि विश्वका चर्चित अटो मेकरहरु धेरै पछाडि परिसकेका छन्। प्रतिस्पर्धाको यो खेलमा ओमोडा इ फाइभले नेपालमा चेरीको इमेजलाई बलियो गरी स्थापित गर्न सक्ला त?

यसपाला टेस्ट ड्राइभमा हामीले सहरी सडक रोज्यौं। थापाथलीबाट भैसेपाटी हुँदै चोभर र त्यसैको बीचमा बन्दै गरेको नख्खु खोलाको करिडरको घुम्तीमा सतही ‘रोलर कोस्टर’मा झै फन्फन्ती ओमोडालाई हुइँक्यायौं। मोड नै मोड भएको सडकमा हाइ स्पिडमा कुदाउँदा यो क्रसओभरले गजबको पर्फर्मेन्स दियो।

पछाडि सिटमा हामीसँगै यात्रा गरेका साथीहरुले मजाभन्दा बढी त्रास महसुस गरे त्यसरी कुदाउँदा। हामीले जे गरिरहेका थियौं त्यो ट्राफिक कन्डिसन र सुरक्षाका अन्य मापदण्डलाई हेरेर मात्र। त्यसैले यसखाले हुइँक्याई नगर्न सुझाउँछौं।

खाल्डाखुल्डी बाटोमा ओमोडाको सहज यात्राले यसको सस्पेन्सन केही फरक छ भन्ने देखाइरहेको थियो। ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेकाले सानतिना उवडखावडमा खासै वास्ता नहुने रहेछ। ‘फुल लोड’ लिएर चोभारबाट माथितिर उकालिँदा यसको पावर पर्फर्मेन्सलाई कमजोर आँक्न नसकिने देखायो।

यसमा सेफ्टीसहित इन्फोटेनमेन्टका पर्याप्त फिचर उपलब्ध छ जसमध्ये कतिपय त नेपाली सडकामा प्रयोग समेत गर्न सकिन्न। यसमा सेन्सरमा आधारित रहेर स्वचालित ब्रेकिङ सिस्टम छ जुन नेपाली सडकका लागि धेरै उपयोगी भने छैन। तर, यस गाडीको एउटा प्रमुख विशेषता के हो भने त्यसखाले फिचरलाई ‘अफ मोड’मा सेट गर्न सकिन्छ।

नेपाली बजारमा उपलब्ध भएका कतिपय इभीमा यसखाले मोड अफ गर्ने अप्सन नै छैन। केही गाडीमा अप्सन त छ तर हरेक पटक गाडी स्टार्ट गर्दा उक्त अप्सन अफ गर्नुपर्छ नभए अटोमेटिक ब्रेकिङ मोड अन भइहाल्छ। गाडी स्टार्ट गरेको हरेक पटक मोड अफ र अन गर्ने विषय वास्तवमै झन्झटिलो हो। त्यसखाले झन्झटलाई चेरीले सुल्झाएको रहेछ।

ओमोडामा चिनियाँ कम्पनी बीवाईडीले उत्पादन गरेको ब्लेड ब्याट्री राखिएको छ। विद्युतीय सवारीमा अहिलेसम्म प्रयोगमा आएका ब्याट्रीमध्ये ब्लेडलाई सबैभन्दा अब्बल मानिन्छ।

इभीमा क्रान्ति ल्याउने कम्पनीका रुपमा स्थापित टेस्लाले पनि पछिल्लो समय यही ब्याट्री प्रयोगमा ल्याएको छ। चौसठ्ठी किलोवाट आवर क्षमताको ब्याट्री भएको यो क्रसओभरले एक पटकको पूरा चार्जमा ४ सय ३० किलोमिटरको दुरी तय गर्छ। ब्याट्री चार्ज गर्नका लागि ३० देखि ८० प्रतिशतसम्म फास्ट चार्जरबाट ३५ मिनेट लाग्छ। मतलब लामो दुरीको यात्रा गरिरहँदा छोटो समयमा नै गाडीलाई चार्ज गर्न सकिन्छ। यसमा ९९ किलोवाट क्षमताको मोटर उपलब्ध छ।

पेट्रोल भर्सनको गाडीबाट इभीसम्मको इनोभेसन यात्रामा चेरीले फराकिलो छलाङ मारेको ओमोडाले पुष्टि गर्छ। यसमा सडकअनुसार अधिकतम स्पिड तय गर्न सकिन्छ। ट्राफिक सिग्नलअनुसार सडकको प्रतिघन्टा स्पिड तोकिएको छ भने त्यसैअनुसार र कतिपय स्थानमा स्पिड स्वनियन्त्रित रुपमा राख्‍नका लागि त्यसैखाले सेटिङको सुविधा यसमा।

ओमोडाको ड्राइभिङ, रिभर्स र न्युट्रल मोड स्टेरिङको दायाँतर्फ छ। अरु गाडीमा साइड इन्डिकेटर दिने अप्सनमा यसलाई एड्जस्ट गरिएको छ। बायाँतर्फ भने बाँकी सबै एड्जस्ट गरिएको छ – वाइपरदेखि इन्डिकेटर र पास लाइटसम्म। त्यसैले अरु गाडीभन्दा यो केही फरक लाग्छ। फरक लोकेसनमा दिइएको यसखाले फिचरले गाडी ड्राइभ गर्दा दुई/चार मिनेटमात्र अल्मल्याउने हो। चलाउन थालेको केही बेरमै यसको फिचरअनुकूल बन्न सकिन्छ।   

हाम्रो टेस्ट ड्राइभको निचोड हो – नेपाली बजारमा बीवाईडीको एट्टो, एमजीको जेड एस, सिट्रोन लगायतका चिनियाँ मोडलभन्दा फरक लुक्स चाहनेका लागि यो बलियो विकल्प हो। ब्याट्री र मोटर पर्फर्मेन्सका आधारमा माथिका सबै गाडीसँग यसले बलियो प्रतिस्पर्धा गर्छ। ग्राउन्ड क्लियरेन्सका आधारमा यसले थप पोइन्ट हासिल गरेको छ।

चेरीले दुईवटा क्षमताका चार्जर र स्पेयर ह्वीलसेटसमेत उपलब्ध गराउने भएकाले प्रतिस्पर्धी इभीहरु सामुन्ने फरक चुनौती पनि पेश गरेको छ। हालै ग्राहकलाई डेलिभरी गर्न थालिसकेको यो कार नेपाली बजारमा पक्कै पनि राम्रो प्रतिस्पर्धी हो। यतिमात्र यसको चुनौती हो कि बलियो ब्रान्डका बीच चेरीले फेरि एकपटक यसलाई नयाँ ब्रान्डिङसहित उतार्नु नै पर्नेछ।

हामीले जुन दिन यस गाडीको टेस्ट ड्राइभ गर्‍यो त्यतिखेर काठमाडौं विश्वकै सबैभन्दा वायु प्रदुषण भएको शहरमध्ये तेस्रो स्थानमा थियो। करिब करिब ‘हाजार्ड’को अवस्था। त्यसैले हामीले पूरै यात्रामा प्रशोधित हावामात्र गाडीभित्र लियौं। साथै ड्यासबोर्डदेखि सिटसम्म सेतो फेब्रिकको प्रयोग नेपाली बाटोअनुकूल होइन कि भन्ने हाम्रो ठम्याइ रह्यो।

भित्र मैलो हुने जोखिम वायु प्रदुषणले दिइरहेको थियो। टेस्ट ड्राइभकै बीच पानी पर्‍यो। हामी वाइपर चलाउँदै बाक्लो ट्राफिक भएको सहरी सडकको यात्रा पूरा गर्दै टेस्ट ड्राइभको एउटा फरक अनुभव लिएर फर्कियौं।