टेस्लाले भारतमा ३ अर्ब डलरको इलेक्ट्रिक कार प्लान्ट बनाउने, ठाउँ खोज्न टिम पठाउने तयारी

बिजमाण्डू
२०८० चैत्र २२ गते १०:३९ | Apr 4, 2024
टेस्लाले भारतमा ३ अर्ब डलरको इलेक्ट्रिक कार प्लान्ट बनाउने, ठाउँ खोज्न टिम पठाउने तयारी
File Photo: REUTERS

टेस्लाले भारतमा २ अर्बदेखि ३ अर्ब डलरको इलेक्ट्रिक कार प्लान्ट निर्माण गर्न उपयुक्त स्थानको खोजी गर्ने भएको छ। त्यसका लागि कम्पनीले अप्रिलको अन्त्यतिर अमेरिकाबाट एक टोली पठाउने भएको विशेष स्रोतलाई उदृत गर्दै फानान्सियल टाइम्सले उल्लेख गरेको छ।

Tata
GBIME
Nepal Life

इभीको मुख्य बजारहरू अमेरिका र चीनमा माग सुस्त भएसँगै टेस्ला भारतीय अटो बजारमा प्रवेश गर्न लागेको हो। भारतमा इभी बजार विस्तार हुँदै गएको छ भने प्रतिस्पर्धा पनि तातिएको छ।

इभी निर्माता टेस्ला महाराष्ट्र, गुजरात र तमिलनाडु जस्ता अटोमोटिभ हब भनिने भारतीय राज्यहरूमा केन्द्रित हुने रिपोर्टमा उल्लेख छ। टेस्लाले भने यसबारे आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।

गत महिना भारतले तीन वर्षभित्र कम्तीमा ५० करोड डलर लगानी गर्ने र कारखाना निर्माण गर्ने कम्पनीका निश्‍चित इलेक्ट्रिक सवारीहरूमा आयात कर घटाउने घोषणा गरेको थियो। भारतीय इभी बजारमा प्रवेश गर्ने टेस्लाको योजनालाई प्रोत्साहन गर्न भारत सरकारले यो नीति लिएको बताइएको छ।

वर्षौँदेखि टेस्ला भारतीय बजारमा प्रवेश गर्ने प्रयासमा थियो। तर नयाँ दिल्लीले स्थानीय उत्पादनमा प्रतिबद्धता नजनाएसम्म इच्छा देखाएको थिएन।

हाल भारतको इभी बजार सानो छ तर क्रमिक रुपमा बढिरहेको छ। घरेलु कार निर्माता टाटा मोटर्सले इभी बजारमा वर्चश्व कायम गरेको छ। सन् २०२३ मा भारतमा कुल कार बिक्रीको करिब २ प्रतिशत मात्रै इलेक्ट्रिक मोडेलहरू थिए। सरकारले यसलाई सन् २०३० सम्ममा ३० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

भारतीय बजारमा टेस्लाको प्रवेशले इभीमा थप लगानी बढाउने र स्थानीय अटो पार्ट्स निर्माताहरूलाई फाइदा पुग्ने विश्लेषकहरूले बताएका छन्।

गत जुलाईमा टेस्लाले भारतमा कारखाना निर्माण गर्न प्रस्ताव गरेको थियो। तर त्यसको बदलामा उसले आयात करमा कटौती गर्न आग्रह गरेको थियो। टेस्लाका सीइओ इलन मस्कले भारतको सवारी आयात कर संसारकै सबैभन्दा उच्चमध्येको रहेको बताउँदै आएका थिए।

टेस्लाका अधिकारीहरूले हालैका महिनाहरूमा धेरै पटक भारत भ्रमण गरेका छन्। त्यस्तै, मस्कले पनि गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए।