साओमीको पहिलो कार एसयू७ का लागि आयो एक लाखभन्दा बढी अर्डर, सुरु गर्‍यो डेलिभरी

बिजमाण्डू
२०८० चैत्र २२ गते ०९:५८ | Apr 4, 2024
साओमीको पहिलो कार एसयू७ का लागि आयो एक लाखभन्दा बढी अर्डर, सुरु गर्‍यो डेलिभरी
Photo: mi.com

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो पहिलो कारका लागि १ लाखभन्दा बढी अर्डर आएको दाबी गरेको छ। एसयू७ नाम दिइएको उक्त स्पोर्टी इलेक्ट्रिक कारको डेलिभरी सुरु गरिएको कम्पनीले बुधबार जानकारी दिएको छ

Tata
GBIME
Nepal Life

साओमीले लिमिटेड एडिसनका ५ हजार कारहरूको पहिले डेलिभरी गर्नेछ। ‘फाउन्डर्स एडिसन’ भनिएका उक्त कारहरू कम्पनीले यसअघि नै निर्माण गरिसकेको थियो। अतिरिक्त एसोसरिजले सुसज्जित यी कारहरू प्रारम्भिक ग्राहकहरूका लागि बनाइएको हो।

गत हप्ता एसयू७ अर्थात स्पीड अल्ट्रा ७ सार्वजनिक गरेपछि साओमीले यो सेडानका ग्राहकहरूलाई तीव्र मागका कारण डेलिभरीको समय ४ देखि ७ महिना लाग्न सक्ने बताएको थियो।

सस्तो मूल्यका साथ साओमी एसयू७ लिएर चीनको ‘क्राउडेड’ इभी बजारमा प्रवेश गरेको छ। साओमीले एसयू७ को मूल्य ३० हजार डलर भन्दा कम राखेको छ, जुन चीनमा टेस्लाको मोडल ३ भन्दा सस्तो हो।

विश्‍वको सबैभन्दा ठूलो अटो बजार चीनमा इभीको ‘कट-थ्रोट’ मूल्य प्रतिस्पर्धा र सुस्त मागका बीच साओमीको धेरै सम्भावना रहेको विज्ञहरू बताउँछन्। साओमीको स्मार्टफोन विशेषज्ञताले उसलाई स्मार्ट ड्यासबोर्डहरूमा फाइदा पुग्ने बताइएको छ, जसलाई चिनियाँ उपभोक्ताहरूले धेरै रुचाएको पाइन्छ।

कम्पनीको ३७.५ अर्ब डलर राजस्वको अधिकांश हिस्सा स्मार्टफोनको बिक्रीले ओगटेको छ।