आवश्यकताविना बनाइएका विमानस्थल यात्रुविहीन, १० वटामा वर्ष दिनमा २५ सयभन्दा कम

वसन्तराज उप्रेती
२०८० माघ ५ गते १९:०० | Jan 19, 2024
आवश्यकताविना बनाइएका विमानस्थल यात्रुविहीन, १० वटामा वर्ष दिनमा २५ सयभन्दा कम

काठमाडौं। एक साताअघि नेकपा एमालेका महासचिव शंकर पोखरेलले गुल्मीको रेसुंगा विमानस्थलको तस्वीर सामाजिक संजालमा राखे।

Tata
GBIME
Nepal Life

उनले एमालेकै उपमहासचिव प्रदीप ज्ञवाली लगायतसँग खिचेको तस्वीर राख्‍ने क्रममा विमानस्थल निर्माणको जस ज्ञवालीलाई दिए। उनले ‘प्रदीपजीको कर्म’ भनी स्ट्याटस लेखे।

पोखरेलले यसरी पार्टी उपमहासचिवका कारण बनेको भनेर गर्व गरेको विमानस्थल त्यो क्षेत्रको आवश्यकता हो कि ज्ञवालीले शक्तिको दुरुपयोग गरी लोकरिझ्याँइका लागि बनाउन लगाएका हुन् भनेर बहस गर्नुपर्ने देखिएको छ।

यो विमानस्थल हुँदै साढे सात महिनामा जम्मा २९० यात्रुले ओहोरदोहोर गरेका छन्। यो अवधिमा २४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ। नेपाल वायु सेवा निगमले अहिले सातामा एउटा उडान गर्दै आएको छ। एउटा उडानमा औसतमा १२ यात्रु चढेको देखिन्छ।

व्यावसायिकरुपमा औचित्य पुष्टि हुने भन्दा पनि आफ्ना मतदातालाई खुशी तुल्याउनका लागि लहडमा नेताहरुले विमानस्थल बनाउन लगाउने गरेको यथार्थ रेसुंगा विमानस्थल अर्को बलियो प्रमाण हो।

नेताहरुको लहडले विमानस्थल निर्माणका नाममा अनावश्यकरुपमा रकम मात्र खर्च भएको होइन, यात्रु नै नपाउने ठाउँमा उडान गर्नुपर्दा नेपाल वायु सेवा निगम थप धराशायी बन्न पुगेको छ।

रेसुंगा विमानस्थलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायत। तस्वीर: पोखरेलको फेसबुक

आफ्ना २ वटा ट्वीनअटर जहाज प्राय: यस्तै गन्तव्यमा उडाउनुपर्ने राजनीतिक दबाबका कारण निगमको घाटाको ग्राफ उकालो लागिरहेको छ। निगमले १९ सिटे ट्वीनअटर जहाजको संचालनमा तीन वर्षयता वार्षिक ५५ करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको निगमको संरचनागत सुधार सम्बन्धमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख छ।

एमाले नेता ज्ञवालीले २०६३ मा आफू पर्यटनमन्त्री हुँदा रेसुंगामा विमानस्थलको शिलान्यास गरेका थिए। शिलान्यासको १६ वर्षपछि बनेको विमानस्थलमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। विमानस्थलमा गत वैशाख १९ गते पहिलो व्यावसायिक उडान गरिएको थियो। त्यो दिन काठमाडौंबाट १४ यात्रु लिएर गएको निगमको जहाज १४ यात्रु नै लिएर फर्किएपनि त्यसयता त्यो भन्दा बढी यात्रु पाउन सकेको छैन।

बैतडी विमानस्थल। तस्वीर: नेपाल नागरिक उड्डयन प्राधिकरण

ठूलो रकम खर्च गरेर बनाइएको तर यात्रु खासै ओहोरदोहोर नगर्ने विमानस्थलको सूचीमा अरु पनि छन्। १८ वटा विमानस्थल संचालनमै नरहेकामा संचालनमा रहेर पनि वार्षिक २५ सयभन्दा बढी यात्रुको ओहोरदोहोर नहुनेको सूचीमा १० वटा विमानस्थल छन्। तीमध्ये डोटी र बैतडी उडान नै नभएका विमानस्थल हुन्। अर्थात ती विमानस्थलमा यात्रुले उडानको माग नै नगरेको देखिन्छ।

प्राधिकरणका अनुसार सन् २०२३ मा इलामको सुकिलुम्बा विमानस्थल हुँदै जम्मा ६५१ यात्रुले ओहोरदोहोर गरेका छन्। त्यहाँ एक वर्षमा ५८ वटा उडान अवतरण भएको तथ्यांक छ।

डोटी विमानस्थल। तस्वीर: नेपाल नागरिक उड्डयन प्राधिकरण

बझाङ, थामखर्क, खानीडाँडा, साँफेवगर, ताप्लेजुङ र रुकुम सल्ले वार्षिक २५ सयभन्दा कम यात्रु आउजाउ गर्ने विमानस्थलको सूचीमा छन्।

एक वर्षमा खानीडाँडामा ८१७ र थामखर्कमा ९९१ यात्रुले आउजाउ गरेको प्राधिकरणको तथ्यांक छ। खानीडाँडामा ८१७ यात्रुको सेवाका लागि ९० वटा उडान गरिएको थियो। अर्थात जहाजमा प्रति उडान औसतमा ९ यात्रु मात्र चढेको देखिन्छ।

सडक सञ्जाल विस्तारका कारण हवाई यात्रुको माग घटेका कारण यी विमानस्थलमा सेडुल उडान नै कम गर्दै आएको वायुसेवा कम्पनीले जनाएका छन्। मुलुकका दुर्गम गन्तव्यमा निगमका साथै तारा एयर, समिट एयर र सीता एयरले नियमित उडान गर्दै आएका छन्।

वायुसेवा संचालक संघका महासचिव मनोज कार्कीले सडक सञ्जाल पुगेका कतिपय विमानस्थलमा यात्रुको संख्या निकै घट्दो क्रममा रहेको बताए। ‘संचालनमा रहेका १० मध्ये २ वटा विमानस्थलमा त सन् २०२३ मा उडान नै भएन। अरु ८ विमानस्थलमा पनि यात्रुको माग नभएकाले सेडुल फ्लाइट नै कम छ,’ उनले भने, ‘दुर्गम गन्तव्यका विमानस्थलमा सडक संजालका कारण यात्रु पाउन नै मुस्किल छ।’

 

तारा एयरको जहाज

यात्रुको माग नभएकै कारण तारा एयरले यी १० वटै गन्तव्यमा सेडुल उडान नराखेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘यी गन्तव्य भायवल नभएकै कारण हामीले अहिले सेडुल फ्लाइट राखेका छैनौं। माग आए चार्टर्ड उडान हुने हो,’ प्रवक्ता बर्तौलाले भने, ‘अहिलेको यात्रु मुमेन्ट पनि चार्टर्ड उडानकै हो।’

प्राधिकरणले यात्रुको चाप नरहेका विमानस्थल बन्द गर्ने विषयमा तत्कालै केही सोचेको छैन। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सडक संजाल विस्तारका कारण दुर्गम गन्तव्यका विमानस्थलमा यात्रुको संख्या घटेको तर यात्रु र उडान घटेकै आधारमा विमानस्थल बन्द गर्ने विषयमा प्राधिकरणले अहिले केही नसोचेको बताए।

यात्रु नपाएर थन्किए जहाज

समिट एयरले यात्रुको माग नभएका कारण अहिले एउटा जहाज मात्र संचालन गर्दै आएको छ। समिटसँग लेट-४१० सिरिजका ४ वटा जहाज छन्। कम्पनीका प्रबन्धक निर्देशक मनोज कार्कीले आफ्ना चार जहाजमध्ये अहिले तीन वटा थन्किएको बताए। ‘हाम्रा चार जहाजमध्ये एउटा कर्णाली क्षेत्रमा उडिरहेको छ। बाँकी काम नपाएर नेपालगञ्जमै थन्किएका छन्,’ उनले भने।

समिट एयरको जहाज

३ वटा ट्विनअटर जहाज रहेको तारा एयरले यात्रुको माग नभएकै कारण एउटा जहाज ग्राउण्डेड गरेको छ। ‘अहिले जाडो याममा झन् यात्रु पाउनै मुस्किल छ। हामीसँग भएका ३ मध्ये दुईवटा जहाज मात्र अपरेसनमा छन्,’ प्रवक्ता बर्तौलाले भने।

सीता एयरको जहाज

सीता एयरका चार मध्ये दुईवटा जहाजले मात्र काम पाइरहेका छन्। मुलुकभर संचालित विभिन्न ३३ वटा विमानस्थलमा सन् २०२३ मा १ लाख ७० हजार उडान अवतरणमार्फत ४६ लाख ३९ हजार यात्रुले ओहोरदोहोर गरेका थिए।