टाइगर प्यालेसको क्यासिनो बक्यौतामा ३०% जरिवाना लिन अर्थको सुझाव, तिरेर संचालनको तयारी  

वसन्तराज उप्रेती
२०८० माघ ४ गते १८:१४ | Jan 18, 2024
टाइगर प्यालेसको क्यासिनो बक्यौतामा ३०% जरिवाना लिन अर्थको सुझाव, तिरेर संचालनको तयारी  
टाइगर प्यालेसको क्यासिनो। फाइल तस्वीर

काठमाडौं। भैरहवास्थित पाँच तारे होटल टाइगर प्यालेसको क्यासिनो पुनः संचालन गर्न दिनुअघि बक्यौतामा ३० प्रतिशत जरिवाना तिराउन अर्थ मन्त्रालयले पत्र पठाएको छ।

Tata
GBIME
Nepal Life

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बक्यौताबारे मागेको रायमा अर्थ मन्त्रालयले ३० प्रतिशत जरिवाना असुल गर्न भनेको हो। क्यासिनो संचालनका लागि टाइगर प्यालेसले अनुमति मागेपछि पर्यटन विभागले पर्यटन मन्त्रालय हुँदै अर्थसँग राय मागेको थियो।

क्यासिनोको रोयल्टीबापतको वक्यौतामा लाग्ने जरिवानाबारे अर्थसँग राय मागिएको थियो। ‘अर्थले जरिवाना ३० प्रतिशत मात्र लाग्ने राय दिएको छ। जरिवानामाथि जरिवाना नलगाउन भनेको छ,’ विभागका प्रवक्ता कालीबहादुर भुजेलले भने, ‘अब हामी हिसाब गरेर कम्पनीले बुझाउनु पर्ने बक्यौता रकमबारे निर्णय गर्छौं।’

टाइगर प्यालेसको क्यासिनो ४ वर्षदेखि बन्द छ। क्यासिनोको रोयल्टी वार्षिक ५ करोड रुपैयाँ हो। रोयल्टी रकम समयमा नबुझाए प्रत्येक वर्ष ३० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ। होटलको पूरै स्वामित्व किनेको हिमालयन टाइगर इन्भेष्टमेन्टले क्यासिनो चलाउन चाहेको छ।

टाइगर प्यालेस यसअघि सिल्भर हेरिटेजको स्वामित्वमा थियो। उक्त कम्पनीले टाइगर प्यालेसका अलावा लाजिम्पाटस्थित सांग्रिला होटलमा रहेको क्यासिनो संचालन गर्दै आएको थियो। सांग्रिला होटलमा रहेको क्यासिनो पनि कोभिडयता बन्द छ।

सिल्भर हेरिटेजले १४ करोड रुपैयाँ यसअघि नै बैंक ग्यारेन्टी राखेकाले विभागको अनुमानमा दुवै क्यासिनोको बक्यौता रकम जरिवानासहित ५० करोड रुपैयाँ हाराहारी हुन्छ।

टाइगर प्यालेस

६ महिनाअघि ५ अर्ब रुपैयाँमा टाइगर प्यालेसको स्वामित्व लिएको हिमालयन टाइगर इन्भेष्टमेन्टले दुवै क्यासिनो बक्यौता तिरेर संचालन गर्ने बताएको छ। कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले आफूहरु दुवै क्यासिनो संचालनको तयारीमा रहेको बताए।

‘पर्यटन विभागले बक्यौताको हिसाब देखाएपछि हामी सबै रकम बुझाएर टाइगर प्यालेसको क्यासिनो संचालनमा ल्याउँछौं,’ उनले भने, ‘सांग्रिलाको क्यासिनोका हकमा भने असारसम्म बक्यौता बुझाउने तयारी छ।’ सांग्रिलाको क्यासिनोले कोभिडको बेला बन्द भएको समयको रोयल्टी तिर्न सक्दिन भनेपछि यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ।

क्यासिनो संचालनका लागि टाइगर प्यालेस यतिखेर विभिन्न कम्पनीसँग छलफलमा छ। सुवेदीले आफ्नो पनि स्वामित्व रहने गरी केही दिनमै क्यासिनो संचालन गर्ने कम्पनी छनोट गर्ने जानकारी दिए। ‘हामी अब जतिसक्दो चाँडो क्यासिनो संचालनमा ल्याउँछौं,’ उनले भने