फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएको एनएसीको वाइडबडी जहाज रिलिज, २६७ यात्रु लिएर दुबई उड्दै

बिजमाण्डू
२०८० माघ ४ गते १५:४४ | Jan 18, 2024
फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएको एनएसीको वाइडबडी जहाज रिलिज, २६७ यात्रु लिएर दुबई उड्दै
File Photo

काठमाडौं। फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएर सोमबार रातीबाट ग्राउण्‍डेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार ‘रिलिज’ भएको छ। ९एन-एएलजेड कलसाइनको यो जहाज आज दिउँसो ४ बजे २६७ यात्रु लिएर काठमाडौं-दुबाई उडान तयारीमा रहेको निगम प्रवक्ता रमेश पौडेलले बताए।

Tata
GBIME
Nepal Life

‘जहाजको मर्मत सम्भार सकिसकेको छ। हामीले ३ दिन भित्रै जहाज मर्मत सम्भार गरेर आजैबाट यो जहाजको उडान तय गरेका हौं,’ पौडेलले भने,’जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको हो। आज बिहान पार्टपुर्जा आएलगत्तै जडान गरेर जहाज रिलिज गरिएको हो।’

सो जहाजमा सोमबार प्राविधिक समस्या आउँदा काठमाडौं-दोहा-काठमाडौं तर्फ यात्राका लागि टिकट काटिसकेका ५३० यात्रु  अलपत्र परेका थिए। ती यात्रुलाई  निगमले भोलिपल्ट सेवा दिएको थियो।

जहाज ग्राउण्‍डेड हुँदा निगमको नारिता, दुबई लगायत अन्तर्राष्ट्रिय गन्तव्य तर्फको उडान प्रभावित भएको थियो।

हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीको दुईवटा न्यारोबडी र दुईवटा वाइडबी गरि कूल चार मध्ये तीन जहाजमात्रै उडान योग्य छन्।

९एन-एकेएक्स कलसाइनको एउटा न्यारोबडी जहाज ४६ दिन यता ग्राउण्डेड रहेको छ। जहाज  मर्मतका लागि इजरायल पठाइएकोमा ‘रिलिज’ हुने टुंगो अझै लागिसकेको छैन।