पृथ्वी यातायात पूर्ण अटोमेसन, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

बिजमाण्डू
२०८० पुष १९ गते १३:०१ | Jan 4, 2024
पृथ्वी यातायात पूर्ण अटोमेसन, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

काठमाडौं। गण्डकी प्रदेश अन्तर्गतको यातायात संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी पूर्ण अटोमेसनमा गएको छ। पछिल्लो समय प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेसनमा गएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

अटोमेसनमा गएसँगै अब पृथ्वी यातायातका सवारीसाधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ। पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, डेटा लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुने कम्पनीले जनाएको छ। कम्पनीले नेपालको एकमात्र टिकेटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेसनमा लगेको हो।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले अबदेखि यात्रुले पृथ्वी यातायातका एसी, डिलक्स, हायसलगायका सबै किसिमका गाडीको टिकट अनलाइनमार्फत काट्न सकिने बताए। यात्रुले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी, पृथ्वी यातायातको मोबाइल एप्लीकेसन तथा बससेवा डटकम, बससेवाको मोबाइल एप्लीकेसनमार्फत सहजै टिकट काट्न सकिने छ।

यस्तै बससेवा डटकमका प्रमुख कार्यकारी पीआर खनालले यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित बनाउँदै यात्रुलाई सुविधा दिनुपर्ने बताए। पृथ्वीसँगको यो सहकार्यले आम यात्रुले थप नयाँ अनुभवका साथ यात्रा गर्न पाउने र सहजता हुने उनको भनाइ छ ।

पृथ्वी यातायातले मुलुकका प्रमुख सहर काठमाडौं, बुटवल, हेटौंडादेखि पूर्वका काकडभिट्टा, सुदूरपश्चिमका धनगढी गरि ३० भन्दा बढी गन्तव्यमा सेवा दिँदै आएको छ। कम्पनीले ४ सय १० वटाभन्दा धेरै रुटबाट करिब १ हजार ३ सय ५० बसमार्फत सेवा दिँदै आएको जनाएको छ। पृृथ्वी यातायातबाट दैनिक ८ हजारभन्दा बढी यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ।