नेपाली ग्राहकको विश्वास जित्दै चिनियाँ ब्राण्ड, ईभीको इकोसिस्टममा एग्रेसिभ लगानी

शुक्र गिरी
२०८० पुष १८ गते ०७:०४ | Jan 3, 2024
नेपाली ग्राहकको विश्वास जित्दै चिनियाँ ब्राण्ड, ईभीको इकोसिस्टममा एग्रेसिभ लगानी

काठमाडौं। विद्युतीय सवारीसाधन (ईभी)को बिक्री बढेपछि आधिकारिक विक्रेताले सर्भिस सेन्टरमा एग्रेसिभ रुपमा लगानी गर्न थालेका छन्। ब्राण्डप्रति उपभोक्ताको विश्‍वास बढाउन विक्रेताले सर्भिस सेन्टरमा एग्रेसिभ रुपमा लगानी बढाएका हुन्।

Tata
GBIME
Nepal Life

यसअघि आएका चिनियाँ ब्रान्डहरु केही युनिट गाडी बिक्री गरेर गायब हुने गरेका थिए। तर पछिल्लो समय नेपाली अटो बजारमा चिनियाँ ब्रान्डहरुको पकड राम्रो हुँदै गएको छ।

यसमा ठूला घरानाको चासो र लगानी बढ्दै गएको छ। जसका कारण नेपाली बजारमा चिनियाँ ब्रान्डका गाडीहरु बिक्री गर्ने सबै गाडी विक्रेताहरुले चार्जिङ स्टेसन, सर्भिस सेन्टर र शोरुमसहितको इको सिस्टम तयार पार्न धेरै खर्च गरिरहेका छन्। त्यही अनुसार ग्राहकहरुले पनि चिनियाँ गाडीलाई विश्‍वास गर्न थालेका छन्।

गाडी आयातको पछिल्लो डेटा हेर्ने हो भने पनि चिनियाँ गाडीहरुको संख्या बढ्दै गइरहेको छ। टाटा पछि अरु चिनियाँ ब्रान्डका गाडीको बहुल्यता बढ्दै गइरहेको हो। जसमा बिवाइडी, ग्रेट वाल मोटर, नेटा भी, एमजी सेरेस जस्ता आधा दर्जन गाडीहरु स्थापित हुँदै गएका छन्। यसमा पनि बिवाइडी र एमजीको हिस्सा धेरै छ।

अहिले ईभी प्यासेन्जर भेहिकलमात्रै १० हजार माथि पुगिसकेको छ। यस्तै नेपालमा चलेका सार्वजनिक ईभी गाडीहरु सबैजसो चिनियाँ ब्रान्डका छन्। जसको संख्या पनि १३०० हाराहारीमा छ। यस्तै दुई पाङ्ग्रे सवारीमा पनि चिनियाँ ब्रान्डको हिस्सा धेरै छ।

विद्युतीय गाडी बिक्री गरिरहेका चिनियाँ ब्रान्ड बीवाइडी र एमजी छुट्टै सर्भिस सेन्टर बनाएर ग्राहक तान्‍ने प्रतिस्पर्धामा छन्। बिक्री पछिको सेवालाई राम्रो बनाउन सकेमा ब्राण्ड भ्यालु पनि बढ्ने र उपभोक्ताको पनि विश्‍वास बढ्ने भएकाले सर्भिस सेन्टरमा केन्द्रित भएको नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्।

‘केही वर्ष अगाडिको कुरा बेग्लै थियो। कुनै पनि गाडी बेच्नु अघि विश्‍वास गर्ने वातावरण पहिला निर्माण गर्नुपर्छ। त्यसका लागि उत्पादन राम्रो गुणस्तर र साथै आवश्यक स्पेयर पार्ट्स र सर्भिस सेन्टरहरु हुनु जरुरी भइसकेको छ,’ उनले बिजमाण्डूसँग भनिन्, ‘त्यसपछि मात्र बजारमा आफ्नो उत्पादन बजारीकरण र बिक्री गर्न सक्ने अवस्था हुन्छ।’

बीवाइडीले इभी डेडिकेटेड सर्भिस सेन्टर निर्माण गरेको छ। सर्भिस सेन्टर धोबीघाटमा छ। यो सर्भिस सेन्टर ६ रोपनी जग्गामा निर्माण गरिएको छ। कम्पनीले स्पार्क कार रेन्टल कम्पनीसँग मिलेर यो सर्भिस सेन्टर सञ्‍चालनमा ल्याएको थियो। तर पछिल्लो समय यो बीवाइडीको एक लौटी सर्भिस सेन्टर बनेको छ।

उपत्यकामा रहेका बीवाइडीका गाडीहरुका लागि एकै स्थानबाट सबै सुविधा दिन यो सर्भिस सेन्टर सञ्‍चालनमा ल्याइएको श्रेष्ठ बताउँछिन्। यो सर्भिस सेन्टरमा साइमेक्स र बीवाइडीले झन्डै साढे ४ करोड लगानी गरेको श्रेष्ठको भनाइ छ।

यो सर्भिस सेन्टरमा २ वटा फास्ट चार्जर पनि राखिएको छ। सर्भिस सेन्टरमा एकै पटकमा ५ देखि ८ युनिटसम्म गाडीले सर्भिसिङ गर्नसक्ने श्रेष्ठ बताउँछिन्।

‘हामीले अहिले बीवाइडीको दैनिक ४ देखि ५ वटा गाडीहरुलाई सर्भिस प्रदान गर्दै आएका छौं,’ उनले भनिन्, ‘हामी दैनिक २० वटासम्म गाडीलाई सर्भिस प्रदान गर्न सक्ने क्षमतामा छौं। यो क्षमता बढाएर हामी सर्भिस नेटवर्क पनि बढाउने योजनामा छौं।’

उनका अनुसार अहिले सर्भिसका लागि ६ महिनामा सर्भिसिङ गर्नुपर्ने गाडी धेरै आउँछन्। यी गाडीहरुको सफ्टवेयर अपडेट र ब्रेक प्याड तथा केही आयलहरु परिवर्तन गर्नुपर्ने हुन्छ।

यसैगरी नयाँ ब्रान्ड सेरेस ईभी नेपाली बजारमा भित्र्याएको एमएडब्लु (मोरङ अटो वर्क्स) पनि आफ्नो सर्भिस र शोरुम विस्तारमा एग्रेसिभ हुँदै गएको छ। कम्पनीले एक महिना अगाडि नाडा अटो शोमा सार्वजनिक गरेको ब्रान्ड सेरेसको लागि उपत्यकामा मात्र २ वटा शोरुम सञ्‍चालनमा ल्याइसकेको छ।

साथै पोखरामा पनि सेरेसको शोरुम सञ्‍चालनमा आइसकको छ। यस्तै अन्य तीन वटा शोरुमहरु अन्डर कन्स्ट्रक्सनमा रहेको एमएडब्लु वृद्धिका बिजनेस हेड प्रसन्‍न पन्तले बताए। उनका अनुसार गाडीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्सको अर्डर भइसकेको छ।

यस्तै, मोरिस ग्यारेज (एमजी) ले पनि शोरुम विस्तारदेखि सर्भिस सेन्टरमा राम्रो खर्च गरेको छ। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि ईभीको लागि भनेर ललितपुरको कुशुन्टीमा २० करोड लगानीमा डेडिकेटेड सर्भिस सेन्टरको निर्माण गरेर सञ्‍चालनमा ल्याएको छ।

६ रोपनी क्षेत्रफलमध्ये सर्भिस सेन्टरको संरचना ३ रोपनीमा निर्माण गरिएको छ। जग्गा खाली पनि राखिएको छ। खाली जग्गालाई पार्किङदेखि सर्भिसका लागि आएका गाडीहरु राख्‍ने ठाउँका रुपमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

साथै, एमजीका गाडीहरुका लागि पारामाउन्टले १० वटा फाष्ट चार्जिङ र ८ वटा एसी फाष्ट चार्जिङ नेटवर्क विस्तार गरेर सञ्‍चालनमा ल्याएको छ। कम्पनीले केही समय अगाडिसम्म सबै ब्रान्डको लागि आफ्नो चार्जिङ स्टेसनहरु खुला गरेको थियो।

यसैगरी, सीजी मोटर्सले बिक्री गर्दै आएको नेटा भी पनि पछिल्लो समय नेपालमा राम्रो मार्केट लिइरहेको प्यासेन्जर ईभी हो। यसको सर्भिस सेन्टर हात्तीवनमा रहेको कम्पनीले जनाएको छ। कम्पनीले अझै अर्को दुई वटा नयाँ इभी ब्रान्ड नेपाली बजारमा भित्र्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ।

सीजी मोटर्सले नेपाली बजारमा निटा ब्रान्ड निटा भी कार, किङलङ र केवाइसीका विद्युतीय भ्यान बिक्री गरिरहेको छ। सीजी मोटर्स चार्जिङ नेटवर्क विस्तारका क्रममा १५ वटा स्थानमा चार्जिङ स्टेसनहरु राखेको छ।

डिलरका लागि यी कुरा अनिवार्य

साइमेक्सले बीवाइडीको डिलरसीप लिनेहरुका लागि स्पेयर पार्ट्स, सर्भिस सेन्टर र चार्जिङ स्टेसन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको यमुना बताउँछिन्।

यसभन्दा अघि डिलरसिप लिनेहरुले पनि ईभी डेडिकेटेड सर्भिस सेन्टर निर्माण गरिसकेका उनले बताइन।

‘हामीले सबै डिलरहरुलाई नेपाली बजार हेरेर सोही बमोजिम सर्भिस सेन्टर र स्पेयर पार्ट्स समेत उपलब्ध गराएका छौं,’ उनले भनिन्, ‘हामीले यसरी भनेको जसरी सबै कुरा व्यवस्था नगर्ने डिलरलाई गाडी डेलिभरी नै गर्दैनौं।’

श्रेष्ठले स्टकमा स्पेयर पार्ट्स राख्नुपर्ने र बिक्री गर्ने स्थानहरुमा चार्जिङ स्टेसन र सर्भिस सेन्टरको व्यवस्था अनिवार्य गरिएको बताइन्। अहिले कम्पनीले नेपालभरी ६ वटा डिलरहरु बाट बीवाइडीको गाडी बिक्री गर्ने र सर्भिस प्रदान गर्ने गरेको उनले बताइन्।

यस्तै, कम्पनीले १४ वटा चार्जिङ स्टेसनहरु नेपालभरी सञ्‍चालनमा ल्याएको छ। जसमा ६ वटा फाष्ट चार्जर छुट्टै रहेका छन्। यसले अझै फाष्ट चार्जरको नेटवर्क बढाइरहेको छ।

कम्पनीको प्राविधिक टोलीबाट ट्रेनिङ प्रदान

सिप्रदीमा आवद्ध रहेका सबै प्राविधिक टोलीलाई नेपाल आएर टाटाका प्राविधिकले तालिम दिएका छन्। सिप्रदीले अहिले आफूले पनि आफ्ना डिलर र इन्जिनियरहरुलाई ईभी सम्बन्धित सबै कुरामा ट्रेनिङ प्रदान गरिरहेको छ।

स्थापति अन्य कम्पनीहरुले जस्तै चिनियाँ नयाँ ब्रान्डका गाडी बिक्रेताहरुले पनि गर्न थालेका छन्। यसका लागि बीवाइडीको इन्जिनियर अर्थात प्राविधिक टिम दुई/दुई महिनाको अवधिका लागि ट्रेनिङ दिन नेपाल आउने गरेका छन्। यसमा उनीहरुले प्राविधिक मात्र नभई अन्य ननटेक्निकलको पनि तालिम दिने गरेका छन्।

हालसम्म बीवाइडीले नेपाली इन्जिनियरहरुलाई दुई महिनाको दुई पटक तालिम प्रदान गरिसकेको श्रेष्ठको भनाइ छ। यसमा २० जना इन्जिनियरहरु विद्युतीय गाडी मर्मत गर्न सक्षम भएका उनले बताइन्।

इभीको छुटै सफ्टवेयर सिस्टममा सञ्‍चालन हुँदा त्यही अनुसारको प्राविधिक रुपमा दक्षता भएको मेकानिक आवश्यक पर्छ। स्थानीय स्तरमा भएका सर्भिस सेन्टरका इच्छुक कर्मचारीलाई पनि बीवाइडीले नि:शुल्क रुपमा ट्रेनिङ दिरहेको छ। बीवाइडी चाइनाले पनि अन्तर्राष्ट्रिय स्तरको सर्भिसहरु प्रदान गर्न नेपाललाई पनि प्राथमिकतामा राखेको छ।

अहिले साइमेक्सले पनि डिलरसिप लिनेहरुका लागि ईभीमा चाहिने सर्भिस सेन्टर, स्पेयर पार्ट्स र चार्जिङ स्टेसन निर्माण नगरेसम्म गाडी नदिने योजनामा काम गरिरहेको छ।

अहिले बीवाइडीको १०० किलोवाट मोटर क्षमताका एटो ३ बजारभरी छरपस्ट देखिन थालेको छ। यसका लागि स्पेयर पार्ट्सहरु प्रशस्त रहेको कम्पनीले जनाएको छ।

यस्तै एमजीको जेड एस युभी पनि बजारमा राम्रै संख्यामा देखिएका छन्।

यस्तै सेरेस कम्पनीले पनि प्राविधिक रुपमा सहयोग गर्न र ट्रेनिङ दिन चीनबाटै प्राविधिक टोली एक महिना अगाडिदेखि नेपाल पठाएको पन्तले बताए।

‘अहिले उनीहरुले हाम्रो अटो इन्जिनियरहरुलाई सेरेसको प्रविधि र कसरी मर्मत गर्ने विषयमा ट्रेनिङ प्रदान गरिरहेका छन्,’ उनले भने, ‘त्यही अनुसार हामी सेरेस गाडी मर्मत गर्न तयारी अवस्थामा छौं। गाडीमा समस्या आउने बित्तिकै त्यसको समाधान गर्न हाम्रो प्राविधिक टोली तयारी अवस्थामा छन्।’