नेपाली सडकका लागि कति उपयुक्त छ चिनियाँ ब्रान्डको सेरेस थ्री? (टेस्ट ड्राइभ)

शुक्र गिरी
२०८० पुष १४ गते १५:०४ | Dec 30, 2023
नेपाली सडकका लागि कति उपयुक्त छ चिनियाँ ब्रान्डको सेरेस थ्री? (टेस्ट ड्राइभ)

काठमाडौं तुँवालोले ढाकिएको छ। त्यसै पनि पुस महिनाको चिसो। यही पृष्ठभूमिमा हामी उत्तरी काठमाडौंको गाउँतिर उकालिँदैछौं। जति गाउँतिर लागिन्छ, त्यति चिसोको अनुभूति हुनु स्वाभाविक हो। बढेको चिसोका लागि गाडीको एयर कन्डिसनमात्र अपुग लाग्छ भने हामीसँग अर्को विकल्प पनि छ।

Tata
GBIME
Nepal Life

स्क्रिनमा हिटिङ सिटको संकेतमा टच गरेसँगै फरक अनुभूति हुन थालिहाल्यो। बढीभन्दा बढी फिचर लोड गर्ने र लोभ्याउने रणनीतिमा गाडी उत्पादकहरुको होडबाजी छ। त्यही होडबाजीमा तीव्र रफ्तारमा उत्पादन र बजार विस्तार गरिरहेको सेरेस थ्रीको टेस्ट ड्राइभमा छौं हामी।

पछिल्लो समय बजारमा उतारिएका विद्युतीय सवारीका समान विशेषता हुन थालेको छ – धेरैभन्दा धेरै फिचर अनि आकर्षक लुक्स। कम्फोर्टमा ‘नो कम्प्रोमाइज’।

नेपालको इभी मार्केटमा भारतीय कम्पनी टाटाको मार्केट सेयर सबैभन्दा धेरै छ। तर जब चीनमा उत्पादन भएका गाडीको संख्या र फिचर उजागर हुन्छ, त्यसले एउटै संकेत गर्छ – बलिया से बलिया कम्पनीको बजार खोसिँदैछ। चीनमा बनेर युरोपेली बजारमा प्रभाव छाडेपछि नेपालमा आइपुगेको सेरेस थ्री त्यही कोटीको इभीमा पर्छ, जसले ‘मार्केट स्पेयर’ बढाएको छ।

नेपाल आउनुअघि नै सेरेसले ७० देशमा प्रभाव छाडिसकेको छ। नेपाली सडकमा यो गाडी कति प्रभावकारी हुन सक्छ त?

आजको टेस्ट ड्राइभमा हामी सेरेस थ्रीको प्रिमियम सेगमेन्टबाट यही प्रश्नको जवाफ खोज्दैछौं। अगाडिका दुवै सिट हिटिङ सिस्टममा आधारित भएकाले यो चिसोमा न्यानोपनसहितको यात्रा सुरु भयो। सहरी उपभोक्ता लक्षित हो सेरिस थ्री।

विकसित मुलुकका सहरको परिभाषाभन्दा फरक छ नेपालका सहरहरु। समथर र उकाली ओराली हाम्रा सहरका विशेषता हुन्। अव्यवस्थित बाटोघाटो तिनलाई स्थापित गर्ने मान्यता। असहज बाटोमा सहज यात्रा कुनै पनि गाडीका लागि आधारविन्दु हुनैपर्छ हाम्रो सन्दर्भमा। त्यसैले समथर भूगोलबाट डाँडातिर तन्किँदै गरेको सहरी बाटो रोजाइमा रह्यो हाम्रो।

थापाथलीबाट महाराजगञ्ज हुँदै हामी बुढानीकण्ठतिर लाग्यौं। त्यहाँबाट पानी मुहानतिरको यात्रा तय भयो। बुढानीलकण्ठ मन्दिरबाट लगातार उकालोमात्र। त्यही उकालोमा हामीले गर्‍यौं पर्फर्मेन्स टेस्ट। उकालोमा यसले लिएको रफ्तारका आधारमा बजारमा चलेका चिनियाँ ब्रान्डहरु एमजी र बीवाईडीसँग प्रतिस्पर्धा गर्ने क्षमता सेरेसले राख्छ भन्ने निचोड हाम्रो रह्यो।

पानी मुहानबाट फेरि तलतिर झरेर केही वर्षअघिमात्र ठूलो गाउँमा बनेको विजय चैत्यतिर फेरि उकालिन थाल्यौं। पानी मुहानको उकालोको तुलनामा यो बाटोमा थप कठिन उकालो र घुम्तीहरु साक्षत्कार भयो। उकालोमा लिने टर्क समथरभन्दा फरक रहेन। विद्युतीय गाडीको एउटा विशेषता नै हो – टर्क क्षमता सबै अवस्थामा समान रहनु।

केहीबेर गुम्बा छेउ अडिएपछि हामी फेरि तलतिर झर्‍यौं। बुढानीलकण्ठ फेदीमा आएपछि फेरि उकालियौं र समात्यो टोखातिरको बाटो। तुँवालोले धुम्मिएको काठमाडौं उपत्यकालाई उकाली र घुम्ती घुम्तीमा छेलिँदै हामी टोखातिर झर्‍यौं। त्यसपछि हामीले झोरतिर गाडीलाई हुइँक्यायौं। गाडीमा अक्सर निदाउने हाम्रा फोटोपत्रकार साथी प्रवीण रानाभाट यसापालाको टेस्ट ड्राइभमा पनि उँग्दै थिए। सेरेसले मोडमा नै ७० किलोमिटर रफ्तार लिँदा उनको निद्रा चैट। उनको असहजतामा रोजन श्रेष्ठ रमाइरहेका थिए।

स्पिडमा टर्न लिँदा पनि ड्राइभ असहज भएन। हामी सूर्यचौर नपुग्दै फर्किनु थियो किनकि पुसको महिना दिन चाँडै अस्ताउँदै थियो। झोरबाट हामी साङ्गला र फुटुङ हुँदै फर्किँयौं।

सेरेस थ्रीका लागि हामीले विस्तारित बुढानीलकण्ठ रोज्नुको कारण त्यहाँ विस्तार भइरहेको बस्ती नै थियो। त्यसै पनि हाइ प्रोफाइलको गुँढ त्यतातिर सरेको छ सहरी कोलाहलबाट। रोचक के भने हामीले रोजेको क्षेत्रमा धेरैवटा इभी आवतजावत भइरहेको देख्यौं। त्यसले नेपालमा इभीप्रतिको मोहलाई झल्क्याउँथ्यो। र, हामी पनि इभीमै थियौं।

हामीले ड्राइभ गरेको इभीको लामो विरासत थिएन। तर, लामो विरासत भएका गाडीहरुलाई अत्याउने खालको पर्फर्मेन्स रह्यो यसको। इन्फोटेन्मेन्ट डिस्प्ले केही सानो महसुस भयो सुरुमै। सेरेसको टेस्ट ड्राइभले चिनियाँ ब्रान्डको नेपालमा सम्भावना कति बलियो छ भन्ने आकलन गर्न हामीलाई सघायो नै। साथै, इभीप्रतिको पोजेटिभ भाइब्स पनि पैदा गर्‍यो।

नेपाली बजारमा मोरङ अटो वर्क्स समूहले भित्र्याएको हो यो एसयूभी। ग्राउन्ड क्लियरेन्सको मामिलामा यसले प्रतिस्पर्धीहरु बीवाइडी एट्टो थ्री र एमजी जेडएसलाई निकै पछाडि छाडेको छ। इभीमा एक सय ९० एमएम ग्राउन्ड क्लियरेन्स आफैँमा नेपाली बाटो सुहाउँदो हो। ‘गो लिमिटलेस इभी एसयुभी’ भनेर त्यसै कम्पनीले दाबी गरेको होइन।

यत्तिको ग्राउन्ड क्लियरेन्स भएका एसयूभीलाई प्रयोगकर्ताले सजिलै मुस्ताङसम्म पुर्‍याउन सक्छन्। त्यसो त केही अघि टेलिभिजनकर्मी विश्वदीप लामिछानेले एमजीको इभी नै मुस्ताङ पुर्‍याइसकेका छन्। ब्याट्री चार्जको सुरक्षित अप्सन र ड्राइभिङ स्किल तथा पर्याप्त तयारीबिना हामी सहरी क्षेत्रका लागि बनेका गाडीलाई यसरी एड्भेन्चरमा नलैजान सुझाउँछौं। किनकि रिस्क लिन हिम्मत पनि दरिलै चाहिन्छ।

पछिल्लो समय गाडी उत्पादनमा बलियो मानिएका मुलुकहरु चिनियाँ उत्पादनका अगाडि कमजोर देखिन थालेका छन्। चिनियाँ उत्पादकले बजार विस्तार गर्न विश्वका विभिन्न मुलुकमा रिसर्च एन्ड डेभलोपमेन्ट (आरएन्डडी)का लागि ठूलै लगानी गरिरहेका छन्। सेरेसको पनि जापान र अमेरिकामा आरएन्डडी युनिट छ, जसले सकेसम्म फ्युचरिस्टिक डिजाइनलाई प्राथमिकतामा राख्दै अनुसन्धान अगाडि बढाइरहेको छ। त्यसैले त यो तीव्र गतिमा बजार विस्तार गर्ने गाडीका रुपमा स्थापित भएको हो।

टेस्ट ड्राइभ र चिनियाँ इभीको बजार प्रभुत्व जसरी बढिरहेको छ त्यसका आधारमा हाम्रो निचोड हो – ‘मेड इन चाइना, आज छ भोलि छैन’ भन्ने उक्ति अब क्रमश: धमिलो हुँदैछ।

यसको फिचरहरु

पावरट्रेन- ब्याट्री ५२.७ किलोवाट आवर, मोटर पावर ९९ किलोवाट, ३०० एनएम टर्क, एक पटकको फुल चार्जमा ४०५ किलोमिटर

डाइमेन्सन- लम्बाई ४३८५ एमएम, उचाई १६५०, ग्राउन्ड क्लियरेन्स १९० एमएम, सिटिङ क्षमता ५, ह्वीलबेस २६५५ एमएम

सेफ्टी- ६ एयरब्याग, क्रुज कन्ट्रोल, ३६० क्यामारा, अटो होल्ड, लेन किपिङ असिस्टेन्ट, फ्रन्ट कोलिजन वार्निङ 

इन्फोटेनमेन्ट- १०.२५ इन्च टच स्क्रिन, ६ वटा स्पिकर, वायरलेस मोबाइल चार्जिङ

अन्य फिचर- प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड स्ट्यान्डर्ड, कम्फर्ट र स्पोर्ट, वान टच विन्डो, अगाडि हिटेड सिट, अफलाइन म्याप नेभिगेसन,

मूल्य : कम्फर्ट भेरियन्टको ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ५२ लाख ९९ हजार रुपैयाँ